© 2026
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व चरम उत्कर्षमा पुगेको उल्लेख गर्दै विश्वव्यापी रूपमा चिकित्सा सुविधा र स्वास्थ्यकर्मीहरू माथिको आक्रमण बढिरहेको बताएको छ ।
अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा इरानमा हवाई आक्रमण गर्नु अघि विश्वव्यापी स्वास्थ्य सेवा र स्वास्थ्यकर्मी लक्षित आक्रमणको औसत सङ्ख्या प्रति दिन ३.७ रहेको उल्लेख गर्दै हाल यो सङ्ख्या बढेर ४.३ पुगेको डब्ल्यूएचओले जनाइएको छ ।
डब्ल्यूएचओले मध्यपूर्वमा द्वन्द्व सुरु भएदेखि ५० वटा निजी अस्पताल तथा स्वास्थ्य केन्द्रहरू बन्द गरिएको उल्लेख गर्दै १६ वटा अस्पतालहरूमा क्षति पुगेको जनाएको छ ।
जुन सुकै अवस्थामा पनि सबै भन्दा बढी आवश्यक रहेको स्वास्थ्य सेवामा आक्रमण भइरहँदा स्वास्थ्य सेवा प्रभाहको क्षमतामा नकरात्मक प्रभाव पारेको डब्लुएचओका आपत्कालीन स्वास्थ्य सेवाका निर्देशक अल्ताफ मुसानीले बताएका छन् ।
स्वास्थ्य सुविधाहरूमा भएका आक्रमणहरूले गाजामा चिकित्सा सेवाहरूको प्रावधानलाई पनि गम्भीर रूपमा असर गरेको छ, जहाँ हाल एउटा मात्र अस्पताल पूर्ण रूपमा सञ्चालनमा रहेको डब्ल्यूएचओले जनाएको छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बारम्बार यी आक्रमणहरूको निन्दा गर्दै सम्बन्धित पक्षलाई जबाफदेही बन्न आह्वान गरेका छन् । उनले लेबनानको पछिल्लो अवस्थालाई प्रकाश पादै उनका स्वास्थ्य सुविधाहरूमा १४९ वटा आक्रमणहरू भएको रेकर्ड गरिएको जनाएका छन् ।