Butwal Today

प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन

२१ बैशाख २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।

गृहसचिव राजकुमार श्रेष्ठले सङ्गठनभित्र पेसागत दक्षता, क्षमतालाई अभिवृद्धि गर्दै सरुवा, बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउनका लागि अग्रसर रहन निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को यही वैशाख १४ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका नारायणदत्त पौडेललाई आज मन्त्रालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्नबाट सु–शोभित गर्दै उनले सो कुरा बताएका हुन् ।

गृहसचिव श्रेष्ठले सङ्गठन सरुवा प्रणाली र वृत्तिविकास दुवैलाई प्रभावकारी रुपमा व्यवस्थित गरिएमा असन्तुष्टि र गुनासो कम हुने विश्वास व्यक्त गरे । साथै उनले सशस्त्र प्रहरी बल नेपालले कार्यक्षेत्रमा सीमित स्रोतसाधनको बाबजुद उत्कृष्ट नतिजा आउने गरी कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गरे । गृहसचिव श्रेष्ठले आगामी मनसुनजन्य विपद्मा समेत सशस्त्र प्रहरी बल नेपाल पूर्वतयारीका साथ उद्धार, व्यवस्थापन तथा राहत कार्यमा जुट्न निर्देशन दिए ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संविधान, कानुन, राष्ट्रिय हित, सङ्गठनको मर्यादा र जनअपेक्षालाई केन्द्रमा राख्दै इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ सङ्कल्पका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सबलीकरण गर्दै सङ्गठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार गरेको उल्लेख गरे । उनले सो कार्यान्वयनका लागि नेपाल सरकार तथा गृहमन्त्रालयबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले नेपाल सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार योजना अनुसारको कार्यहरुको योजना तयार गरी सङ्गठनले प्रदान गर्ने सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने बताए ।

समारोहमा प्रहरी महानिरीक्षक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका सहसचिवलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति थियो ।

नवनियुक्त महानिरीक्षक पौडेलको परिचय

सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक पौडेलले २०५४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । उनी सशस्त्र प्रहरी बलमा २०५८ सालमा स्थान्तरण भएका थिए ।

सुर्खेतको साबिक जर्बुटा गाविस वडा नं ५ निवासी पौडेलले स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । उनले नेपाल प्रहरीबाट करियर प्रारम्भ गरी सशस्त्र प्रहरी बल नेपालमा स्थान्तरणपश्चात् विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हाल्दै उत्कृष्ट नेतृत्व प्रदर्शन गरेका छन् ।

नेपाल प्रहरीमा रहँदा उनले रोल्पा ‘स्ट्राइकिङ’ टोली कमान्डरका रुपमा तत्कालीन संवेदनशील सुरक्षा अवस्थामा प्रभावकारी सुरक्षा व्यवस्था कायम गरेका थिए । साथै उनले इलाका प्रहरी कार्यालय बिर्तामोड, झापाको प्रमुख भई शान्ति सुव्यवस्थालगायत सेवा प्रवाहमा प्रभावकारी कार्यसम्पादन गरेका थिए ।

त्यस्तै, सशस्त्र प्रहरी बलमा स्थानान्तरणपछि महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी नायब उपरीक्षक रहँदा सुरक्षा बेस तुल्सीपुर दाङमा प्रमुख रही शान्ति सुव्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले सशस्त्र प्रहरी उपरीक्षक दर्जामा सीमा सुरक्षा कार्यालय बर्दिया, नीलबाराही गण र बङ्गलामुखी विशेष कार्यदल गणको गणपति भई नेतृत्व प्रदान गरेका थिए ।

पौडेलले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह वाहिनी पकली र सुदूरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथ वाहिनीमा सहायक वाहिनीपतिका रुपमा उत्कृष्ट समन्वय र सहकार्य गरी उच्च व्यावसायिकता प्रदर्शन गरेका थिए ।

सशस्त्र प्रहरी नायब निरीक्षक रहँदा वाहिनीपतिका रुपमा लुम्बिनी तथा गण्डकी प्रदेशस्थित वाहिनी मुख्यालयहरूमा नेतृत्व प्रदान गरेका उनले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक हुँदा मानवस्रोत, सीमा तथा कार्य विभागका विभागीय प्रमुखका रूपमा रणनीतिक तथा नीतिगत निर्माण र कार्यान्वयनमा अहम् भूमिका निर्वाह गरेका थिए । उनले अन्तरराष्ट्रियस्तरमा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनअन्तर्गत लाइबेरिया र कोसोभोमा करिब २५ महिना सफलतापूर्वक सेवा प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?