© 2026
खेल्दै सिक्ने वातावरणमा बालशिक्षा
अम्बिका भण्डारी
प्रधानाध्यापक, नरैना आधारभुत विद्यालय
“कलिला बालबालिकालाई हामीले पाठ्यपुस्तकसँगै विभिन्न खेलौनाको प्रयोग गर्दै रमाइलो वातावरणमा पढाउने काम सुरु गरेका छौं । यहाँ आउने बेला रुने र घर जाँदा पनि छुट्न मन नलागेर रुने अवस्था देखिन्छ, तर बीचमा बस्दा उनीहरू रमाएर सिक्ने वातावरण बनेको छ । तीन दिन शैक्षिक पढाइ र तीन दिन प्राविधिक विषय सिकाउने अभ्यास गरिरहेका छौं । जनजाति समुदायका विद्यार्थीको संख्या बढी रहेको यस विद्यालयमा योजना बनाएर व्यवस्थित रूपमा काम गरिरहेका छौं, जसले बालबालिकाको सिकाइलाई प्रभावकारी बनाएको छ ।”
आमाहरूको पढ्ने सपना साकार
विष्णु गौतम
प्रधानाध्यापक, साधना महिला विद्यालय
“यहाँ अक्षर चिन्नेदेखि दैनिक जीवनका आवश्यकता पूरा गर्न र उच्च शिक्षा हासिल गर्न आउने आमाहरू छन् । उनीहरूले उमेरले शिक्षा लिन रोक्दैन भन्ने कुरा व्यवहारमै प्रमाणित गरेका छन् । सानो उमेरमा पढ्न नपाएका आमाहरू अहिले आफ्नो पढ्ने रहर पूरा गर्दै ज्ञान आर्जन गरिरहेका छन् । यस विद्यालयले उनीहरूलाई नयाँ अवसर दिएको छ र सिकाइको माध्यमबाट आत्मविश्वास समेत बढाएको छ । साधना महिला विद्यालयले आमाहरूको अधुरो शैक्षिक सपना पूरा गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।”
सहकार्य र प्राविधिक शिक्षाले नमुना बन्दै विद्यालय
प्रेमबहादुर बस्नेत
प्रधानाध्यापक, नवीन औद्योगिक कदरबहादुर रिता मावि
“आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरूको बाहुल्यता रहेको यस विद्यालयमा सबै विद्यार्थीलाई समान व्यवहारका साथ शिक्षण सिकाइ भइरहेको छ । पछिल्लो समय प्राविधिक शिक्षाको माग बढ्दै गएकाले नविन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय सबैको रोजाइमा पर्दै आएको छ । यहाँ रूपन्देहीसहित ५८ जिल्लाबाट आएका विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । सम्पूर्ण शिक्षक, अभिभावक र स्थानीय समुदायको सक्रिय सहकार्यका कारण यो विद्यालय नमुना विद्यालयको रूपमा स्थापित हुँदै गएको छ ।”
व्यवहारिक शिक्षामा जोड दिँदै विद्यालय
लोकनाथ उपाध्याय
प्राचार्य, न्यू होराइजन इङलिश बोर्डिङ स्कुल
“हाम्रो विद्यालयका साना कक्षाका विद्यार्थीहरू सानो झोला बोकेर विद्यालय आउने क्रम बढ्दो छ । हामीले प्रविधिमैत्री शिक्षाको धार अपनाउँदै अघि बढिरहेका छौं । कसरी राम्रो र अब्बल शिक्षा दिने भन्नेमा हामी निरन्तर केन्द्रित छौं । यहाँ अध्ययन गर्ने विद्यार्थीहरूलाई देशभित्र मात्र होइन, विदेश गएर पनि आत्मनिर्भर भएर जीवनयापन गर्न सक्ने गरी सीपयुक्त शिक्षा प्रदान गरिरहेका छौं । शिक्षालाई केवल परिणाम होइन, व्यवहारिक बनाउन आवश्यक छ। हरेक विद्यालयले यस्तो शिक्षण प्रणाली अपनाउनुपर्ने मापदण्ड बनाउनुपर्छ र नीति तथा नियमलाई व्यवहारमै उतार्न जरुरी छ ।”
दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै शिक्षालय
नविनकिशोर गैरे
शिक्षालय प्रमुख, कोरिया नेपाल बहुप्राविधिक शिक्षालय
“हामी दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षालय हौं । अहिले सजिलै जीवनयापन गर्नका लागि धेरैलाई विदेश गएर काम गर्नुपर्ने अवस्था छ । तर बुटवल यस्तो शहर हो, जहाँ कोरिया सरकारले समेत हाम्रो उत्पादनप्रति विश्वास गरेर सहकार्य गरिरहेको छ, जुन हाम्रो लागि सकारात्मक पक्ष हो ।
यहाँ उत्पादन भएका दक्ष विद्यार्थीहरू उद्योग र कलकारखानामा उपयोग हुनुपर्ने भए पनि धेरैको रोजाइ विदेश जानेतर्फ बढिरहेको छ । त्यसैले स्वदेशमै अवसर सिर्जना गरेर दक्ष जनशक्ति रोक्ने वातावरण बनाउनु अहिलेको आवश्यकता हो ।”
विद्यालय व्यवस्थापनमा हस्तक्षेप हुनु हुँदैन
विमलबहादुर शाक्य
पूर्व उपप्रमुख तथा पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य
“शिक्षकहरूलाई सम्मान गर्न सके मात्रै शिक्षा क्षेत्र सकारात्मक दिशामा अगाडि बढ्छ भन्ने उद्देश्यसहित मैले नगरमा रहँदा पनि काम गरेको थिएँ । अहिले विद्यालय व्यवस्थापन समिति पनि उत्तिकै जिम्मेवार निकाय बनेको छ ।
लोकप्रिय व्यक्ति विद्यालयको अध्यक्ष हुने अभ्यास भएपनि जनप्रतिनिधिको इच्छामा मात्र अध्यक्ष चयन गर्ने प्रक्रिया उचित होइन । म आफैं विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा सधैं विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने मात्र सोच राखें । विद्यालय सञ्चालनमा कुनै पनि प्रकारको हस्तक्षेप भएन भने मात्र प्रभावकारी काम गर्न सकिन्छ भन्ने मेरो स्पष्ट धारणा हो ।”
स्थानीय तहसँग सहकार्य गर्दै शिक्षा सुधार
हरिबहादुर विष्ट
प्रमुख, सामाजिक विकास डिभिजन कार्यालय, लुम्बिनी प्रदेश
“विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने भएकाले शिक्षा पनि हाम्रो प्रमुख क्षेत्र हो । यहाँका योजना तथा कार्यक्रमहरूलाई बजेटमा समेटेर निरन्तर अघि बढाइएको छ । स्थानीय तहसँग विशेषगरी वडा कार्यालयसम्मको समन्वयमा सहकार्य गर्दै काम भइरहेको छ । बुटवलमा विज्ञान र प्रविधिलाई प्राथमिकता दिनका लागि विज्ञान अध्ययन गर्ने छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रमका कारण कक्षा ११ र १२ मा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । यसरी स्थानीय तहसँगको सहकार्यले शिक्षा सुधारमा सकारात्मक परिणाम दिएको छ ।”
शिक्षा, बुझाइ र शुल्कको यथार्थता
टिकाराम न्यौपाने
केन्द्रीय उपाध्यक्ष–प्याब्सन
