Butwal Today

आगोमा जलेर गम्भीर घाईते भएकी बालिकालाई सहयोग जुटाउदै बिमल सुनार

१४ बैशाख २०८३, सोमबार
अ+
अ-

दोहा (कतार) ।

गुल्मी जिल्ला मालिका गाउँपालिका–५ छापहिले भेडिखोर निवासी प्रकाश बि.ककी ८ महिने छोरी रेखा बि.क आगोमा जलेर गम्भीर घाइते भएकी छन् ।

स्थानीयबासीको भनाई अनुसार, बिहान करिब ११ बजेतिर बालिकालाई खाना खुवाएर सुताइदिएपछि आमा दाउरा लिन गएको समयमा बालिका आगोमा जलेकी हुन् । बालिकालाई तत्काल उपचारका लागि गुल्मी अस्पताल पुर्‍याइए पनि बालिकाको कम्मरदेखि तलको भाग पूर्ण रूपमा जलेको र त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल गुल्मीले निःशुल्क एम्बुलेन्समार्फत पाल्पा मिशन अस्पताल रिफर गरेको थियो ।

हाल बालिका रेखाको पाल्पा मिशन अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । बालिकाको दुवै खुट्टाको पैताला समेत बढी जलेका कारण उपचारमा ठूलो खर्च लाग्ने अनुमान गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएपछि स्थानीय बिमल सुनारले सहयोग संकलन अभियान सुरु गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बालिकाको अवस्था सार्वजनिक गर्दै सहयोग जुटाइरहेका छन् ।

सुनारले अस्पतालमै पुगेर बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै चिकित्सकसँग परामर्श समेत गरेका छन् । सुनारले पहिलो चरणमा संकलित रकम ६५ हजार ७ सय ९७ रुपैयाँ बालिकाका बुवा प्रकाश बिकलाई हस्तान्तरण गरिसकेको जानकारी दिएका छन् ।

बालिकाका बुवा प्रकाश बिकले देश तथा विदेशमा रहेका नेपालीहरूलाई छोरीको उपचारका लागि सहयोगको अपिल समेत गरेका छन् । सहयोगी मन भएका र सहयोग गर्न चाहाने इच्छुकले बिमल सुनारको ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर ३६००७०१००१३९५२ मा रकम जम्मा गर्न सकिने बताइएको छ । साथै, दोस्रो चरणमा सकंलित सहयोग रकम पनि छिट्टै हस्तान्तरण गरिने सुनारले जानकारी दिएका छन् ।

सामाजिक सञ्जालको सदुपयोगमार्फत मानविय सहयोग जुटाउने अभियान र प्रयासले बालिकालाई उपचार खर्च जुटाउन थप राहत पुगेको सुनार बताउँछन् । सुनारको सम्पर्क नम्बर ९७७-९८६७५५४७७८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?