© २०२३
बुटवल, २६ पुस ।
कराते खेलको महत्वपुर्ण विधा नेपाल वादोरियो कराँते डो संघको रुपन्देही जिल्ला शाखा गठन गरिएको छ । वादोरियो विधाको युवा खेलाडी उत्पादन र खेल गतिविधि बढाउन भन्दै मंगलबार तिलोत्तमा नगरमा खेलप्रेमी युवराज पराजुली अध्यक्षमा ११ सदस्यीय नवनिर्वाचित समिति गठन भएको हो ।
जसको उपाध्यक्षमा जनेश पन्थी, महिला उपाध्यक्षमा मनु श्रेष्ठ, सचिव रबिन जोशी, सहसचिव सुर्य चापागाई, कोषाध्यक्ष हरिचन्द्र थारु, सदस्यहरु अस्मिता गुरुङ, संजोग ज्ञवाली, ओमप्रकाश विक, सागर काफले, मनिष गाहामगर, सुगन बश्याल सर्वसम्मत चयन भएका छन । संस्थाको संरक्षक प्रेम घर्ती रहेको छन । नवनिर्वाचित अध्यक्ष पराजुलीले स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद नारासहित खेल विकासमा आफू लाग्ने बताए ।
खेलाडीहरु खेलबाट बाच्नुपर्ने अवधारणा बोकेको भन्दै उनले यसलाई सार्थक बनाउन आफु लाग्ने प्रतिवद्घता जनाए । खेलकुद बुझ्ने र खेलाडीको मर्म बुझ्ने ब्यक्ती नेतृत्वमा जानसकेमात्र विकासमा गति हुने उनले बताए । आत्मरक्षाका लागि खेलिने र शान्ति, अनुशासनको प्रतिकको रुपमा यो खेललाई चिनिने उनले बताए । अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएको यो खेलको स्थानियस्तरमा उमेर समुहका खेलाडी उत्पादनमा संघको महत्वपूर्ण योगदान रहने उनले बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य आवेश पौडेलले उद्घाटन गर्दै रुपन्देही खेलकुदको जिल्लाको रुपमा पहिचान बनाएको बताए । जिल्लामा हुने खेलकुद गतिविधि र प्रतिभावान खेलाडीहरु उत्पादनमा यहाँका विभिन्न खेलकद संस्थाहरु निरन्तर लागेको उनले बताए । कार्यक्रममा संस्थाको संरक्षक प्रेम घर्तीले खेल गतिविधि अघि बढाउन धेरै प्रकारका समस्याहरु रहेको भन्दै यसलाई चिर्न संस्थागत एकता जरुरी रहने बताए ।
नेपालमा खेलाडीहरुले अवसर पाउन नसकेको गुनासो गर्दै यो संघ एउटा उदाहरणिय काम गरेर अघि बढ्न साथ सहयोग दिने बताए । यो खेल विधाको विकास गर्न जापानका शोजी निशिमोरोको अगुवाई गरिरहेका छन भने नेपाल वादोरियो कराते डो संघको केन्द्रीय अध्यक्ष हरिसरण केसी अग्रसर रहेका छन । कार्यक्रममा जिल्लाका कराते प्रशिक्षक उमेश थापा, खेल प्रशिक्षक मोहमद अलिले जापानबाट शुुरु भएको यो विधा नेपालमा भित्रिएपछि नेपाल कराते महासंघ अन्तरगत रहेर खेलकुद गतिविधि गर्दै आएको बताए । जिल्लामा वादोरियो खेलका ७ सय बढी खेलाडीहरु छन ।