Butwal Today

‘सम्माननीयको अशोभनीय शैली !’

३० बैशाख २०८३, बुधबार
अ+
अ-

प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सांसदबाट बाहिरिएको घटनाले सिङ्गो नेपालको शिर निहुरिएको छ । सम्माननीय प्रधानमन्त्रीको यस्तो अमर्यादित कदमको चौतर्फी आलोचना भएको छ ।

आलोचना मात्रै होइन, आजसम्मको नेपालको संसदीय मूल्य र मान्यतामाथि प्रधानमन्त्रीको कदमले आँच पुगेको छ । उक्त घटनाले प्रधानमन्त्री बालेन आलोचित मात्रै भएका छैनन्, उनको क्रियाकलापले संसद्को मर्यादा कुल्चने प्रयास भएको छ ।

प्रधानमन्त्री बालेन आफैले नेतृत्व गरिरहेको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले बाचन गरिरहँदा प्रधानमन्त्री आफै संसद् भवनबाट बाहिरिनु लज्जाको विषय हो । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले गरेको व्यवहार लोकतन्त्रको मर्यादा बाहिरको कुरा हो ।

दुई तिहाइ दम्भको नाममा जे पनि गर्ने छुट प्रधानमन्त्रीलाई छैन । प्रधानमन्त्री बालेनको यो व्यवहार उपर संविधानका संरक्षकको हैसियतले राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ । यो घटनालाई लिएर प्रधानमन्त्रीको राजीनामाको कुरा आएको छ ।

सभामुख समेत यो घटनामा निरिह देखिनु चिन्ताको विषय हो । प्रधानमन्त्री बालेनले आफूलाई यो देश, पार्टी र जनताभन्दा माथि ठानेको कुरा उनको व्यवहारले प्रस्तुत गरिरहेको छ । सिङ्गो नेपाली जनताले सोमबार प्रधानमन्त्रीको कदमप्रति रोष प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले देशका करोडौं नागरिकलाई मूल्य, मान्यता, मर्यादाको नैतिक शिक्षा दिनुपर्नेमा उल्टो उनैलाई सिकाउनु पर्ने अवस्था आएको छ । मुलुकको प्रधानमन्त्रीको रूपमा उनले जुन काम गरे त्यो भत्र्सनायोग्य छ ।

राष्ट्रपति सहभागी भएको कुनैपनि कार्यक्रममा प्रधानमन्त्री एकाएक उठेर बाहिरिन मिल्दैन । संसदमा मात्रै होइन, बाहिरपनि प्रधानमन्त्रीले राष्ट्रतिको उपस्थिति भएको कार्यक्रमको शोभा बढाउनु पर्छ । यो घटना संसदीय मर्यादा र संवैधानिक अभ्यासका दृष्टिले एक अस्वाभाविक र कदम हो । अर्को कुरा संसदीय व्यवस्थामा राष्ट्रपतिले वाचन गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्ले तयार पारेको हुन्छ ।

नीति तथा कार्यक्रममा सरकारको चित्र झल्किन्छ । प्रधानमन्त्रीकै मन्त्रिपरिषदले नीति तथा कार्यक्रम पारित गरेर राष्ट्रपतिलाई पढ्न लगाउने हो । आफ्नै सरकारको मार्गचित्र प्रस्तुत भइरहँदा सरकारको प्रमुख प्रधानमन्त्री बालेन हल छोडेर बाहिरिएको घटनाले संसदीय शिष्टाचार र गरिमामा आँच पु¥याएको छ । यो समाचार सुन्दा र हेर्दा सारा विश्वले औला ठड्याउने काम भएको छ ।

अर्कोतर्फ नेपालको राष्ट्रपति राष्ट्रको सर्वोच्च राष्ट्रिय अभिभावक र राज्यको प्रतीक हो । मर्यादाक्रममा पनि राष्ट्र प्रमुख सरकार प्रमुखभन्दा माथि हुन्छ । तर, राष्ट्रपतिले सम्बोधन गरिरहेको समयमा बालेनले प्रस्तुत गरेको अमर्यादित व्यवहार संवैधानिक संस्थाप्रतिको उपेक्षा हो भन्दा अत्युक्ति हुँदैन ।

नीति तथा कार्यक्रम प्रस्तुत भैरहँदा प्रधानमन्त्रीको अनुपस्थितिले सरकार आफ्नै कार्यक्रमप्रति गंभीर हुन नसकेको यथार्थ हो । प्रधानमन्त्री बालेनको उक्त कदमको कांग्रेस, एमाले लगायतका दलहरूले आलोचना गरेका छन् ।

नेपालको इतिहासमा संसदमा पहिलोपटक देखिएको यस प्रकारको अमर्यादित र अशोभनीय घटनाले सरकार शिष्ट छैन भन्ने स्पष्ट हुन्छ । बालेनको प्रस्तुती र शैलीले सरकारकै सबैभन्दा ठूलो नीतिगत दस्तावेज ‘नीति तथा कार्यक्रम’ कै अपमान भएको छ ।

त्यसो त विगत केही दिनयता बालेन निकै आलोचित बन्दै गएका छन् । सुकुम्वासीको व्यवस्थापन नगरि उनीहरूको बस्तीमा डोजर चलाउँदा जसरी दुईजना नागरिकको ज्यान गएको छ, त्यो घटनाले बालेनलाई मात्रै होइन, रास्वपा पार्टी र उसको सरकारलाई सधैभरी चहराईरहनेछ । सरकार बनाएको दुई महिना नहुँदा सरकारकै कारण दुईजना निर्धा नागरिकको ज्यान गएको छ ।

सरकारलाई बहुमतको नाममा जे पनि छुट छ भन्ने दम्भ पलाएको छ । यो दम्भले कुनै दिन सरकारलाई समस्या पर्न सक्छ । सरकारले हेक्का राखोस् जनताले यसपटक दल होइन मत मात्रै परिवर्तन गरेका हुन् । सरकारको यस्तै रवैया दोहोरियो भने अर्को चुनाव टाढा छैन, जनताले फेरी मत परिवर्तन गर्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?