© 2026
काठमाडौं ।
सांसद सुशीला ढकालले महिलाहरूले घरभित्र गर्ने घरेलु श्रमको मूल्यांकन गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने बताएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले घरेलु श्रममा संलग्न महिलाको योगदानलाई राज्यले औपचारिक रूपमा मान्यता दिनुपर्ने उल्लेख गरिन । “घरेलु श्रममा लागेका महिलाहरूको श्रमको मूल्यांकन गर्न सरकारले विशेष नीति ल्याउनुपर्छ,” उनले भनिन् ।
सांसद ढकालले बाझो जमिन तथा वन क्षेत्रको सदुपयोग गरी देशको आयस्रोत वृद्धि गर्नुपर्नेमा पनि जोड दिइन् । कृषि, उत्पादन र रोजगारीसँग जोडिने कार्यक्रममार्फत आर्थिक गतिविधि विस्तार गर्न सकिने उनको भनाइ थियो ।
उनले नयाँ आयोजना थप्नुभन्दा वर्षौंदेखि अलपत्र र अधुरा रहेका आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्न सरकारलाई सुझाव दिइन् ।
यस्तै, बिर्तामोड–बङ्गलादेश जोड्ने सडक तथा हुलाकी मार्गजस्ता राष्ट्रिय महत्वका पूर्वाधार आयोजनालाई शीघ्र पूर्णता दिनुपर्ने मागसमेत उनले गरिन् ।