Butwal Today

सन्जिवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु

२४ चैत्र २०८२, मंगलवार
अ+
अ-

नेपालगञ्ज । नेपालगन्जस्थित सन्जीवनी कलेज अफ मेडिकल साइन्सेस (सन्जिवनी अस्पताल) मा आजदेखि ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरिएको छ ।
कार्यक्रमको आरम्भ गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आमा सुरक्षा कार्यक्रम सुरु भएपछि बाँकेमा मातृ शिशु मृत्यु दरमा सुधार हुने विश्वास व्यक्त गरे ।

बाँके लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर हुने जिल्लामा पर्दछ । त्यसमा पनि सबैभन्दा बढी मातृ मृत्युदर हुने नेपालगञ्ज उपमहानगरपालिका नै पर्दछ ।

अस्पतालका एमडी सन्तोष कुमार खनालका अनुसार कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरूलाई नियमित जाँच, सुरक्षित सुत्केरी सेवा, आवश्यक परामर्श तथा उपचार सेवा सहज र सुलभ रूपमा प्रदान गरिनेछ ।

यस कार्यक्रमले विशेष गरी आर्थिक रूपमा कमजोर तथा सेवा पहुँचमा समस्या भएका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उनले बताए । अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ मार्फत गर्भावस्थादेखि सुत्केरीपछिको अवस्थासम्म आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोमन किदवाईले बताए ।

जोखिमयुक्त गर्भावस्थाको निशुल्क पहिचान, समयमै उपचार तथा सुरक्षित प्रसूति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम नहुँदा सरकारी भेरी अस्पतालले त्यस्को भार खेप्दै आएको थियो ।

गत साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम बन्द गरेको शिक्षण अस्पताल कोहलपुरले भने अझै यो कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?