© 2026
दोहा (कतार) । कतारमा “बृहत् रक्तदान” कार्यक्रम हुने भएको छ। रोयल नेपाल युथ एसोसिएसन (ठकुरी ग्रुप) कतारले “१३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
रोयल नेपाल युथका अध्यक्ष केशु मल्ल ठकुरीले “सामूहिक रूपमा”आयोजना गरिने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए । उनले एउटै संस्थाको सट्टा विभिन्न संस्थाहरूको संयुक्त सहकार्यमा कार्यक्रम गर्दा प्रभावकारिता बढ्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूमा सहकार्यका साथ जुट्न सबैलाई आग्रह समेत गरेका छन् ।
“रक्तदान जीवनदान–जीवनदान महादान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त रक्तदान कार्यक्रममा सहयोगी संस्थाको रूपमा ठकुरी सहयोग सञ्जाल कतार, पर्वत जलजला समाज कतार, आर्थर डाडाखर्क समाज कतार तथा तनहुँ सेवा समाज कतार रहेका छन् ।
“मानवीय तथा परोपकारी” उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा कतारमा क्रियाशील विभिन्न सामाजिक संघ,संस्था तथा सम्पूर्ण नेपाली समुदायलाई सहभागी भई रक्तदान गरिदिन आयोजक तथा सहयोगी संस्थाहरूले समेत आग्रह गरेका छन् ।
शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म हमद अस्पतालको ब्लड डोनेसन सेन्टरमा कार्यक्रम सञ्चालन हुने कार्य तालिका रहेको छ ।