© 2026
यही वैशाख १४ गते मोफसलको प्रतिष्ठित सञ्चार गृह बुटवल पब्लिकेशन प्रा.लि बाट प्रकाशित बुटवल टुडे आयोजक र सह–आयोजक बुटवल उपमहानगरपालिकाले आयोजना गरेको “समृद्ध बुटवलको आधार गुणस्तरीय शिक्षा” सम्बन्धी बहस कार्यक्रम निकै अर्थपूर्ण, उपलब्धिमूलक तथा रुचिपूर्ण तरिकाबाट सञ्चालन भएको अनुभव गर्न पाइयो ।
बुटवल नगरीमा रहेर यहाँका विभिन्न लब्ध प्रतिष्ठित शिक्षण संस्थाका प्राचार्य, शिक्षक, शिक्षिका, विद्यालय संचालक समितिका पदाधिकारी, सामाजिक जीवनका विभिन्न पक्षहरूका अगुवाहरूको जमघट र उनीहरूले दिएको मन्तव्य निकै सारगर्भित र व्यवहारिक र उपयोगी रह्यो ।
बुटवल ९, मिलनचोकस्थित सिद्धार्थ कटेजमा राखिएको सो कार्यक्रममा आयोजक पक्षले समाजका सबै प्रबुद्ध पक्षलाई एकै ठाउँ जम्मा गरेर शिक्षण सिकाई क्रियाकलाप र यससित सम्बद्ध अन्य विभिन्न पक्षहरूमाथि चलाएको बहस तथा गहन छलफलले वर्तमान नयाँ सरकारको शिक्षा नीति के हुने हो ? यसले कस्तो रूप लिने हो ?
अनि शिक्षा क्षेत्रका ज्वलन्त समस्याहरूलाई समाधानको रूप दिन अब के कस्ता पाइला चालिने हुन भन्ने सवालमा सरोकारवालाहरूको आन्दोलित मनलाई र भावनाहरूलाई प्रतिध्वनित गराएको अनुभूति भयो । यसअघिको सरकारहरूले जस्तै वर्तमान सरकारले पनि निजी विद्यालयप्रति देखाएको व्यवहार अहिलेसम्म त्यति राम्रो र सकारात्मक देखिएको छैन ।
नेपालको शैक्षिक अभियान र विकासमा निजी विद्यालयहरूले जो अहम् भूमिका खेलेका छन्, त्यो वास्तविकताप्रति सरकारले उपेक्षा भाव देखाएको महसुस हुन्छ । शिक्षा क्षेत्रबाट निजी शैक्षिक संस्थाहरू अलग हुने हो भने नेपालको शैक्षिक समस्याको समाधान गर्न सकिन्न भन्ने अभिव्यक्तिहरू पनि आए । शिक्षाको विकास मात्र होइन गुणस्तरीय शिक्षा प्रवर्द्धनमा पनि कतिपय निजी विद्यालयहरूको अहम् भूमिका छ ।
यसलाई सरकारले नगण्य भूमिका मानेर यसप्रति उदासीनता र हेयको भाव अन्त्य हुनुपर्छ भन्ने निजी विद्यालयका प्राचार्यहरूको तर्क थियो । अन्तरक्रियात्मक कार्यक्रममा प्रश्नकर्ताले निजी विद्यालयको महँगो शुल्क, पुस्तक पुस्तिकाको चर्को मूल्य, पठनपाठनको असमानताको कुरा उठाएका थिए तर त्यसको जवाफ निजी विद्यालयका प्राचार्यहरूले शालीनतापूर्वक दिएका थिए ।
सरकारले निजी विद्यालयहरूलाई अपहेलना गर्ने, छाड्दै नछोड्ने गरी कर थोपरेर तथा निजी विद्यालयलाई दुःख दिने गरेको भन्दै गर्दा सरकारका गलत नीतिबाट अन्य क्षेत्र पनि उस्तै प्रताडित छ भनेर इतर पक्षका समस्याहरू पनि उजागर गरिदिएको भए सुनमा सुगन्ध हुन्थ्यो ।
वास्तवमा भन्ने हो भने आज किसानहरू उत्पादनमा जोडिए पनि सरकारलाई विभिन्न प्रकारका करहरू तिर्न बाध्य छन् । व्यापारीलाई नानाथरिको भन्सार, अन्तः शुल्क, बिक्री कर, आय कर आदिबाट निरुत्साहित पारिएको छ । उद्योगीमाथि त्यस्तै व्यवहार छ ।
कर्मचारीहरू पनि बोझिलो कर नीतिबाट च्यापिएका छन् । ठुला ठुला तस्करहरू जसरी पनि जोगिन्छन्, सर्वसाधारणलाई भने सीमापारिबाट एक सयभन्दा बढीको सामान घरायसी प्रयोजनको निम्ति ल्याउनेहरू पनि भन्सार कर तिर्न बाध्य छन् ।
त्यति ठुला छलफलमा यस्ता समस्याहरू प्रति कसैको टिप्पणी सुन्न नपाउँदा एक नेपालीले अर्को नेपालीको भावनालाई बुझ्न नसकेको स्पष्ट हुन्थ्यो, जुन राष्ट्रिय ऐक्यबद्धताको दृष्टिले सकारात्मक पक्ष होइन । देशका विद्यमान समस्याहरूमाथि सबै पक्षका बिच अन्तर्क्रिया हुनुपर्दछ ।
