Butwal Today

राष्ट्रिय पोषण लेखाजोखा अभियान सफल पारौँ

२४ बैशाख २०८३, बिहीबार
अ+
अ-

“समयमै पहिचान र सही उपचार कुपोषण मुक्त पुस्ताको आधार” भन्ने मूल नाराको साथमा देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन भइरहेको छ । यस अभियानको मुख्य उद्देश्य ६ देखि ५९ महिनाका बालबालिकामा पोषण लेखाजोखामार्फत शीघ्र कुपोषण (-SAM / MAM_) को समयमै पहिचान गरी आवश्यक उपचार सेवा सुनिश्चत गर्नु हो ।

बच्चाको उमेर अनुसारको शारीरिक परिपक्वता, शारीरिक वृद्धि, शारीरिक अङ्गहरू र प्रणालीहरूको परिपक्वता जस्तै: तौल, उचाइ, टाउको, छाती र पाखुरा साथै सम्पूर्ण अङ्गहरूको जाँचगरि गणितीय मानाङ्कको आधारमा रेकर्ड गरिनुलाई पोषण लेखाजोखा एवं वृद्धि अनुगमन भनिन्छ । वृद्धि भन्नाले उमेर अनुसारको शारीरिक परिपक्वता हो ।

जसले शरीरको वृद्धि जस्तै तौल, उचाइ, टाउको, छाती र पाखुरालाई जनाउँदछ । उमेर अनुसार शारीरिक अङ्गहरू र प्रणालीहरूको परिपक्काताका साथै उसमा सामाजिक उत्तरदायित्व वहन गर्न सक्ने क्षमता देखिनु नै विकास भएको मानिन्छ ।

बच्चाको उमेर अनुसारको शारीरिक परिपक्वता शरीरको वृद्धि जस्तै: तौल, उचाइ, टाउको, छाती र पाखुराको जाँच गरी गणितीय मानाङ्कको आधारमा रेकर्ड गरिनुलाई वृद्धि अनुगमन भनिन्छ ।

वृद्धि थाहापाउने सूचकहरू:
१.तौल लिएर, २. उचाइ नापेर, ३. टाउकाको परिधि, ४. छातीको परिधि र ५ मा ःग्ब्ऋ नाप बाट
यसमा बृद्धिका प्रचलित सुचाङ्कहरूमा उमेर अनुसारको तौल र उचाइ अनुसारको तौल तथा उमेर अनुसारको उचाइ तथा छातीको परिधि हुन्छ ।

बच्चा जन्मेदेखि २ बर्षको हुँदासम्म प्रत्येक महिना तौल लिनुपर्दछ । २ बर्षमा २४ पटक तौल लिएको रेकर्ड हुनुपर्दछ । उमेर अनुसार बच्चाको बिकास भए नभएको निम्न कुरा हेरेर थाहा पाउन सकिन्छ । ३ देखि ४ महिनामा बच्चाले आफ्नो टाउको अड्याउन सक्दछ । ६ महिनामा बच्चा कसैको सहायताले बस्न सक्दछ । ६ देखि ८ हप्तामा बच्चा मुस्कुराउँदछ । ९ महिनामा बच्चा कसैको सहायता बिना बस्न सक्दछ । १२ महिनामा बच्चा आफै उभिन सक्छ । १५ महिनामा बच्चा हिड्न सक्दछ ।

पोषण लेखाजोखाको आवश्यकता र महत्वः
१. बच्चाको पोषण स्थिति थाहा पाउन ।
२. बच्चाको उमेर अनुसारको तौल र उचाइ बढेको छ छैन भनेर थाहा पाउन ।
३. बच्चालाई कुनै रोग लागेको छ कि भनेर समयमै थाहा पाउन ।
४. रोग लागेको भए समयमै उपचार गर्न ।
बालबालिकाको वृद्धि र बिकासमा प्रभाव पार्ने तत्वहरूः
१. पोषण
२. भौतिक वातावरण जस्तै: घाम पानी हावा
३. सामाजिक वातावरण
४. बंशाणुगत तत्व
५. परिवारको संख्या
६. अन्तश्राबिग्रन्थी
७. आमाको प्रसवको अबस्था
८. जन्मजात बिकृति आदी

