Butwal Today

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ: कानुन मन्त्री गौतम

१३ चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएकी छन् ।

राष्ट्रपति सक्षम शपथ ग्रहण लगत्तै सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै मुलुकी अपराध संहिता, २०७४ लगायतका संहिताहरूमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विषयमा हस्ताक्षर गर्दै सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताइन् ।

कानुन मन्त्री गौतमले ‘मुलुकी अपराध संहिता, २०७४ जबरजस्ती करणी र जबरजस्ती करणी पश्चात् हुने हत्या जस्तो जघन्य कसुर, यौनजन्य हिंसा, बालबालिकासम्बन्धी कसुरमा संलग्न कसुरदारलाई दण्ड, सजाय र पीडितलाई शीघ्र न्यायका लागि अपराध संहिता लगायतका कानुनहरूमा देखिएका अवरोध पहिचान गरी अध्ययन गर्न पेस भएबमोजिम अध्ययन कार्यदल गठन गरी अध्ययन गराउने र सम्बद्ध कानुनमा संशोधन कार्य अघि बढाउन मनासिब देखी पेस गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

“विगतमा रोकिएर रहेका नयाँ निर्माण गर्नुपर्ने कानुनहरू, संशोधन गर्नुपर्ने विषयहरूमा सबै अध्ययन गरेर काम गर्छौँ,” मन्त्री गौतमले भनिन, “भर्खर जिम्मेवारी सम्हालेको छु, अध्ययन गरेर काम गर्छौँ ।”

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्छिन् । विसं २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छन् ।

कानुन विषयमा स्नातक पूरा गरेकी छन् भने हाल काठमाडौँ स्कुल अफ लमा एलएलएम अध्ययनरत छिन् ।

राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहनुभएकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन् ।

कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?