Butwal Today

ओझेलबाट उदाउँदै जितगढी

७ बैशाख २०८३, सोमबार
अ+
अ-

बुटवल । केही समय अघिसम्म ऐतिहासिक जितगढी किल्ला ओझेलमा थियो । त्यसैमा केही वर्षअघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्ला नजिकै बनेपछि त्यहाँ अतिक्रमण सुरु भयो ।

केही समयमै अतिक्रमण तीव्र भयो र किल्ला नै छोपिने अवस्थामा पुग्यो । तर, पछिल्ला दिनहरूमा जितगढीको मुहार फेरिएको छ । बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्राथमिकतामा परेको जितगढीलाई राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण स्थलका रूपमा विकास गरिँदै आएको छ ।

रुपन्देहीको बुटवल–१ स्थित जितगढी किल्ला ऐतिहासिक वीरताको प्रतीक मात्र होइन, अहिले आधुनिक संरचनासहित विकसित हुँदै गएको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा उभिएको छ ।

तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको गौरव बोकेको यो किल्ला पछिल्ला वर्षहरूमा पुनः संरचना र संरक्षणका कारण नयाँ स्वरूपमा देखिन थालेको हो ।

वि.सं. १८७१–७२ मा इष्ट इण्डिया कम्पनीसँग भएको युद्धमा उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले यही क्षेत्रमा ऐतिहासिक विजय हासिल गरेको थियो । उक्त विजयले नेपाललाई औपनिवेशिक विस्तारबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

यही ऐतिहासिक पृष्ठभूमिलाई उजागर गर्दै बुटवल उपमहानगरपालिकाले किल्लालाई व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्न गुरुयोजनाअनुसार काम अघि बढाएको छ ।

नगरप्रमुख खेलराज पाण्डेयका अनुसार जितगढीलाई राष्ट्रियस्तरकै नमुना गन्तव्य बनाउने लक्ष्यसहित संरचनात्मक तथा सौन्दर्यीकरणका काम तीव्र पारिएका छन् ।

हाल किल्ला परिसरमा नौ फिट अग्लो उजिरसिंह थापाको पूर्णकदको तामाको सालिक र ५५ फिट अग्लो टावरमा राष्ट्रिय झण्डा फहराइएको दृश्यले आगन्तुकको ध्यान आकर्षित गर्ने गरेको छ ।

किल्लाभित्र प्रवेश गर्दा कलात्मक प्रवेशद्वार र त्यससँगै लस्करै राखिएका सहिद सैनिकहरूको अर्धकदका सालिकहरूले इतिहासलाई जीवित बनाउने प्रयास गरिएको देखिन्छ ।

अङ्ग्रेजसँगको युद्धमा वीरगति प्राप्त गरेका १३ जना सैनिक अम्बर अधिकारी, वृषसुर थापा, कृपासुर थापा, सुर्जे थापा, भीमसेन देउजा, सुरवीर बोहरा, रणसुर बानिया, हंसवीर अधिकारी, नकुल बानिया, दलखम्ब थापा, वीरमञ्जन पाँडे, जुठे बस्नेत र शमशेर राना मगरको सम्मानमा निर्माण गरिएका सालिकहरूले किल्लाको ऐतिहासिक महत्वलाई अझ सशक्त बनाएको छ ।

उपमहानगरपालिकाले अतिक्रमण हटाएर किल्लाको मौलिक स्वरूप संरक्षण गरेको छ भने हालसम्म आठ करोड १२ लाखभन्दा बढी लागतमा विभिन्न संरचना निर्माण सम्पन्न भइसकेका छन् । यसअघि प्रारम्भिक चरणमा ५० लाख र त्यसपछिका वर्षमा थप एक करोड बजेट विनियोजन गरिएको थियो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा जितगढी किल्ला नजिक आरती केन्द्र निर्माणका लागि ५ करोड रूपैयाँ विनियोजन गरेको छ । यस बजेट व्यवस्थालाई किल्लाको संरक्षण तथा प्रवद्र्धनसँग जोडेर पर्यटकीय आकर्षण बढाउने योजनाको रूपमा लिइएको छ ।

जितगढीमा नेपाल–अङ्ग्रेज युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन ७ वैशाख १८७१ का दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उप–महानगरपालिकाको २६ चैत २०७४ मा बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रूपमा मनाउन सुरु गरेको थियो । त्यसयता हरेक वर्ष जितगढी उत्सव मनाउँदै आइएको छ ।

पछिल्लो अवस्थामा किल्ला क्षेत्रमा दैनिक सरसफाइ, सूचना बोर्ड, ऐतिहासिक तस्बिर, नक्सा तथा पुरानो नेपाल झल्काउने सामग्री राखिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई इतिहास बुझ्न सहज बनाएको वडा नं. १ का जनप्रतिनिधि अशोक राईले जानकारी दिनुभयो ।

गुरुयोजनाअनुसार आगामी चरणमा जितगढी युद्ध सङ्ग्रहालय, सूचना केन्द्र, पुरानो बुटवललाई प्राचीन बजारका रूपमा पुनर्जीवन दिने तथा किल्लालाई मणिमुकुन्द सेन दरबार र नुवाकोट गढीसँग जोड्ने योजना अघि बढाइएको छ ।

समग्रमा, ऐतिहासिक पहिचान जोगाउँदै आधुनिक पर्यटकीय पूर्वाधार थपिँदा जितगढी किल्ला लुम्बिनी प्रदेशकै प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।

इतिहासकार सोमध्वज विष्टका अनुसार किराँत र लिच्छवीकालदेखि किल्लाहरू व्यापक रूपमा बन्न थालेका थिए । पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानपछि सुगौली सन्धि नहुन्जेलसम्मको समयमा पनि नेपालमा विभिन्न किल्लाहरू बनेको पाइन्छ । छरिएर रहेका सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदाहरूमध्ये जीतगढी पनि एक हो ।

जितगढी किल्लालाई बुटवल उपमहानगरपालिकाका यसअघिका प्रमुख शिवराज सुवेदीको नेतृत्वमा पर्यटकीय थलोका रूपमा विकास गर्नेगरी गुरुयोजना बनाएर काम सुरु भएको थियो ।

नेपाली सेनाले जितगढी किल्लाको संरक्षण र सम्वद्र्धनको काम सम्पन्न गरी दुई वर्षअघि बुटवल उपमहानगरलाई हस्तान्तरण गरेको थियो ।

कस्तो छ जितगढी किल्ला ?
पाँच सय वर्गफिट इलाकामा फैलिएको जितगढी पूर्वपश्चिम लम्बाइ २०५ फिट छ र चौडाइ करिब ५५ फिट छ । गढीको जग निकै फराकिलो छ । गढीको गाह्रो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाइ ४ फुट ३ इन्च छ ।

१० इन्च चौडा रहेको भित्ताको मोटाइ ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ । त्यहाँ करिब बाह्र लाखदेखि पन्ध्र लाख ईंटा प्रयोग भएको अनुमान छ ।

ईंटाहरूका कोही १० इन्च वर्गाकारका तथा केही ईंटाहरूको लम्बाइ चौडाइ क्रमशः ८.६ इन्च, ६ इन्च बाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरू जस्तै छ ।

गढीको वरिपरि युद्धको सुविधाको लागि विभिन्न किसिमका प्वालहरू निर्माण गरिएको छ । पुरातात्विक र ऐतिहासिक महत्त्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । यो गढी तिनाउ नदीको किनारमा अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?