MUAC Tape ले ६ महिनादेखि माथी र ५ बर्ष (५९ महिना) मुनिका बच्चाहरूको पोषण स्थिति बारे बताउँछ । जस्तै १. हरियो .राम्रो । २. पहेंलोः पोषण स्थिति राम्रो छैन । ३. रातोः राम्रो छैन, उपचार गर्नुपर्दछ भन्ने जनाउँदछ ।

पाखुराको नाप १३.५ से.मी.भन्दा माथि भएमा पोषण राम्रो छ भन्ने बुझिन्छ । १२.५ देखि १३.५ से.मी.सम्म भएमा त्यति राम्रो छैन, बच्चालाई अझै थप स्याहार आवश्यक छ भन्ने बुझिन्छ । तर १२.५ से.मी.भन्दा कमी भएमा खतरा नराम्रो छ भन्ने बुझिन्छ । बच्चा जन्मँदा तौल २.५ के.जी. भन्दा माथि हुनुपर्दछ । जन्मँदाको उचाइ ४२ देखि ५७ से.मी. हुनुपर्दछ । जन्मँदा टाउकाको परिधि ३५ से.मी. र छातीको परिधि ३२ से.मी. हुनु स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिन्छ ।

बच्चाको वृद्धि अनुगमन गर्ने स्थान: 
हरेक महिना स्वास्थ्य संस्थामा वा स्वास्थ्य संस्था अन्तर्गत चल्ने हरेक गाउँघर क्लिनिकमा अनिवार्य रूपमा स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूद्वारा बालबालिकाको तौल लिने गरिन्छ भने २०८३ वैशाख १५ देखि ३० सम्म देशै भरी ७५३ वटै स्थानीय तहहरूमा अभियानको रूपमा गर्न लागिएको छ ।

पोषण लेखाजोखा गर्ने स्थानहरूमा स्वास्थ्य संस्था र खोप केन्द्रहरू सामुदायिक क्लिनिक वडा कार्यालय र सामुदायिक भवनहरू प्रारम्भिक बालबिकास केन्द्रहरू र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूका बैठक स्थलहरूमा तय गरिएको छ भने निरन्तर रूपमा बच्चाको पोषण स्थिति थाहा पाउन हरेक महिना बच्चालाई तौलेर वृद्धि अनुगमन कार्ड भर्नुपर्दछ ।

यो कार्यमा आ– आफ्नो नजिक रहेका हरेक स्वास्थ्य संस्थाबाट हरेक महिना नियमित रूपमा स्वास्थ्यकर्मीहरूले आफ्ना स्वास्थ्य संस्था अन्र्तगत परीचालित रहेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आ– आफ्नो सेवा क्षेत्रभित्रमा सूचना प्रवाह गर्न लगाई सेवा क्षेत्रमा रहेका २४ महिनासम्मका बालबालिकालाई सम्बन्धित स्थानमा जम्मा गराई बालबालिकाको तौल लिई उनीहरूको तौलको अवस्था र स्वास्थ्यको अवस्थाको बारेमा जानकारी लिने र अभिभावकलाई परामर्श गर्ने गर्दछन् ।

त्यसैले हरेक आमाबुबाले आफ्नो बच्चालाई आ– आफ्नो नजिकको स्वास्थ्य संस्था वा गाउँघर क्लिनिकमा लगि स्वास्थ्यकर्मीलाई भेटी बच्चा २४ महिनाको हुँदासम्म २४ पटक बच्चाको तौल लिई बच्चालाई लाग्न सक्ने बिभिन्न सामान्य तथा घातक रोगको बारेमा जानकारी पाउनुको साथै रोग लाग्नबाट बचाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?