काठमाडौँ । रोल्पामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ ।
थवाङ गाउँपालिका–१ मा सल्यानबाट जाँदै गरेको जिप करिब आठ सय मिटर तल खसेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिएका छन् ।
जिप रूकुमबाट थवाङको जलजलातर्फ पूजाका लागि जाँदै थियो । कच्ची सडक खण्डमा दुर्घटना हुँदा जिप सडकबाट झण्डै ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ । तर, जिपमा कति जना सवार थिए भन्ने अझै खुलेको छैन ।
अप्ठ्यारो भूगोल र वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना दिउँसो करिब ३ बजेतिर भएको हो । प्रहरीले घाइतेको अवस्था र घटनाबारे थप विवरण सार्वजनिक गरेको छैन ।
थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले भने १८ जनाको मृत्यु भएको सूचना प्राप्त भएको बताएका छन् ।उनले भने, “मलाई वडा नम्बर १ का वडाध्यक्ष हिराप्रसाद बुढा मगरले फोनमार्फत अठार जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । अहिले म पनि घटनास्थलतर्फ जाँदैछु ।”
अध्यक्ष मगरका अनुसार जलजलामा वैशाख पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । सोही मेलामा सहभागी हुन रूकुम पूर्वबाट आएका व्यक्तिहरू दुर्घटनामा परेका हुन् ।