© 2026
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेको भन्दै नयाँ मूल्य समायोजन गरिएको जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रति लिटर २५ रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ ।
भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात् पनि निगमलाई पाक्षिक रूपमा रु. १० अर्ब २१ करोड ९१ लाख घाटा हुने अवस्था रहेको जनाएको छ । हाल निगमलाई पेट्रोलमा प्रति लिटर रु. १६.६५, डिजेलमा प्रति लिटर रु. १०९.५० तथा एल.पी. ग्यासमा प्रति सिलिण्डर रु. ४१६.३७ घाटा रहेको छ ।
निगमका अनुसार यदि यस्तो घाटा निरन्तर रहिरहेमा इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न समस्या हुने र आपूर्ति व्यवस्थापनमा असहजता सिर्जना हुन सक्नेछ । त्यसैले हाललाई पूर्ण लागतअनुसार मूल्य नबढाई पेट्रोलमा प्रति लिटर रु. १७.००, डिजेल/मट्टितेलमा प्रति लिटर रु. २५.००, एल.पी. ग्यासमा प्रति सिलिण्डर रु. १०० तथा आन्तरिक हवाई इन्धनमा प्रति लिटर रु. ६.०० ले वृद्धि गरिएको जनाएको छ ।
अब १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) को मूल्य पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ ।
मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाएको छ । निगमले घाटा निरन्तर बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिँदै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ ।