अन्ताल्या ।
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन् ।
टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा उनले उक्त धारणा राखेका हुन् ।
परराष्ट्रमन्त्री खनालले नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै हिन्दूकुश हिमाली क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक कार्यक्रममा उनले जलवायु परिवर्तनका असरले सीमाना नचिन्ने भएकाले साझा चुनौतीको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता थप सुदृढ गर्नुपर्ने धारणा राखे ।
उनले पृथ्वीको पारिस्थितिक प्रणाली स्वास्थ्य र मानवताको सामूहिक हितको संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा कोप–३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवालको सहभागिता थियो ।