Butwal Today

मिडियाले बोक्दै लुम्बिनीको पहिचान

१८ बैशाख २०८३, शुक्रबार
अ+
अ-

बुटवल  । बुद्ध र लुम्बिनी बौद्ध धर्मग्रन्थहरू, विशेष गरी ‘बुद्ध वंश’ र अन्य त्रिपिटकका सामग्रीहरूका अनुसार, शाक्यमुनि गौतम बुद्धभन्दा अघि पनि धेरै बुद्धहरूको आगमन भएको मानिन्छ ।

परम्परागत मान्यता अनुसार ‘सप्त तथागत’ (सात बुद्धहरू) लाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ, जसमा गौतम बुद्ध सातौँ नम्बरमा पर्दछन् । इ.पू. ६२३ मा कपिलवस्तुका राजा शुद्धोदनकी रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा लुम्बिनीमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो ।

आफू ज्ञानको खोजीमा हिँड्दै आजीवन मानव जातिलाई अहिंसा, शान्ति र करुणाको बाटोमा हिँड्न प्रेरित गरेका राजकुमार सिद्धार्थ नै गौतम बुद्धका रूपमा प्रसिद्ध भएका छन् ।

कोलिय र कपिल राज्यको बिचमा रहेको उपवनलाई वैवाहिक सम्बन्धमा बाँधिएका दुवै राज्यका शासक एवं तिनका परिवारले उपवनका रूपमा विकसित गरी संरक्षित गरेर राखेका थिए ।

महापरिनिर्वाण सुत्तका अनुसार महापरिनिर्वाणअघि बुद्धले भिक्षु आनन्दलाई हरेक बौद्ध मार्गीले आफ्नो जीवनकालमा पुग्नुपर्ने चार स्थानहरूमा लुम्बिनी महत्त्वपूर्ण स्थान भएको बताएका थिए ।

बुद्धको महापरिनिर्वाणपछि लुम्बिनीमा बुद्धका अनुयायीहरू आउन सुरु गरेका थिए । सम्राट् अशोक इ.पू. २४९ मा लुम्बिनीको भ्रमणमा आएका थिए । बुद्ध दर्शनबाट प्रभावित भएका सम्राट् अशोकले लुम्बिनी भ्रमण गरेर बुद्धको जन्मस्थल चिनाउने स्तम्भ खडा गरेका थिए ।

सम्राट् अशोकको भ्रमणले लुम्बिनीलाई चिनाउन मद्दत गरेको भए पनि विभिन्न घटनाक्रमले गर्दा पाँचौँ शताब्दीसम्म आइपुग्दा लुम्बिनीको वैभवता गुमिसकेको कुरा पाँचौँ शताब्दीमा लुम्बिनी भ्रमणमा आएका चिनियाँ यात्री फाहियान र सातौँ शताब्दीमा आएका चिनियाँ यात्री हुयान्साङका यात्रा वृत्तान्तमा भेटिन्छ ।

उत्तरी भारतमा बौद्ध मार्गीहरू कमजोर हुँदै जाँदा लुम्बिनी लगायत अन्य बौद्धस्थलहरू भग्नावशेषमा परिणत भए र मानिसको स्मृतिबाट समेत हराउँदै गए ।

पहिचान पाउने सकस
विश्वमा बौद्ध धर्मको विस्तार भएको अवस्थामा उन्नाइसौँ शताब्दीमा भारतमा बौद्ध स्थलहरूको खोजी तीव्र भएको थियो । यसै क्रममा पाल्पाका तत्कालीन जनरल खड्ग समशेरले लुम्बिनीको खोजी गरी अशोक स्तम्भ उत्खनन गराएका थिए ।

त्यही स्तम्भमा सम्राट् अशोकले लेखाएका कुराहरूको आधारमा फुहररले सन् १८९६ डिसेम्बर १ मा गौतम बुद्धको जन्मस्थल लुम्बिनी त्यही स्थानमा भएको थियो भन्ने पहिचान गरेका थिए ।

लुम्बिनीको पहिचान भएको ६५ वर्षसम्म लुम्बिनीको विकासमा राज्यस्तरबाट खासै काम नभए पनि सन् १९६० पछि राज्य र अन्तर्राष्ट्रिय जगतबाट लुम्बिनीको उत्खनन, संरक्षण, विकास र प्रवद्र्धनका कामहरू भइरहेका छन् ।

सन् १९९७ मा लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ । कछुवागतिमै भए पनि प्रो. केन्जो टाँगेले तयार गरेको गुरुयोजना अनुसार लुम्बिनीको विकासका कामहरू भइरहेका छन् ।

१० वर्षमा लुम्बिनी गुरुयोजना सम्पन्न गर्ने लक्ष्य रहे पनि गुरुयोजना सुरु भएको ४८ वर्षमा पनि यो लक्ष्य पूरा हुन सकेको छैन । लुम्बिनी क्षेत्रले थोरै भए पनि विकसित हुने अवसर पाएको छ ।

