Butwal Today

यातायात व्यवसायी समिति अध्यक्षमा युवा व्यवसायी राईको उम्मेदवारी घोषणा

१८ चैत्र २०८२, बुधबार
अ+
अ-

बुटवल । युवा व्यवसायी पंकज राईले पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । राईले बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि १४ बुँदे प्रतिबद्धतासहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै उनले केही प्रतिवद्धता तथा योजनाहरु सार्वजनिक गरेका थिए। उनले आफू विजयी भएमा समितिभित्र रहेका व्यवसायी, स्वरोजगार र मजदुरबीच समन्वय र एकताको भावना विकास गर्ने प्रतिवद्धता व्यक्त गरे।

चालकहरूको स्वास्थ्य तथा दुर्घटना बीमालाई नियमित बनाउने, व्यवसायी र कर्मचारीबीच सम्मानजनक तथा सहकार्यमा आधारित सम्बन्ध विकास गर्ने, र काठमाडौंमा पार्किङ व्यवस्थापन तथा चोरी नियन्त्रणका लागि प्रभावकारी सुरक्षा प्रणाली सुदृढ गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

राईका अनुसार भारतीय नम्बर प्लेटका सवारी साधनलाई नेपालमा बस्न दिइने हालको ७२ घण्टे समयसीमालाई घटाएर २४ घण्टामा सीमित गर्न पहल गरिनेछ। साथै, रोड परमिट प्रक्रियालाई सरल बनाउँदै वर्षमा एकपटक मात्रै नवीकरण हुने व्यवस्था लागू गराउने, टोल–फ्री हेल्पलाइनमार्फत आपतकालीन सेवा प्रदान गर्ने, तथा सुरक्षित सवारी सञ्चालनका लागि चालक–सहचालकलाई समय–समयमा तालिम दिने योजना रहेको छ।

उनले सडक दुर्घटना व्यवस्थापनलाई आधुनिक बनाउँदै मोबाइल एप प्रणाली विकास गर्ने, चालक तथा सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, बीमा, तालिम तथा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था सुनिश्चित गर्ने योजना अघि सारे।

उनले प्यान र भ्याट प्रयोगमा सहजता ल्याउने, सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनका लागि हेल्प डेस्क स्थापना गर्ने र सदस्यता विस्तारलाई सशक्त बनाउँदै प्रचार–प्रसारलाई तीव्रता दिने समेत बताए।

समितिमा करिब २ हजार ट्रक र १ हजार ३ सय जति व्यवसायी आबद्ध छन्। समितिको यही चैत २० र २१ गते हुने २५औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?