Butwal Today

अन्तर्राष्ट्रिय उडान नहुँदा जोखिममा लुम्बिनीको लगानी 

१४ बैशाख २०८३, सोमबार
अ+
अ-

शाक्य मुनी बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटकीय विकास र प्रवर्द्धन गरी राष्ट्रको अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ २०७१ सालमा सिद्धार्थनगर (भैरहवा) स्थित गौतम बुद्ध विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न शिलान्यास गरियो ।

सरकारको यो कदम पछि लुम्बिनी क्षेत्रकामात्र नभई मुलुकभरीकै उद्यमीहरू उत्साहित भए । भैरहवा–लुम्बिनी क्षेत्रमा खासगरी होटल तथा आतिथ्यता एवं पर्यटन क्षेत्रमा लगानी बृद्धि भयो । होटल एशोसिएशन अफ नेपाल (हान) लुम्बिनी प्रदेश समितिको तथ्याङ्क अनुसार भैरहवा–लुम्बिनी क्षेत्रमामात्र अहिले ४ वटा पाँचतारे होटल, ९ वटा चारतारे होटल र १ वटा तीनतारे होटल सञ्चालित अवस्थामा छन् ।

गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि पर्यटन उद्योग फस्टाउने अपेक्षाका साथ विमानस्थललाई लक्षित गरी यी होटलहरू खुलेका हुन् । होटल व्यवसायमा मात्र भैरहवा–लुम्बिनी क्षेत्रमा एक खर्ब रूपैयाँभन्दा बढी लगानी भैसकेको छ । यो विमानस्थल बन्ने भएपछि ठूला तारे होटलमात्र होइन मझौला तथा साना होटल रेष्टुरेन्टहरू पनि थपिए ।

लुम्बिनी प्रदेश क्षेत्रमा मात्र साना ठूला गरी २ हजार भन्दा बढी सङ्ख्यामा होटल तथा रेष्टुरेन्टहरू सञ्चालित छन् । यि सबैको लगानी जोड्ने हो भने खर्बौ रूपैयाँ लगानी भईसकेको छ । २०७९ सालको जेठ २ गते विमानस्थलको उद्घाटन भएपछि उद्योगी व्यवसायीहरू विशेषतः पर्यटन व्यवसायीहरूमा हर्षको सीमा रहेन ।

नयाँले लगानी गर्न र पुरानाले लगानी थप्न हौसिए । हामीले देख्दादेख्दै भैरहवा–लुम्बिनी क्षेत्र पर्यटकीय पूर्वाधारले भरियो । पर्यटकीय पूर्वाधारको नगरी बन्यो भैरहवा–लुम्बिनी क्षेत्र । तर उद्घाटन भएको ४ वर्ष वितिसक्दासम्म विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा नआएपछि अहिले यस क्षेत्रका उद्योगी व्यवसायीहरू निरास र दुःखी वनेका छन् ।

भैरहवा–लुम्बिनी क्षेत्रका व्यवसायीहरू मात्र नभई लुम्बिनी प्रदेश क्षेत्रकै व्यवसायीहरू निरास छन्, जसले उक्त विमानस्थललाई लक्षित गरी व्यवसायमा लगानी गरे । यो विमानस्थललाई लक्षित गरी रूपन्देहीका अतिरिक्त बर्दिया र बाँके जिल्लामा पनि होटल व्यवसायमा ठूलो परिमाणमा रकम लगानी भएको छ ।

भैरहवा र नेपालगञ्जमा होटल व्यवसायमा ठूलो रकम लगानी भएको छ । सोसाइटी अफ ट्राभल एण्ड टुर अप्रेटर्स नेपाल (सोट्टो नेपाल) को लुम्बिनी प्रदेश समितिको तथ्याङ्क अनुसार ट्राभल टुर क्षेत्रमा पनि झण्डै एक खर्ब रूपैयाँ लगानी
भएको छ । लुम्बिनी प्रदेश क्षेत्रमा २ सय बढी यस्ता संस्थाहरू सञ्चालित छन् ।

सरकारको पनि पूर्वाधार क्षेत्रमा खर्बौँ रूपैयाँ लगानी भईसकेको छ । गौतम बुद्ध विमानस्थल, सडक, बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकीय पूर्वाधारमा बृद्धि, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जस्ता पूर्वाधारका काममा सरकारले लगानी गरेको छ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा नआएपछि यो लगानी अहिले जोखिममा छ ।

