Butwal Today

लुम्बिनीमा थन्किएका विद्युतीय बस चल्न थाले

१८ चैत्र २०८२, बुधबार
अ+
अ-

भैरहवा । लामो समयदेखि प्रयोगविहीन अवस्थामा थन्किएका विद्युतीय सवारी अन्ततः लुम्बिनीको सडकमा देखिन थालेका छन् । एसियाली विकास बैंकको अनुदानमा ‘क्लिन इनर्जी प्रोजेक्ट’ अन्तर्गत ल्याइएका बसमध्ये दुई वटा बस आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको पत्र प्राप्त भएपछि लुम्बिनीमा लामो समयसम्म अलपत्र परेका विद्युतीय बस चलाइएको हो।

दुई वटा बसमध्ये एउटा लुम्बिनीबाट भैरहवा विमानस्थल हुँदै बेलहिया नाका पुग्नेछ भने अर्को बस लुम्बिनीबाट कपिलवस्तु तिलौराकोट र कुदानसम्म जानेछ। केही दिनका लागि बसमा चढ्ने यात्रुबाट शुल्क नलिएपनि कार्यविधि बनाएर भाडा लिने कोषको तयारी छ।

वि.सं. २०७७ मंसिर–पुसतिरै लुम्बिनी भित्र्याइएका पाँच बस र १४ ट्याक्सी (भ्यान) सञ्चालनको मोडालिटी नटुंगिँदा वर्षौंसम्म अलपत्र परेका थिए । करिब १३ करोड रुपैयाँ मूल्यका ती सवारी साधन भित्र्याउदा सरकारले साढे तीन करोड रुपैयाँ भन्सार शुल्कसमेत बेहोरेको थियो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठका अनुसार, अहिले दुई बस नियमित सेवामा ल्याइएको छ भने बाँकी बिग्रिएका बसहरू मर्मतपछि एक साताभित्र सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । “चालक अभाव मुख्य चुनौती बनेको छ,” उनले भने, “अहिले कोषकै दुई चालकले सेवा दिइरहेका छन्, छिट्टै करारमार्फत थप जनशक्ति व्यवस्थापन गरिन्छ ।”

दीर्घ समयसम्म घामपानीमा खुला ठाउँमा राखिँदा सवारी साधनको अवस्था कमजोर बनेको थियो । यद्यपि, केही ट्याक्सी (भ्यान) भने कोषका पदाधिकारी तथा कर्मचारीको प्रयोगमा रहँदै आएका थिए ।

यसअघि बस सञ्चालन अनिश्चित बनेपछि ती सवारी साधन काठमाडौं पठाउने तयारीसमेत गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढे पनि अन्ततः प्रधानमन्त्री कार्यालयको निर्देशनपछि योजना स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?