© 2026
भैरहवा ।
नेपालमा सहकारी स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष चैत्र २० गते मनाइने राष्ट्रिय सहकारी दिवस यस वर्ष पनि “उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा भैरहवामा पनि ६९औँ राष्ट्रिय सहकारी दिवस २०८२ सिद्धार्थनगर नगरपालिका र सिद्धार्थनगर सहकारी सञ्जालको संयुक्त आयोजनामा विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्बिनी गेटबाट सिद्धार्थ उद्योग वाणिज्य सङ्घ परिसर सम्म प्रभातफेरी ¥याली निकालिएको थियो ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सहकारीले विशेष गरी गरिबीको रेखामुनि रहेका तथा मध्यम वर्गीय परिवारका लागि आर्थिक सहारा प्रदान गर्ने बताए। उनले मानिसहरूले आफ्नो पसिनाको कमाइबाट स–सानो रकम बचत गरी बालबच्चाको उज्ज्वल भविष्यका लागि लगानी गर्ने भएकाले सहकारीप्रति विश्वास कायम रहनुपर्नेमा जोड दिए ।
उनले सहकारीमा आबद्ध सञ्चालक तथा पदाधिकारीहरूले पूर्ण इमानदारिताका साथ संस्था सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै कसैको पनि रकम हिनामिना हुन नदिन सबै सचेत रहनुपर्ने धारणा राखे। सहकारी क्षेत्रबारे नकारात्मक समाचारहरू आउने गरेको भए पनि सिद्धार्थनगर नगरपालिकाभित्र त्यस्तो अवस्था नरहेको र आगामी दिनमा पनि हुन नदिने प्रतिबद्धता व्यक्त गरे। साथै, सहकारी संस्थाको इतिहास निकै पुरानो भएकाले यसको महत्त्व अझ बढेको उनको भनाइ छ ।
यसै गरी, कार्यक्रममा बोल्दै सिद्धार्थनगर सहकारी सञ्जालका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सहकारी दिवस मनाउने क्रममा संस्थाहरूले आफ्नो वार्षिक गतिविधिको समीक्षा गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । उनले हालको नारालाई व्यवहारमा उतार्न नगरपालिकासँग सहकार्य अपरिहार्य रहेको बताउँदै वडा स्तरमा सञ्चालन हुने उत्पादनमूलक तालिमहरू सहकारीमार्फत सञ्चालन गर्न प्रस्ताव पनि राखे ।
उनका अनुसार विभिन्न समयमा नगरपालिकाले प्रदान गर्ने तालिमहरूलाई सहकारीसँग जोड्न सके त्यसको प्रभावकारिता बढ्ने र तालिमपछि आर्थिक अभावका कारण काम गर्न नसक्ने व्यक्ति, समूह तथा संस्थाहरूलाई सहकारीमार्फत लगानी गर्न सकिने व्यवस्था मिलाउनुपर्ने आवश्यक रहेको बताए । सहकारीहरूसँग पर्याप्त लगानीयोग्य पुँजी भएकाले बिना धितो समेत उत्साही समूहलाई आर्थिक सहयोग गर्न सकिने उनले उल्लेख गरे। यसरी सहकार्य गर्न सके पछाडि परेका वर्गलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले समस्यालाई लुकाउनेभन्दा स्पष्ट रूपमा राख्दा मात्र समाधान सम्भव हुने बताइन। उनले समस्या लुकाउँदै जाँदा पछि जटिल बन्दै जाने र समाधान गर्न झन् कठिन हुने धारणा राखिन । कतिपय अवस्थामा नियमअनुसार कागजी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले त्यसलाई व्यक्तिगत रूपमा नलिन आग्रह पनि गरिन ।
उनले संस्थागत रूपमा विश्वास कायम भएपछि यदि कुनै आरोप लागेमा त्यसलाई पनि जिम्मेवारीपूर्वक सामना गर्नुपर्ने बताउँदै पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन ।
कार्यक्रमका अवसरमा नगरपालिकाको आह्वानअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्ने सहकारी संस्थाहरूलाई सम्मान पत्र वितरण गरिएको थियो ।
यसले सहकारी संस्थाहरूलाई समाजप्रति उत्तरदायी बनाउँदै थप सक्रिय हुन प्रेरणा दिएको आयोजकको भनाइ थियो । कार्यक्रममा सहकारीकर्मी, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा स्थानीय वासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमले सहकारी क्षेत्रको सुदृढीकरण, पारदर्शिता प्रवर्द्धन तथा उद्यमशीलता विकासमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।