“विद्यार्थीले शिक्षालाई कसरी बुझ्छन् र अभिभावकले त्यसलाई कसरी बुझाउनुहुन्छ भन्ने विषय महत्वपूर्ण हो । शिक्षा केवल पढाइ मात्र होइन, जीवन बुझ्ने प्रक्रिया पनि हो । शुल्कका कुरालाई हेर्दा शिक्षक र विद्यालय व्यवस्थापनलाई सुदृढ बनाउन आर्थिक स्रोत आवश्यक पर्छ । त्यसैले विद्यालय सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउन शुल्क लिनु पर्ने बाध्यता हुन्छ । गुणस्तरीय शिक्षा प्रदान गर्न, आवश्यक पूर्वाधार विकास गर्न र शिक्षकको क्षमता अभिवृद्धि गर्न पनि आर्थिक व्यवस्थापन अनिवार्य छ । यसलाई सबै पक्षले सहकार्यका साथ बुझ्न जरुरी छ, ताकि शिक्षा प्रणाली सन्तुलित र दिगो रूपमा अघि बढ्न सकोस् ।”
विद्यालय भर्ना समस्यामा ध्यान दिन आग्रह
लोकनाथ ज्ञवाली
अध्यक्ष, अभिभावक संघ रूपन्देही
“शिक्षा सबैको अधिकार भए पनि अहिले भर्ना प्रक्रिया चलिरहेको अवस्थामा धेरै गुनासोहरू आइरहेका छन् । विद्यालयमा भर्ना हुन जाँदा भर्ना गर्न नपाएको समस्या धेरै अभिभावकले उठाइरहेका छन् । यहाँ विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरू पनि भर्ना हुन नसक्नु दुःखद पक्ष हो । यस्तो अवस्थाले विद्यार्थीको भविष्यमा असर पार्ने भएकाले यस विषयमा नगरपालिकाको गम्भीर ध्यान जान आवश्यक छ । सबै बालबालिकालाई समान अवसरसहित शिक्षामा पहुँच सुनिश्चित गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।”
दक्ष कामदार विदेशिने प्रवृत्तिले उद्योगी चिन्तित
एजाज आलम
अध्यक्ष, नेपाल उद्योग परिसंघ लुम्बिनी
“उद्योग क्षेत्रमा धेरै नेपाली कामदारलाई टिकाइराख्न सकिएको छैन । कामदारहरू एकपटक भए पनि विदेश जानुपर्छ भन्ने मानसिकताले उद्योग क्षेत्रलाई निकै दिक्दार बनाएको छ । योग्य र दक्ष जनशक्तिलाई रोक्न नसकिने अवस्था छ । यहाँ सिकाइ र तालिम दिएपछि पनि धेरैजसो कामदार विदेश जाने प्रवृत्तिले उद्योगी व्यवसायीलाई ठूलो चुनौती दिएको छ । यसले उद्योग सञ्चालनमा प्रत्यक्ष असर पारिरहेको छ र उत्पादन क्षमतामा पनि कमी ल्याइरहेको छ । त्यसैले देशमै रोजगारी र आकर्षक अवसर सिर्जना नगरेसम्म दक्ष जनशक्ति रोक्न कठिन हुने अवस्था देखिएको छ ।”
प्राविधिक शिक्षामा ध्यान दिनुपर्छ
जेपी कंडेल
वित्त उद्यमी
“विद्यालयहरूले प्राविधिक शिक्षामा पर्याप्त ध्यान नदिएको देखिन्छ । अहिले धेरैजसो विद्यालयहरूमा विद्यार्थी संख्या कति छ भन्ने कुरामा मात्र ध्यान केन्द्रित गरिएको अवस्था छ । तर शिक्षाको गुणस्तर र व्यवहारिक पक्षलाई बेवास्ता गरिएको छ । अबको समयले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्न आवश्यक भइसकेको छ । विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक सीप र जीवनोपयोगी शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ । त्यसैले विद्यालयहरूले अब आफ्नो सोच परिवर्तन गर्दै प्राविधिक शिक्षामा विशेष जोड दिनु जरुरी छ, जसले विद्यार्थीलाई आत्मनिर्भर र सक्षम बनाउन मद्दत गर्छ ।”
दक्ष कामदार अभावको जोखिम
कृष्णप्रसाद पराजुली
अध्यक्ष, रूपन्देही उद्योग संघ
