© 2026
काबुल । अफगानिस्तानको राजधानी काबुलमा महिला विद्यार्थीहरूले इस्लामिक इमिरेट्सको प्रतिबन्ध अन्तर्गत बन्द रहेका विद्यालय र शैक्षिक संस्थाहरू पुनः खोल्नका लागि अपिल गरेका छन् ।
उनीहरूले अधिकारीहरूलाई बालिकाहरूलाई आफ्नो शिक्षा पुनः सुरु गर्न अनुमति दिन आग्रह गर्दै विद्यालय तथा शैक्षिक संस्थाहरू खोल्न र शिक्षाको अवसर दिन अनुरोध गरेका हुन ।
विद्यालय जाने अवसरको अभावले आफ्नो भविष्य खतरामा परेको भन्दै उनीहरूले शैक्षिक सुविधाहरू निरन्तर बन्द भएकोमा गहिरो निराशा व्यक्त गरेका छन् ।
पछिल्लो समयमा अफगानिस्तानमा बालिकाहरूको शिक्षामा लगाइएको प्रतिबन्धले अन्तर्राष्ट्रिय निकायको ध्यान खिचेको र मानव अधिकार सङ्गठनहरूले चर्को आलोचना गरी रहेको समयमा उनीहरूको यस्तो आग्रह आएको हो ।
महिला अधिकारकर्मीहरूले पनि यो परिस्थितिलाई मौलिक अधिकारको उल्लङ्घनको रूपमा वर्णन गर्दै अफगान जनताको हितको लागि विद्यालय र विश्वविद्यालयका ढोका सकेसम्म चाँडो खोल्नुपर्ने बताएका छन् ।
अफगानिस्तानमा राजनीतिक परिवर्तन पछि, बालिकाहरूको शिक्षामा व्यापक प्रतिबन्ध लगाइएको थियो, जसका कारण धेरैका लागि विद्यालय र विश्वविद्यालयहरूको ढोका बन्द रह्यो ।
अन्तर्राष्ट्रिय मानव अधिकार सङ्गठनहरूले बारम्बार शिक्षामा पहुँच मौलिक मानव अधिकारको विषय भएको विषयमा जोड दिँदै बालिकाहरूलाई यस अधिकारबाट वञ्चित गर्नाले अफगान समाजमा दीर्घकालीन रूपमा प्रतिकूल प्रभाव पार्न सक्ने चेतावनी दिएको छ ।