क्रकुच्छन्द बुद्धको जन्मस्थान गोटिहवा, कनकमुनी बुद्धको जन्मस्थान निग्लिहवा लगायतका १३० वटा पुरातात्त्विक क्षेत्रहरू रहेको कपिलवस्तुको तिलौराकोट र कुदानले विस्तारै पहिचान बनाउँदैछन् ।

रामग्राम र देवदहमा लुम्बिनी विकास कोषले भर्खरै चासो देखाउँदैछ । पण्डितपुरको उत्खनन र वास्तविकता सार्वजनिक भएको छैन । लुम्बिनी क्षेत्रले सबैको साथ र सहयोग प्राप्त गरे पनि अन्य बौद्ध स्थलहरू लुम्बिनीको छायाँमा परेका छन् । तिलौराकोट र लुम्बिनी बाहेक अन्यत्रको विकास र संरक्षणको ठोस योजना नहुँदा बौद्ध स्थलहरू मासिने सम्भावना बढेका छन् ।

बौद्ध सम्पदाबाट लाभ: बिरबलको खिचडी
विश्वभरिका बौद्धमार्गी र शान्तिप्रेमीहरूको आस्थाको केन्द्र तथा पुरातात्त्विक अध्ययनका लागि खुला सङ्ग्रहालय रहेको लुम्बिनी र वरपरको क्षेत्रबाट पर्यटकीय र धार्मिक लाभ लिन सकिएको छैन ।

विकासका नाममा बनाइएका कङ्क्रिटका संरचनाले बौद्ध मार्गीहरूलाई आकर्षित गर्न सकेका छैनन् । प्राकृतिक बौद्ध वातावरण बृहत्तर लुम्बिनी क्षेत्रमा नहुँदा पर्यटकहरूले बौद्ध स्थलको वास्तविक स्वाद लिन सकिरहेका छैनन् ।

सबै बौद्ध स्थलमा बौद्ध जनसङ्ख्या अत्यन्त न्यून छ, जसका कारण बृहत्तर लुम्बिनी क्षेत्रले स्थानीयको अपनत्व प्राप्त गर्न सकिरहेको छैन । यो क्षेत्रको विकासको कुरा उठ्दा स्थानीयको जग्गा अधिग्रहण होला भन्ने डरले स्थानीय बासिन्दाहरू त्रसित भएकाले विस्तार र उत्खननमा कठिनाइ भएको छ ।

बुद्ध र बृहत्तर लुम्बिनीको महत्त्व बुझाउन नसक्दा स्थानीय बासिन्दाहरू पर्यटन व्यवसायमा संलग्न हुन सकेका छैनन् । भारत हुँदै विदेशी पर्यटकहरू यस क्षेत्रमा आउने र उतैबाट टुर अपरेटरले व्यवस्था मिलाउने भएकाले पर्यटकलाई घुमाएर लाभ लिने अवसर यहाँका स्थानीय बासिन्दाले नगन्य मात्रामा पाएका छन् ।

तिलौराकोटदेखि रामग्राम अनि स्वर्गद्वारीदेखि रेसुंगा हुँदै राम्दीसम्मका क्षेत्रहरू जोडेर पर्यटन प्याकेज ल्याउन नसक्दा पर्यटकहरू लुम्बिनीमा मात्र खुम्चिएका छन् । पर्यटकलाई स्थानीय मौलिकता बेच्न सकिरहेका छैनौँ ।

पर्यटन क्षेत्रले खपत गरेका सामग्रीहरू विदेशबाट मगाइने भएकाले पर्यटन क्षेत्रले कमाएको आम्दानी पनि विदेशतिरै फर्केको छ । हामीसँग सम्पदा भए पनि सम्पदा बुझाउन सक्ने जनशक्ति छैन । पर्यटकलाई कुनै पनि ठाउँमा बाँध्न सक्ने कथा चाहिन्छ, तर हामीसँग कथा र कथा भन्न सक्ने दुवै उपलब्ध छैनन् ।

भारत हुँदै लुम्बिनी र अन्य ठाउँमा आउने पर्यटकहरू भारतीय गाइडले बुनेको कथामा अलमलिने भएकाले नेपाली दृष्टिबाट लुम्बिनीलाई बुझ्न र बाहिर प्रचार गर्न सकिँदैन ।

यसले पर्यटन विकासमा अवरोध उत्पन्न भइरहेको छ । लुम्बिनी क्षेत्रका लागि गठन भएको लुम्बिनी विकास कोष राजनीतिक दुष्चक्रमा फसिरहनु, लुम्बिनी बाहेक अन्य स्थानलाई पनि समान महत्त्व दिनुपर्ने दृष्टि नहुनु जस्ता कारणले गर्दा बृहत्तर लुम्बिनीको विकास, प्रवद्र्धन र लाभ लिने काम अत्यन्त न्यून मात्रामा भइरहेको छ ।

