Butwal Today

सडकका नायक: स्टेरिङमै बिते दशकौँ

५ बैशाख २०८३, शनिबार
अ+
अ-

बुटवल  । उमेरले करिब आधा शताब्दी पार गरेका माधव शर्मा (महेश) ले घरमा निकै नै कम समय बिताउँछन् ।

हरेक दिनको अधिकांश समय बसको स्टेरिङ घुमाउँदैमा बित्छ । हजारौँ यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउँदा उनको मनमा आनन्द आउँछ र यसैमा उनी रमाएका छन् । “घरभन्दा बढी समय त यही बसमै बित्यो,” माधव भन्छन्, “हामी चालकका लागि परिवार भनेकै बस, स्टाफ र यात्रु हुन् ।”

माधवको यो भनाइले नेपालका हजारौँ व्यावसायिक चालकहरूको जीवनको यथार्थ बोल्छ । २०५५ सालदेखि भैरहवा–काठमाडौँको दिवा सेवाबाट स्टेरिङ सम्हालेका माधव आज २७ वर्षको अनुभवले खारिएका परिपक्व चालक हुन् ।

पहाडका घुम्तीदेखि तराईका लामा राजमार्गसम्म उनले आफ्नो जीवनका अमूल्य क्षणहरू यात्रुको सुरक्षामा अर्पेका छन् । हाल लु २ ख ६७०० नम्बरको ‘हिमालयन मेट्रो’ चलाउँदै आएका उनी आफूलाई भाग्यमानी ठान्छन् । किनकि, यतिका वर्षसम्म उनले कसैको सिन्दूर पुछिन दिएनन्, न त कसैको काख रित्तो हुन दिए ।

माधव शर्मा जस्तै अर्का अनुहार हुन् खुमानन्द पोखरेल । २० वर्षको कलिलो उमेरमा भारतबाट ड्राइभिङ सिकेर फर्किएका पाल्पा, सोमादीका ५५ वर्षीय पोखरेलको ३५ वर्ष सडकमै बित्यो ।

“जीवनमा धेरै मोड आए, तर स्टेरिङ छोडिनँ,” उनी गर्वका साथ भन्छन् । यो पेसाले उनलाई पहिचान मात्र दिएन, एक छोरालाई डाक्टर र अन्य सन्तानलाई उच्च शिक्षा पढाउने सामर्थ्य पनि दियो ।

कुनै समय ‘ड्राइभर–खलासी’ भन्दै समाजले हेयको दृष्टिले हेर्ने यो पेसा आज सम्मानित बन्दै गएको छ । ५० वर्षीय मीनबहादुर शाहीको सङ्घर्ष यसको साक्षी हो । ३० वर्षअघि बसको ढोका छोप्ने सहचालकबाट यात्रा सुरु गरेका शाही आज ‘कामना एसी’ बसका वरिष्ठ चालक हुन् ।

बुटवल, नेपालगन्ज, बागलुङ हुँदै अहिले गुल्मी–काठमाडौँ रुटमा गुड्ने उनी भन्छन्, “अरू पेसामा भएको भए अब विश्राम लिन्थेँ होला, तर यहाँ त अझै दौडिनै मन लाग्छ । विशेष गरी रात्रिकालीन शान्त सडकमा गाडी चलाउँदा एउटा बेग्लै आनन्द आउँछ ।”

२०७२ सालमा ‘बुटवल टुडे’ राष्ट्रिय दैनिकले एउटा खोजमूलक समाचार तयार पार्दा दशकौँसम्म दुर्घटना नगराई सुरक्षित सवारी चलाउने चालकहरूको सङ्ख्या निकै कम (मात्र ७ जना) भेटिएको थियो । ती पात्र खोज्न तीन महिना लागेको थियो । तर आज समय फेरिएको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले २०७९ देखि यस्ता ‘असल चालक’ हरूको व्यवस्थित तथ्याङ्क राख्न सुरु गरेको छ । आज टेकबहादुर क्षेत्री, विनोद चौधरी, टेकबहादुर पुन, रमेश न्यौपाने, गोपालबहादुर आलेमगर, पुष्कर पन्त, उद्धवबहादुर सुवेदी, हेमराज न्यौपाने, केशव खड्का, अनिल शाही र हरि क्षेत्री जस्ता नामहरू सुरक्षित यात्राका ब्रान्ड एम्बेसडर बनेका छन् ।