एउटा पक्षको समस्यासित अर्को पक्ष पनि अवगत हुनुपर्दछ र त्यसको समाधानका उपायहरू पनि सामूहिक रूपमा खोजिनुपर्दछ र मिलेर समाधान गर्नपर्दछ । देश र समाजका सामु खडा भएका जटिलतम समस्याहरूलाई समाधानतिर मिलेर प्रभावशाली पाइला चालिएन भने अवरोधहरू ज्युँ का त्युँ रहन्छन् ।
त्यसैले आज कुनै एक पक्षको मात्र होइन सम्पूर्ण नेपाली समाजले भोगिरहेको कठिनाइलाई आफ्नै कठिनाइ मानेर त्यसको निदानका लागि एक मनोभावले लागेमा नैतिक पूर्ण समाधान निस्कन्छ । नेपाली जनतालाई धेरै दुःख छ ।
अत्यन्तै उकुसमुकुस, अत्यन्तै नैराश्य र अत्यन्तै पीडामा छटपटाइरहेका जनतालाई आजसम्म आफ्नो पीडा मुटु भित्रै दबाइराखेकोमा अहिले आएर त्यसको विस्फोटनको प्रतिध्वनि यो नयाँ सरकारका रूपमा देख्न पाइएको छ । यसमा पनि उस्तै गडबडी, उस्तै बेइमानी, उस्तै धोखाधडीको रूप देख्नु पर्यो भने त्यस बेला जनताको आक्रोशलाई सजिलैसँग उपयोग गरेर वैदेशिक शक्ति केन्द्रहरूले जे पनि गर्न सक्छन् ।
त्यसबाट जोगिनु भनेको जनतामा व्यापक चेतनाको विस्तार गर्नु हो । आम जनताले कुनै डर–त्रास नमानी निर्धक्क भावले आ–आफ्ना समस्या सरकार समक्ष राख्न र सरकारबाट कुनै छलछाम बिना निष्कपट भावनाले जनसरोकारका विषयमा समाधानका पाइला चाल्ने हो । यसो भयो भने जनता र सरकारका बिचमा पारस्परिक विश्वास पैदा हुन्छ । आपसी विश्वासले समझदारी जन्माउँछ ।
सरकारले जनतालाई माया गर्ने र जनताले सरकारप्रति भरोसा गर्ने अवस्था आउँदछ । यस्तो अवस्थामा बाहिरी शक्तिले हात हाल्ने, खेल्ने र उचाल्ने, पछार्ने सम्भावना रहँदैन । यो नै राष्ट्र निर्माणको मूल आधार हो । हाम्रै नेपाली समाजको सन्तोष–असन्तोष, नेपाली जनताको सन्तुष्टि –असन्तुष्टि, हाम्रा दुःख –दर्द, पीडा, वेदनाहरू ती सबै हामी आफैँले बुझ्नुपर्दछ र तिनको समाधानको खोजी देशभित्रबाट हुनुपर्दछ ।
अमेरिकी राष्ट्रपति ट्रम्प वा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा यो भएन, त्यो भएन, यसो हुनुपर्छ, त्यसो हुनुपर्छ भन्ने होइन । नेपालको बारेमा चीन बोल्दैन, उसले अरू देशको सवालमा चासो लिँदैन ।
हामी माथि ‘हेड सर’ बन्न खोज्ने र डन्डा चलाउने प्रवृत्ति राख्ने भारत र अमेरिकाबाट हामीले आफ्नो शासन व्यवस्थामा सुधार गरी जनतालाई सुख दिन सक्यौँ भने भ्रष्टाचार र दण्डहीनता उन्मूलन गरी कानुनी राज्यको उदाहरण प्रस्तुत गर्न सक्यौँ भने जनतामा सुख –शान्ति, अमन–चयन र विकास तथा आशाका पाटाहरू नफक्रने कुरा आउँदैन ।
आजसम्म विश्वका सबै देशले विकास गर्ने हामी भने सधैँभरि पछाडिको पछाडि किन भयौँ ? अरू देशका जनतामा लगनशीलता एवं उत्साह पैदा भएर काममा लाग्ने हाम्रो देशका युवायुवती कोही नेताको झोले भएर जिन्दगी बिताउने, कोही ‘नेपालमा गरेर केही हुदैन विदेशै जानुपर्छ’ भनेर अर्काको मुलुकमा पसिना बगाउन जाने तर देशको बर्बादीप्रति ध्यानै नदिने यो अन्धकारलाई अब चिर्नुपर्छ ।
सबै पक्षले आ–आफ्नो क्षेत्रका समस्याहरू बुझौ र बुझाऔँ र मिलेर समाधानका उपाय खोजौँ । बुटवल टुडेले राखेको अन्तर्क्रिया कार्यक्रमले सबैका बिचमा नयाँ आशा र उत्साह जगाएको छ । १४ वर्षमा टेकेको “बुटवल टुडेलाई” बधाई तथा शुभकामना ।