उद्योगी व्यवसायीहरू निरास छन् । उद्योगी व्यवसायीहरूले यो विमानस्थल सञ्चालनको लागि सरकारसँग धेरै पटक माग राखे । दवावमूलक कार्यक्रमहरू पनि सञ्चालन गरे, तर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।

नवगठीत दुई तिहाई बहुमतको सरकारसँग आफूहरूले ठूलो अपेक्षा राखेको यस क्षेत्रका व्यवसायीहरूको भनाई छ । त्यसो त, पहिलेको सरकार र पर्यटन मन्त्रालयले यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन अनेक प्रयास नगरेको होइन, तर सफलता मिलेन । सरकारले विमानस्थल त बनायो, तर सञ्चालनको लागि सरकारले सरकारी सुविधाको न्यूनतम प्रबन्धसम्म मिलाउने काम गर्न नसकेको गुनासो उद्योगी व्यवसायीहरूको छ ।

यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि सरकारले श्रम कार्यालयको स्थापना, स्वास्थ्य परिक्षणको व्यवस्था, प्रवेशाज्ञा (भिसा) प्रदान गर्ने व्यवस्था, राहदानी (पासपोर्ट) यहीँबाट उपलब्ध गराउने व्यवस्था अर्थात यि कामहरूका लागि सङ्घीय राजधानी काठमाडौं जान नपर्ने प्रबन्ध मिलाउनु पर्ने माग उद्योगी व्यवसायीहरूको छ ।

यसका अतिरिक्त भारतका दिल्ली, बनारस, सारनाथ आदि पर्यटकीय स्थलसम्म पुग्नको लागि हवाई मार्गको प्रबन्ध मिलाउनु पर्ने व्यवसायीहरूको माग छ । शाक्य मुनी बुद्धको जीवनीसँग सम्बन्धित स्थलहरू भारतका बोधगया, श्रावस्ती, कुशीनगर आदी स्थलहरूमा भैरहवादेखि पुग्नको लागि यातायातको प्रबन्ध मिलाउनु पर्ने मागपनि व्यवसायीहरूको छ ।

सोट्टो नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष सञ्जय बजिमयको भनाईमा भारतको अयोध्यामा बार्षिक डेढ करोड, बनारसमा डेढ करोड र कुशीनगरमा ५० लाख पर्यटक आउने गरेको तथ्याङ्क छ ।

तर नेपालको लुम्बिनीमा सन् २०२१ मा ५ लाख ८ हजार ८ सय ९२ जना सन् २०२२ मा ९ लाख ३ हजार ८ सय ८३ जना, सन् २०२३ मा ९ लाख ९८ हजार ९ सय ३८ जना, सन् २०२४ मा ११ लाख ७२ हजार ३ सय ४ जना र सन् २०२५ मा ११ लाख २६ हजार ४ सय १७ जना पर्यटक आगमन तथ्याङ्क छ । यद्यपी यो तथ्याङ्कले शाक्य मुनी बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा पर्यटक आगमनको सङ्ख्या वर्षेनी बढ्दै गईरहेको देखाएको छ ।

यो सकारात्मक र खुशीको पक्ष भएपनि पर्याप्त अवस्था होइन । लुम्बिनीमा सन् २०२१ म कुल ७० देशबाट, सन् २०२२ मा ९८ देशबाट, सन् २०२३ मा ८७ देशबाट, सन् २०२४ मा १ सय १२ देशबाट र सन् २०२५ मा १ सय ६ देशबाट पर्यटक आएको तथ्याङ्क छ । यो तथ्याङ्कले के देखाउँछ भने लुम्बिनीमा संसारभरकै पर्यटकहरू आउन इच्छुक छन् तर हामीले उनीहरूलाई स्वागत गर्ने वातावरण सिर्जना गर्न समर्थ बनिरहेका छैनौँ ।

समाधानको उपाय खोज्न छिटोभन्दा छिटो पहल गर्नुपर्ने आवश्यकता देखिन्छ । व्यवसायीहरूले माग गरे जस्तै श्रम, राहदानी, स्वास्थ्य परिक्षण र प्रवेशाज्ञाको सुविधा भैरहवाबाटै दिने व्यवस्था मिलाउन ठूलो कठिनाई नहोला । भारतका पर्यटकीय शहरहरूमा आवतजावतको लागि हवाई र रेलमार्गको सुविधा मिलाउन समेत सरकारले यथाशिघ्र पहल गर्नुपर्छ ।

