© 2026
नवलपरासी ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केशव सुर्यबंशीले संविधान संशोधनमा सबैको अधिकार समेटिनु पर्ने बताएका छन् ।
सुर्यबंशीले पार्टीले विगतदेखि नै वैकल्पिक राजनीतिक धारलाई अघि बढाउँदै सङ्घीयता, समानुपातिक प्रतिनिधित्व, समावेशिता र पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न निरन्तर भूमिका खेलेको बताउँदै सबै वर्ग र समुदायका हक र अधिकार सुनिश्चित गर्नु पर्ने धारणा व्यक्त गरे । पार्टीको ३६ औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश कार्यसमितिद्वारा बर्दघाटमा आयोजित कार्यक्रममा बोल्दै सुर्यबंशीले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र सामाजिक न्याय स्थापना गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे ।
पार्टीले आफ्नो राजनीतिक यात्रामा विभिन्न निर्वाचनमा सहभागी हुँदै आएको र अपेक्षित परिणाम नआए पनि आफ्नो नीति, विचार र कार्यक्रमप्रति अडिग रहेको स्पष्ट पारेको छ ।
राष्ट्रिय एकता, दिगो शान्ति र समावेशी लोकतान्त्रिक समाजवाद स्थापनाको लक्ष्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समय सरकारको काम कारबाहीलाई मूल्याङ्कन गर्दा हतारिएर निर्णय गर्ने नहुने सुर्यबंशीको जोड रहेको थियो । पार्टीले २०८३ लाई बहु आयामिक वर्षको रूपमा लिएर जनसम्बध बिस्तारमा अघि बढ्ने उनले जानकारी दिए । सरकार प्रतिको १ सय दिनको कार्यसम्पादन हेरेर मात्रै पार्टीले धारणा सार्वजनिक गर्ने बताए ।
३६ वर्षे राजनीतिक यात्राले पार्टीलाई अनुभवी र जिम्मेवार शक्तिको रूपमा स्थापित गरेको दाबी गर्दै आगामी दिनमा अझ सशक्त ढङ्गले पार्टीलाई अघि बढाउने सुर्यबंशीले बताए । स्थापना दिवसमा पार्टीका विभिन्न तहका नेतृत्व तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।