Butwal Today

कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री

१६ चैत्र २०८२, सोमबार
अ+
अ-

जनकपुरधाम । नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा रु ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री वितरण गरेको छ ।

सो कार्यालयले सो अवधिमा रु १३ करोड ८७ लाख ६७ हजार ५८० बराबरको आठ हजार १५८ मेट्रिक टन युरिया, रु २९ करोड ७९ लाख सात हजार मूल्य बराबरको छ हजार ३२० मेट्रिक टन डिएपी तथा रु ४३ लाख २२ हजार ६७१ बराबरको १८८ मेट्रिक टन पोटास बिक्री गरेको कार्यालय प्रमुख वेचनकुमार साहले जानकारी दिए ।

धनुषा तथा महोत्तरी जिल्ला गरी दुई जिल्लामा सो कार्यालयले किसानलाई सम्बन्धित पालिकाको सिफारिसमा रासायनिक मल वितरण गर्दै आएको छ ।

उक्त दुवै जिल्लाका २७ पालिकाहरूमा २१२ वटा आधिकारिक डिलरमार्फत उक्त रासायनिक मल बिक्री गर्दै आएको छ । हाल कार्यालयको गोदाममा एक हजार १९२ मेट्रिक टन युरिया, ८३८ मेट्रिक टन डिएपी मल तथा ३६१ मेट्रिक टन पोटास मौज्दात रहेको कार्यालयद्वारा जारी तथ्याङ्कमा जनाइएको छ ।

हालको सिजनका लागि आवश्यक पर्ने रासायनिक मल गोदाममा मौज्दात रहेको उनले भने । उनले पालिकाका किसानका लागि छुट्टाइएको रासायनिक मल सम्बन्धित निकायले लिन नआएको प्रमुख साहको भनाइ छ ।

गत आर्थिक वर्षमा सो कार्यालयले रु ३५ करोड मूल्य बराबरको रासायनिक मल बिक्री वितरण गरेको थियो । धनुषा तथा महोत्तरीका सीमा क्षेत्रका किसानले भारतीय सीमाबाट रासायनिक मल खरिद गरी ल्याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?