© 2026
आज एकै दिन मुख स्वास्थ्य दिवस र खुसी दिवसको संयोग परेको छ । पछिल्लो समय मुखको हेरचाह र सुरक्षाको विषय उठिरहेको छ । मुख सफाइमा ध्यान नदिँदा अनेकौँ रोगको सङ्क्रमणबाट जुध्नु परिरहेको छ ।
हरेक उमेर समूहले आफ्नो मुख स्वास्थ्यको ख्याल गर्नुपर्ने आवश्यकता छ । मुखको सरसफाइमा ध्यान नदिँदा क्यान्सरसम्मको रोग लाग्न सक्ने चिकित्सकहरूको भनाई छ । तसर्थ मुख स्वास्थ्यमा ध्यान दिएरै मानिस खुसी र सन्तुष्ट हुन सक्छ । नेपालमा हरेक वर्ष २० मार्चमा मुख स्वास्थ्य दिवस मनाइँदै आइएको छ ।
यस दिनले मुख स्वास्थ्य सुरक्षित गर्न जनचेतनाका माध्यमबाट मद्दत पु¥याउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्व जनसङ्ख्याको ९० प्रतिशत मानिसहरू आफ्नो जीवनकालमा कुनै न कुनै मौखिक रोगबाट ग्रस्त हुने गरेको अवस्था छ । त्यसै गरी हरेक वर्ष मार्च २० तारिख अर्थात् आजकै दिन खुसी दिवस मनाईदैछ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउने गरिन्छ । सन् २०११ मा संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई आधारभूत मानव लक्ष्य बनाएको थियो र खुसीलाई आर्थिक अवसर जत्तिकै प्राथमिकता दिने आह्वान गरे अनुसार यो दिवस मनाउने गरिएको हो । विश्व खुसी प्रतिवेदन २०२५ को १० औँ संस्करणमा नेपाल ८४ औँ स्थानमा छ ।
लगातार पाँचौँ वर्ष फिनल्यान्ड विश्वको सबैभन्दा खुसीको रूपमा शीर्ष स्थानमा रहेको छ । नेपालले आफ्नो अवस्थामा सुधार गर्न नसके पनि खुसी हुने अवस्था बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । मुख स्वास्थ्य र खुसी दिवसको सार र उद्देश्य करिब समान छ । मुख स्वास्थ्यमा ध्यान दिए धेरै रोगको जोखिमबाट बच्न सकिन्छ ।
तसर्थ मुख स्वास्थ्यको हेरचाहले खुसी भित्राउन सकिन्छ । खुसी दिवसले पनि यही सन्देश दिनुपर्दछ । आज मानिस हरेक क्षेत्रबाट दुःखी भइरहेको बेला खुसी दिवस सम्मृद्धिको खुसी हुनुपर्दछ । खुसी हुन पाउनु पनि आधारभूत मानव अधिकार हो ।
सन् २०११ मा संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई मानव जीवनको आधारभूत मानव लक्ष्य बनाउँदै खुसीलाई आर्थिक अवसर जत्तिकै प्राथमिकता दिन आव्हान गरेको थियो ।
चिन्ताको कुरा के छ भने नेपाल विश्वको खुसी हुने देशको ८४ औं स्थान तल छ । यसले के सङ्केत गर्छ भने नेपालका जनता अझै पनि खुसी हुने बिन्दुको शीर्षस्थानमा पर्न सकेका छैनन् ।
अहिले मानिस अनेकौँ दुःख, पीडा, शोक र चिन्तामा छ । तसर्थ अब असहज अवस्थामा पनि खुसी हुनेतर्फ प्रयास गर्नुपर्दछ । जति खुसी हुन सक्यो त्यति स्वास्थ्य बन्न मद्दत पुग्छ । तसर्थ खुसी दिवसको अवसरमा खुसी हुने प्रयत्न गरौँ ।
खुसी नै सम्पत्ति हो र जीवन पनि । खुसी प्राप्त गर्न स्वास्थ्यमा ध्यान दिनु अति आवश्यक छ । स्वास्थ्य कमजोर भयो भने खुसी पाउन सकिदैन् । तसर्थ सुख र सम्मृद्धिको आधार खुसी हो ।
आज मानिस अनेकौँ तनावबाट पिरोलिरहेको छ । तनावकै कारण मानिसको ध्यान योग र विपश्यनातर्फ गएको छ । तरपनि मानिस खुसी हुन सकेको छैन् । खुसी हुन नसक्नुको एउटै कारण तनाव हो । तसर्थ आजैको दिनदेखि तनाव नलिने र व्यवस्थापन गर्नेतर्फ ध्यान जाओस् ।
मुख स्वास्थ्य दिवस र खुसी दिवसको दिनले मानिसलाई जीवनमा उर्जाशील भएर बाँच्न सिकाओस् । खुसी बिनाको जीवन अधुरो र अपुरो हुन्छ । तसर्थ जीवनलाई सार्थक तुल्याउने हो भने खुसीको महत्त्व बुझ्न सकौं ।
धन सम्पत्तिले सबै वस्तु खरिद गर्न सकिन्छ तर खुसी प्राप्त गर्न सकिदैन । तसर्थ मनभित्रैबाट खुसी हुने प्रयत्न गरौँ । मुख स्वास्थ्य र खुसी दिवसलाई औपचारिक भन्दा यसको सारलाई बुझेर अनुसरण गर्ने प्रयास गरियो भने मात्रै पनि जीवन उर्जाशील, उन्नत र उमंगमय बन्नेछ ।