“शिक्षाको पद्धति बुझ्न आवश्यक छ । अहिले सबैले शैद्धान्तिक शिक्षालाई मात्र महत्व दिइरहेका छन्, जसका कारण नम्बरलाई प्राथमिकता दिने प्रवृत्ति बढेको छ । तर नम्बरसँगै संस्कार र व्यवहारिक ज्ञानलाई भने बिर्सिँदै गएको अवस्था छ । अरू देशको शिक्षा प्रणाली र हाम्रो प्रणालीमा स्पष्ट फरक देखिन्छ । नेपाली विद्यार्थीहरू प्राविधिक शिक्षामा सधैं पछाडि परेको अनुभव भइरहेको छ । यदि हामीले प्रयोगात्मक शिक्षा दिएर अब्बल र दक्ष विद्यार्थी उत्पादन गर्न सकेनौं भने भविष्यमा विदेशबाट कामदार ल्याउनुपर्ने अवस्था सृजना हुन सक्छ । त्यसैले शिक्षा प्रणालीमा सुधार आवश्यक छ ।”
समृद्धिसँग जोडिन शिक्षा अनिवार्य
मनिकर कार्की
लेखक
“समृद्धिसँग जोड्न शिक्षा अनिवार्य रूपमा जोडिनु आवश्यक छ । विकास र समृद्धि मानव विकाससँग प्रत्यक्ष सम्बन्धित भएकाले यी सबैलाई परिपूरक चिन्तनबाट अघि बढाउनुपर्छ । अहिले छुटिरहेको मुख्य पक्ष भनेको शिक्षा, श्रम र कामलाई एकअर्कासँग जोड्ने अभ्यास हो, जसलाई प्रवद्र्धन गर्न जरुरी छ । शिक्षा केवल पढाइमा सीमित नभई काम र श्रमलाई चिन्ने, बुझ्ने र त्यसलाई जीवनसँग जोड्ने माध्यम बन्नुपर्छ । शिक्षाले यदि धन, रोजगारी र आत्मनिर्भरतासँग सम्बन्ध स्थापित गर्न सके मात्र त्यसलाई गुणस्तरीय शिक्षा भन्न सकिन्छ । त्यसैले शिक्षा प्रणालीलाई व्यवहारिक र उत्पादनमुखी बनाउन आवश्यक छ ।”
घोकन्ते शिक्षाबाट व्यवहारिक सिकाइ आवश्यक
माया गौतम
समाजसेवी
“शिक्षा अहिले पनि घोकन्ते शिक्षामै सीमित हुँदै गएको देखिन्छ । मेरा साना–साना नातिनातिनीहरूले विदेशमा गएर सीपसहित अध्ययन गरेर आएको सुन्दा मनमा आनन्द लाग्छ । त्यहाँको सिकाइले शिक्षालाई व्यवहारिक र सबल बनाउने काम गरेको छ । वास्तविक शिक्षा भनेकै केवल किताबी ज्ञान होइन, जीवनमा प्रयोग गर्न सकिने सीप र अनुभव हो । सिकाइ प्रभावकारी भए मात्र शिक्षाले वास्तविक रूपमा जीवनलाई सक्षम बनाउँछ । त्यसैले हाम्रो शिक्षालाई पनि व्यवहारिक, सीपमूलक र जीवन उपयोगी बनाउनु आवश्यक छ, जसले विद्यार्थीलाई आत्मनिर्भर र सक्षम बनाउन मद्दत गर्छ ।”
शिक्षा सुधारमा सरकारी पहल आवश्यक
टुकबहादुर क्षेत्री
प्राचार्य मणिमुकुन्द कलेज
“हामीले अहिलेसम्म शैद्धान्तिक शिक्षालाई नै मुख्य रूपमा अपनाउँदै आएका छौं, जुन अभ्यास विगतदेखि निरन्तर चलिरहेको छ । यस समस्याको समाधान पाठ्यपुस्तक निर्माण र परिमार्जनमार्फत गर्न सकिन्छ भन्ने धारणा छ । शिक्षा सुधारका लागि सरकारले नै गम्भीर रूपमा पहल गर्न आवश्यक छ । केवल भन्नासाथ परिवर्तन सम्भव हुँदैन, व्यवहारिक रूपमा काम गर्नुपर्छ । साथै, कुनै पनि सुधारका प्रयास गर्दा समाजमा विरोध आउने प्रवृत्ति पनि देखिन्छ, जसले परिवर्तनलाई ढिलो बनाउँछ । त्यसैले शिक्षा प्रणालीलाई समयानुकूल र प्रभावकारी बनाउन धैर्य र योजनाबद्ध सुधार अपरिहार्य छ ।”
शिक्षा सुधारमा सरकारी पहल आवश्यक
लालहरि पाण्डे
अध्यक्ष, प्याव्सन लुम्बिनी प्रदेश