लुम्बिनीको सवालमा सञ्चार क्षेत्र
केही व्यक्ति र समूहहरूले बेलाबेलामा ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्दै प्लेकार्ड देखाउँदै नारा–जुलुस गरेर लुम्बिनीलाई चिनाउने काम गरेको दाबी गरे पनि लुम्बिनीलाई आजको अवस्थासम्म विश्वमा चिनाउनमा सञ्चार माध्यमहरूले महŒवपूर्ण भूमिका खेलिरहेका छन् ।

देशभित्र र बाहिरका मिडियामा निरन्तर रूपमा लेखेर, बोलेर र देखाएर बुद्ध र बुद्ध भूमिहरूलाई चिनाउने काम सञ्चारकर्मीहरूले गरिरहेका छन् । तर, लुम्बिनी विकास कोषले प्रदेशका मिडियाहरूले गरेको कामको बेवास्ता गर्दै लाखौँ खर्चेर राजधानी र विदेशी मिडियासँग सहकार्य गर्दा बुद्ध स्थलको वास्तविकताभन्दा पनि कोषले देखाउन खोजेका नियोजित सामग्रीहरू श्रोता, पाठक, पर्यटक र अन्य चासो राख्नेहरूले थाहा पाउने अवस्था छ ।

कोषले स्थानीय मिडियाप्रति असहयोगी व्यवहार देखाउँदा बेलाबेलामा सञ्चारकर्मी र विकास कोषबिच द्वन्द्व भइरहे पनि स्थानीय मिडियाहरूले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा लुम्बिनीसम्बन्धी सामग्री पस्कन छोडेका छैनन् ।

मिडियाले लुम्बिनी क्षेत्रमा भएका बेथितिहरूलाई उठाउने काम गरिरहेका छन् र गर्नुपर्छ । तर एउटा निकायको कमजोरी उठाउँदा त्यसले समग्र लुम्बिनी क्षेत्रको छविमा कस्तो असर पुग्छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ ।

कोष, सरकार र अन्य संस्थाहरूले लुम्बिनीको नाममा बेथिति गर्न नपाओस् भन्ने कुरामा सजग हुनुपर्छ । बौद्ध स्थल सम्बन्धी औपचारिक कार्यक्रमका समाचारभन्दा सफलताका कथा र बेथितिको खबरदारीलाई महत्त्व दिनुपर्छ ।

केही व्यक्तिले पर्यटकको भेषमा र केही संस्थाहरूले समाजसेवाको नाममा नियोजित रूपमा लुम्बिनीलाई बदनाम गर्न लागिरहेका हुन्छन् । यिनीहरूको नियोजित रूपमा सम्प्रेषित खबरले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा बाधा पुग्ने भएकाले सबै सञ्चारकर्मी सजग हुनुपर्छ ।

सञ्चारकर्मीले बुद्ध र बौद्ध स्थल सम्बन्धी खोज–अनुसन्धानमूलक सामग्री निर्माण, प्रचार–प्रसार, अन्तर्देशीय मिडिया सहकार्य, शान्ति सञ्चार जस्ता कुराहरू सदैव केन्द्रमा राख्न सकेमा राज्यलाई खबरदारी र दबाब मात्र होइन, समग्र नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्नेछ ।

तेस्रो शताब्दीमा सम्राट् अशोक आएर लुम्बिनी, गोटिहवा र निग्लिहवामा स्तम्भ खडा गरेर यो क्षेत्रलाई भावी पुस्तालाई चिनाउने प्रयास गरे । हुयान्साङ र फाहियान जस्ता चिनियाँ यात्रीहरूले लुम्बिनी, कपिलवस्तु र रामग्राम क्षेत्र भ्रमण गरी यस क्षेत्रलाई विश्वभर चिनाउने काम गरे ।

अहिलेसम्म यिनै जगमा टेकेर बृहत्तर लुम्बिनीको विकासका कार्यहरू भइरहेका छन् । अब लुम्बिनीलाई उजागर गर्ने, अपनत्व दिलाउने, प्रचार गर्ने र पर्यटन विकासको बाटोमा डोर्याएर लाभ लिने वातावरण तयार गर्ने जिम्मा सञ्चार क्षेत्रको हातमा आएको छ ।

सबै सञ्चारकर्मीको एउटै धारणा र एउटै अभियानले बृहत्तर लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनलाई द्रुत गतिमा एकसाथ अघि बढाउन सक्छ । यसको लागि सञ्चारकर्मीलाई बौद्ध परिवेश, बौद्ध इतिहास र संस्कृति, पर्यटन तथा भूगोलको बारेमा आधारभूत ज्ञान र सीप विकास गर्ने तालिम तथा प्रशिक्षणमा ध्यान दिनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?