© 2026
सल्यान । जिल्लामा आलु खेतीलाई व्यावसायिक र आम्दानीमुखी बनाउने उद्देश्यले करिब २५ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार गरिने भएको छ ।
कृषि विकास कार्यालयले चार पालिकामा आलु प्रवर्धन कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयका अनुसार बागचौर नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका, दार्मा गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा कार्यक्रम लागू गरिएको हो ।
कार्यक्रम कार्यान्वयनका लागि ६ वटा व्यक्तिगत फर्म, तीन किसान समूह र चार सहकारी छनोट गरिएका छन् । कार्यक्रम मार्फत एक सयभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले किसानको आयस्तर वृद्धि, उत्पादन लागत घटाउने र बजारमुखी खेती प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए ।
कार्यक्रम अन्तर्गत किसानलाई आधुनिक कृषि औजार (मिनी टिलर), भण्डारणका लागि ड्रम, सिँचाइ पूर्वाधार अन्तर्गत कुलो निर्माण, प्राविधिक परामर्श तथा तालिम उपलब्ध गराइनेछ । यसले उत्पादन वृद्धि सँगै गुणस्तरीय आलु उत्पादनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
जिल्लाको वनगाड कुपिण्डे, १२ को निगालचुला र बागचौर, ११ र १२ को बाफुखोला क्षेत्र वर्षे आलु उत्पादनका लागि पहिल्यैदेखि परिचित मानिन्छन् भने जिल्लाका सबै पालिकामा हिउँदे आलु उत्पादन हुँदै आएको छ । गत वर्ष सल्यानमा ५२ हजार तीन सय मेट्रिक टन आलु उत्पादन भएको थियो ।
जसको बजार मूल्य करिब एक अर्ब ७१ करोड रुपैयाँ बराबर रहेको कृषि विकास कार्यालयले जनाएको छ । उत्पादित आलुमध्ये करिब २९ करोड रुपियाँ बराबरको आलु जिल्लाबाहिर निर्यात समेत गरिएको थियो ।हाल जिल्लामा चार हजार चार सय ३५ हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको छ ।
कार्यालयका अनुसार दुई हजार ७०५ हेक्टरमा वर्षे र एक हजार ७३० हेक्टरमा हिउँदे आलु उत्पादन हुँदै आएको छ । २५ हेक्टरमा थप विस्तार गरिने नयाँ कार्यक्रमले सल्यानलाई आलु उत्पादनको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।
साथै किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्दै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र मजबुत बनाउन समेत योगदान पुग्ने विश्वास लिइएको छ ।