नेपाल उद्योग बाणिज्य महासङ्घ लुम्बिनी प्रदेश समितिका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठको भनाईमा यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र सरकारको गरी खर्बौँ रूपैयाँ लगानी जोखिममा परेको छ । अतः सरकारले यसको सञ्चालनको लागि भारत सरकारसङ्ग कुटनीतिक पहल गर्नुपर्छ ।

भैरहवादेखि भारतको दिल्ली उडानको व्यवस्था मिलाउने वित्तिकै समस्या समाधानको वातावरण सिर्जना हुन्छ । यात्रुको समस्या छैन । गौतम बुद्ध विमानस्थल सञ्चालनको माग केवल लुम्बिनी प्रदेश क्षेत्रको मागमात्र नभई नेपाल राष्ट्रकै माग हो । यो क्षेत्र राष्ट्रिय अर्थतन्त्रकै आधार स्तम्भ बन्न सक्छ ।

यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउने हो भने लुम्बिनी प्रदेश क्षेत्रको पर्यटन उद्योगमा कायापलट हुनेछ । यसकारण यो विमानस्थल सञ्चालनको माग भैरहवा एवं रूपन्देहीबासीको मागमात्र नभई समग्र लुम्बिनी प्रदेशबासी र राष्ट्रकै माग हो । यो विमानस्थल लुम्बिनी प्रदेश र गण्डकी प्रदेशवासीको भाग्यरेखा हो ।

लुम्बिनी दर्शन गर्न आएका विदेशी पर्यटकहरू चितवन र पोखराको भ्रमणमा समेत पुग्छन् । यदी हामीले गौतम बुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने हो भने वर्षमा करोडौँ सङ्ख्यामा बुद्धमार्गी पर्यटकहरू लुम्बिनी आउँछन् । जसले नेपाल राष्ट्रकै समृद्धिमा ठूलो टेवा पु¥याउँछ । त्यसैले यो विमानस्थल सञ्चालनको लागी हामी सबै जुर्मुराएर जागौँ, उठौँ ।

यदि यो विमानस्थल सञ्चालनमा ल्याउन नेपाल सरकार सफल हुन नसकेमा नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो नोक्सानी व्यहोर्नु पर्नेछ । विमानस्थललाई लक्षित गरी गरिएको लगानी डुब्यो भने यसले मुलुकलाई ठूलो हानी हुनेछ । बैकिङ्ग क्षेत्र पनि समस्यामा पर्नेछ ।

यदी सरकार, खासगरी पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको प्रतिबद्धता हुने हो भने यो विमानस्थल सञ्चालनमा ल्याउन सहजै सकिन्छ । सरकारले व्यवसायीक योजना राम्रोसँग बनाउनुपर्दछ । त्रिभुवन, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय तीनवटै विमानस्थल एकसाथ सञ्चालनमा ल्याउने गरी व्यवसायीक योजना बनाउनुपर्छ ।

लुम्बिनीमा बुद्धिष्ट मात्र नभई अन्य धार्मिक पर्यटकहरू पनि प्रशस्त सङ्ख्यामा आकर्षित गर्न सकिन्छ, किनकी लुम्बिनी विश्व शान्तिको मुहान हो । लुम्बिनी प्रदेश क्षेत्रको आर्थिक विकासको मुख्य आधार पर्यटन हो । अतः यस क्षेत्रमा शाक्य मुनी बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर यहाँ आउने पर्यटकको बसाई अवधी लम्बाउन यो प्रदेश क्षेत्रका अन्य पर्यटकीय सम्पदाहरूको समेत समुचित विकास र प्रबर्धन गर्नुपर्छ ।

अन्त्यमा, लुम्बिनी प्रदेश क्षेत्रको समृद्धिको मुख्य आधार पर्यटन उद्योग नै हो । मुख्य सम्पदा शाक्य मुनी बुद्धको जन्मस्थल लुम्बिनी हो । अतः सिद्धार्थनगरस्थित गौतम बुद्ध विमानस्थललाई पूर्ण क्षमतामा यथाशिघ्र सञ्चालनमा ल्याउनु अत्यावश्यक भएको छ । यसका लागि समग्र लुम्बिनी प्रदेश जुरुक्क उठ्नुपर्छ । यस विषयमा लुम्बिनी प्रदेश सरकार र सङ्घीय सरकारको यथाशिघ्र ध्यानाकर्षण हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?