© 2026
लमही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन कडाइका साथ नियमन गर्नुपर्ने बताएका छन् । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा आयोजना गरेको उत्कृष्ट सहकारी संस्था पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सहकारीप्रति बढ्दो अविश्वास हटाउन पारदर्शिता र उत्तरदायित्व अनिवार्य रहेको बताए ।
मुख्यमन्त्री आचार्यले गलत नियतका कारण केही सहकारी संस्थाले सिंगो क्षेत्रको छवि बिगारेको उल्लेख गर्दै त्यस्ता संस्थामाथि कडा निगरानी र कारबाही भइरहेको स्पष्ट पारे । “बाहिरबाट आएर पैसा कुम्ल्याएर जाने प्रवृत्तिले सहकारीप्रति शंका बढाएको छ,” उनले भने, “अब यस्ता गतिविधि सह्य हुँदैनन् ।”
उनले सहकारी संस्थाले सर्वसाधारण नागरिकको जीवन सहज बनाएको उल्लेख गर्दै साना–तिना आर्थिक समस्या समाधानमा सहकारी प्रभावकारी माध्यम बनेको बताए । प्रदेश सरकारले ल्याउने बजेट बराबरको पुँजी सहकारीमार्फत परिचालन हुनु प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान भएको उनको भनाइ थियो ।
कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन प्रोत्साहन र नियमनलाई सँगसँगै अघि बढाइएको जानकारी दिए । प्रमुख सचिव कृष्णप्रसाद काप्रीले असल अभ्यासलाई प्रवर्द्धन गर्दै तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।
मन्त्रालयका अनुसार प्रदेश मातहत ८ सय ४८ सहकारी संस्था रहेका छन् । तीमध्ये ३३ सहकारीविरुद्ध उजुरी परेकोमा ८ वटाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ भने ७ वटासँग बचत फिर्ता गराउने सहमति भएको छ । १२ सहकारीलाई थप अनुसन्धानका लागि प्रहरीमा पठाइएको छ ।
पाँच सहकारी पुरस्कृत
कार्यक्रममा चार विधामा पाँच उत्कृष्ट सहकारी संस्थालाई नगद २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको छ । बचत तथा ऋणतर्फ किसान कमैया कल्याण बचत तथा ऋण सहकारी संस्था (बर्दिया) र राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था (दाङ), बहुउद्देश्यीयतर्फ पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी (रुपन्देही), उत्पादकतर्फ उत्कृष्ट साना किसान कृषि सहकारी (बाँके) र उपभोक्तातर्फ तुलसी उपभोक्ता सहकारी (दाङ) पुरस्कृत भएका हुन् ।
कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेल, प्रदेश सहकारी संघका सचिव रुपबहादुर खत्री, जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगाना लगायतले सहकारी क्षेत्र सुधारमा जोड दिएका थिए ।