यीमध्ये कसैले १९ वर्ष त कसैले ३५ वर्षदेखि निरन्तर सुरक्षित रूपमा यात्रुलाई गन्तव्यमा पु¥याइरहेका छन् ।
“सडक अनुशासन पालना गर्ने हो भने यो पेसा अत्यन्तै गौरवपूर्ण छ,” पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का सञ्चालक तथा दुर्घटना न्यूनीकरण अभियानका प्रमुख नारायणप्रसाद घिमिरे बताउँछन् ।

उनका अनुसार २०६६ सालदेखि सुरु भएको अभियान अन्तर्गत हालसम्म ८ हजारभन्दा बढी चालक तथा परिचालकले तालिम लिइसकेका छन् । यसले मजदुरहरूको आत्मविश्वास र आत्मसम्मान दुवै बढाएको छ ।

हाम्रा लागि दसैँ, तिहार र होली परिवारसँग रमाउने अवसर हुन् । तर, यी सडकका हिरोहरूका लागि ती दिनहरू झनै जिम्मेवारीका दिन हुन् । “दसैँको टीका पनि धेरै पटक बसमै लगाएको छु,” माधव शर्मा भन्छन्, “यात्रुलाई घर पु¥याउनु नै हाम्रो मुख्य पर्व हो ।”

घरमा श्रीमती एक्लैले चाड मान्छिन्, छोराछोरी बुबाको बाटो हेर्छन् । तर, सडकको जोखिमसँग जुध्दै गर्दा उनीहरूले आफ्नो व्यक्तिगत पीडा कहिल्यै यात्रुलाई महसुस हुन दिँदैनन् ।

पहिरो, हावाहुरी र खराब मौसमसँगको दैनिक युद्ध उनीहरूको नियति हो । “गाडी चलाउँदा आफ्नो होइन, पछाडि बसेका सयौँ यात्रुको ज्यान सम्झिनुपर्छ,” खुमानन्द पोखरेलको यो दर्शनले नै उनीहरूलाई जिम्मेवार बनाएको छ ।

यी चालकहरूको एउटै साझा सपना छ– आफूले दुःख गरे पनि सन्तानले सुख पाउन् । आज धेरै चालकका छोराछोरी डाक्टर, इन्जिनियर र उच्च ओहोदामा पुग्नुमा त्यही स्टेरिङ घुमाउने हातहरूको पसिना मिसिएको छ ।

संस्थागत रूपमा पनि अहिले चालकहरूको सुरक्षामा ध्यान दिन थालिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलका अनुसार, हाल १ हजार ६०४ चालक र ४४२ परिचालकले आधिकारिक अनुमति पत्र प्राप्त गरी काम गरिरहेका छन् ।

उनीहरूका लागि स्थापित सहकारीमार्फत दुर्घटनामा ज्यान गुमाएका चालकका परिवारलाई १५ लाख रुपैयाँसम्म राहत दिने व्यवस्था गरिएको छ ।

यात्रुहरू गन्तव्यमा पुगेपछि झोला समातेर ओर्लिन्छन् र आफ्नो संसारमा भुल्छन् । तर, यात्रुहरूलाई सुरक्षित पु¥याउने ती हातहरू फेरि अर्को यात्राको तयारीमा स्टेरिङमै फर्किएका हुन्छन् ।

आजको प्रविधियुक्त युगमा पनि हजारौँको जीवन बचाउने अन्तिम जिम्मेवारी तिनै चालकको हातमा छ । त्यसैले, गाडीबाट ओर्लिँदा एक पटक फर्केर दिइने धन्यवाद र एउटा मन्द मुस्कान उनीहरूका लागि कुनै ठुलो सम्मानभन्दा कम हुँदैन ।

किनकि, उनीहरूले आफ्नो जीवनको सुगन्ध सडककै कालो पत्रेमा अर्पेका छन्, ताकि यात्रुहरूको जीवनको यात्रा सुगन्धित बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?