“हामीले अहिलेसम्म शैद्धान्तिक शिक्षालाई नै मुख्य रूपमा अपनाउँदै आएका छौं, जुन अभ्यास विगतदेखि निरन्तर चलिरहेको छ । यस समस्याको समाधान पाठ्यपुस्तक निर्माण र परिमार्जनमार्फत गर्न सकिन्छ भन्ने धारणा छ । शिक्षा सुधारका लागि सरकारले नै गम्भीर रूपमा पहल गर्न आवश्यक छ। केवल भन्नासाथ परिवर्तन सम्भव हुँदैन, व्यवहारिक रूपमा काम गर्नुपर्छ । साथै, कुनै पनि सुधारका प्रयास गर्दा समाजमा विरोध आउने प्रवृत्ति पनि देखिन्छ, जसले परिवर्तनलाई ढिलो बनाउँछ । त्यसैले शिक्षा प्रणालीलाई समयानुकूल र प्रभावकारी बनाउन धैर्य र योजनाबद्ध सुधार अपरिहार्य छ ।”
अवसर र व्यवस्थापन अभावले विद्यार्थी पलायन बढ्यो
बावुराम बन्जाडे
अध्यक्ष, एन प्याव्सन रूपन्देही
“हाम्रो पाठ्यक्रमलाई थप आत्मिक र मूल्य–आधारित बनाउन आवश्यक छ । नेपाली विद्यार्थीहरू विदेशमा पनि राम्रो प्रदर्शन गरिरहेका छन्, तर हामीले आफ्नै देशमा राम्रा विद्यार्थीलाई रोक्न सकेका छैनौं । यहाँ विदेशी विद्यार्थीलाई ल्याएर पढाउने र उनीहरूलाई रोजगारी दिने अवसरको अभाव छ । यही कारणले नेपाली विद्यार्थीहरू विदेश जान बाध्य भइरहेका छन् । नेपालमै पर्याप्त अवसर सिर्जना गर्न आवश्यक छ । उद्योगलाई व्यवस्थित गर्दै विदेशी विद्यार्थीलाई आकर्षित गर्ने र स्वदेशमै अध्ययन गरेका विद्यार्थीलाई रोजगारीको सुनिश्चितता गर्ने व्यवस्था मिलाउनुपर्छ । यसले मात्र देशमै प्रतिभा टिकाउन सकिन्छ ।”
भर्ना शुल्क आरोपमा प्रमाणसहित आउन चुनौती
मित्रहरि आचार्य
अध्यक्ष, प्याव्सन बुटवल
“संस्थागत विद्यालयहरूले भर्ना शुल्क लिएको भन्ने विषयमा यदि कुनै रेकर्ड वा प्रमाण छ भने त्यसलाई प्रमाणसहित प्रस्तुत गर्न म चुनौती दिन चाहन्छु । स्थानीय तहले गरेको निर्णयअनुसार नै हामीले कार्य गरिरहेका छौं । नियम र नीतिभित्र रहेर विद्यालय सञ्चालन गरिएको छ । बुटवलमा संस्थागत विद्यालयहरूमा करिब ४२ हजार विद्यार्थी अध्ययनरत छन् । हामीले सबै शुल्कहरू नीतिगत रूपमा मात्र लिने गरेका छौं । बिना प्रमाण लगाइने आरोपले शिक्षा क्षेत्रमा भ्रम सिर्जना गर्ने भएकाले यस्ता विषयमा जिम्मेवार भएर प्रस्तुत हुन आवश्यक छ ।”
प्राविधिक शिक्षामा जोड दिनुपर्छ
प्रेम पौडेल
प्राध्यापक, बुटवल बहुमुखी क्याम्पस
“व्यवहारिक शिक्षा अहिलेको समयको आवश्यकता हो । सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान सहितको शिक्षा दिनु अत्यन्त जरुरी छ । नगरपालिकाको व्यवस्थापनमा विद्यार्थीहरूलाई प्राविधिक शिक्षा प्रदान गर्न सकियो भने बुटवलको शिक्षा प्रणाली सफल दिशामा अघि बढ्नेछ । प्राविधिक शिक्षा जीवन उपयोगी हुने भएकाले यसमा विद्यार्थी, शिक्षक र अभिभावक सबै सचेत हुन आवश्यक छ । शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई सीप र व्यवहारसँग जोडिनु पर्छ, जसले विद्यार्थीलाई आत्मनिर्भर र सक्षम बनाउनेछ । त्यसैले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नु आजको प्रमुख आवश्यकता हो ।”