© 2026
सिद्धार्थनगर । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत भैरहवा वितरण केन्द्रले बक्यौता महसुल नतिर्ने ग्राहकविरुद्ध कडाइ गर्दै ४ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटेको छ ।
यस अभियानबाट करिब २५ करोड रुपैयाँ बराबरको बक्यौता रकम असुल भएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सहायक प्रबन्धक सुरज रेग्मीका अनुसार महसुल असुलीलाई अभियानकै रूपमा अघि बढाउँदै नियमित रूपमा भुक्तानी नगर्ने ग्राहकलाई लक्षित कारबाही गरिएको हो । “हाम्रो उद्देश्य लाइन काटेर दुःख दिने होइन, समयमै महसुल तिराएर ग्राहकलाई जरिवानाबाट जोगाउनु हो,” उनले भने ।
वितरण केन्द्रले बक्यौता ग्राहकलाई दुई वर्गमा विभाजन गरी कारबाही अघि बढाएको जनाएको छ । पहिलो, डेडिकेटेड तथा ट्रंक लाइनसम्बन्धी विवादमा रहेका ग्राहक र दोस्रो, नियमित महसुल नतिर्ने तथा कालोसूचीमा परेका ग्राहक ।
डेडिकेटेड तथा ट्रंक लाइनसम्बन्धी विषय राष्ट्रियस्तरमै बहसको विषय बनेको र प्रक्रियागत जटिलताका कारण असुली प्रभावित भएको केन्द्रको भनाइ छ । कालोसूचीमा परेका करिब १ सय ५० ग्राहकबाट १ करोड रुपैयाँभन्दा बढी रकम असुल गरिएको छ ।
केही ठुला ग्राहकले किस्ताबन्दीमा भुक्तानी गरिरहेको र केहीले अझै रकम तिर्न बाँकी रहेकाले कुल असुली अपेक्षाकृत कम देखिएको केन्द्रले जनाएको छ ।
ग्राहकलाई समयमै महसुल तिर्न प्रोत्साहित गर्न वितरण केन्द्रले सचेतनामूलक अभियान सञ्चालन गरेको छ । ६० दिनभन्दा बढी बक्यौता राख्दा २५ प्रतिशतसम्म जरिवाना लाग्ने व्यवस्था रहेको भन्दै समयमै भुक्तानी गर्न आग्रह गरिएको छ ।
साथै, मिटर रिडरमार्फत बिलमै ‘लाइन काटिने’ स्ट्याम्प लगाएर चेतावनी दिने अभ्यास सुरु गरिएको छ । सेवा प्रवाहलाई सहज बनाउन केन्द्रले डिजिटल माध्यमको प्रयोगसमेत बढाएको छ ।
ग्राहकलाई सूचना दिन फेसबुक पेज सञ्चालनमा ल्याइएको छ भने गुनासो समाधानका लागि फोन, मोबाइल र ह्वाट्सएपमार्फत सेवा उपलब्ध गराउन थालिएको छ ।
केन्द्र सूचना अधिकारी खेमनारायण लम्सालका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म ४ हजार १ सय २४ ग्राहकको लाइन काटिएको छ । ती ग्राहकबाट उठाउनुपर्ने कुल बक्यौता रकम २७ करोड ६७ लाख ४२ हजार १ सय ७६ रुपैयाँ रहेको छ ।
लाइन काटिएका ग्राहकहरूमध्ये ३ हजार ९ सय ४३ जनाले बक्यौता तिरेपछि पुनः लाइन जडान गरिएको छ भने लाइन काट्ने प्रक्रियाबाट मात्र ६ करोड ४५ लाख २८ हजार ८ सय ९८ रुपैयाँ असुल भएको जनाइएको छ । बाँकी रकम उठाउन अझै प्रक्रिया जारी रहेको छ ।
मिटर जडान प्रक्रिया छिटो बनाउने, नयाँ ग्राहकलाई समयमै सेवा दिने तथा सेवा विस्तारलाई तीव्रता दिने कार्य पनि भइरहेको केन्द्रले जनाएको छ । विभिन्न सेवा–आधारित शाखामार्फत ‘नो लाइट’, मिटर जडान, मर्मत तथा नयाँ ग्राहक दर्ता सेवाहरू छुट्टाछुट्टै रूपमा सञ्चालनमा छन् ।
भैरहवा वितरण केन्द्रको कार्यक्षेत्र नवलपरासीदेखि कपिलवस्तुसम्म फैलिएको छ । यस क्षेत्रमा भैरहवा, लुम्बिनी, मर्चवारलगायत क्षेत्र समेटिएका छन् । हाल केन्द्रअन्तर्गत करिब ९४ हजार ८ सय ग्राहक रहेका छन् ।
गर्मी मौसम नजिकिँदै जाँदा विद्युत् माग बढ्ने भएकाले आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको छ । पङ्खा, एसीलगायत उपकरणको प्रयोग बढ्दा लोड उच्च हुने हुँदा केन्द्रले पूर्व तयारीलाई तीव्र बनाएको जनाएको छ ।
नयाँ फिडर सञ्चालनमा ल्याइएको छ भने मर्चवार क्षेत्रमा सुधारका प्रयास भइरहेको छ । आगामी दिनमा सेवा गुणस्तर थप सुधार गर्ने लक्ष्यसहित नयाँ सब–स्टेसन निर्माण तथा पूर्वाधार विस्तारका योजना अघि बढाइएको केन्द्रले जनाएको छ ।
“विद्युत् आपूर्ति सुधार निरन्तर प्रक्रिया हो, प्रत्येक वर्ष सुधार हुँदै गएको छ,” प्रमुख सहायक प्रबन्धक रेग्मीले भने । वितरण केन्द्रले उपभोक्तालाई समयमै महसुल भुक्तानी गर्न आग्रह गर्दै कुनै समस्या परे ‘नो लाइट’ शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
ग्राहक–मैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रले प्राथमिकतामा राखेको जनाएको छ ।