Butwal Today

अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ जना सदस्य इरानलाई हस्तान्तरण:  अधिकारी

२२ बैशाख २०८३, मंगलवार
अ+
अ-

इस्लामावाद ।  संयुक्त राज्य अमेरिकाले कब्जा गरेको इरानी जहाज तौस्काका १५ जना चालक दलका सदस्यलाई पाकिस्तानले  इरानी अधिकारीहरूलाई हस्तान्तरण गरेको अधिकारीहरूलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त स्थित इरानको सिमानामा रहेको तटीय जिल्ला ग्वादरको गब्द–रिमदान सीमा नाकाबाट उनीहरूलाई हस्तान्तरण गरिएको ग्वादरका उपयुक्त नकीबुल्लाह काकरले पुष्टि गरेका हुन ।

पाकिस्तानको मध्यस्थतामा दुई पक्ष बिच आवश्यक समन्वय र छलफल पछि चालक दलका सदस्यहरूलाई औपचारिक रूपमा इरानी अधिकारीहरूलाई हस्तान्तरण गरिएको काकरलाई उद्धृत गर्दै सिन्हुवाले बताएको छ ।

हस्तान्तरण गरिएका १५ जना चालक दलका सदस्यहरू संयुक्त राज्य अमेरिकाले कब्जा गरेको कन्टेनर जहाजमा रहेका २२ जना इरानी नागरिकहरू मध्यका व्यक्तिहरू भएको जनाइएको छ । जसलाई गत महिना अमेरिकाले कब्जामा लिएर पछि पाकिस्तान लगिएको थियो ।

बाँकी चालक दलका सदस्यहरूलाई अर्को चरणमा फिर्ता गर्ने अपेक्षा गरिएको सुरक्षा स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ ।

यस अघि पाकिस्तानको विदेश मन्त्रालयले अमेरिकाको विश्वास निर्माण गर्ने उपायको रूपमा चालक दलका सदस्यहरूको स्थानान्तरणलाई सहज बनाएको जनाएको थियो । जस अनुरूप उनीहरूलाई इरानमा फिर्ता गर्नका लागि रातारात पाकिस्तान लगिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?