Butwal Today

इनम सापकोटा प्रकरण : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षी दलको माग

१८ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

विपक्षी दलहरूले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएका अडियो सार्वजनिक भएपछि त्यसबारे उठेका प्रश्नहरूको छानबिन गर्नुपर्ने मागसहित विपक्षी दलहरूले समितिको बैठक बोलाउन आग्रह गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले लिखित पत्र पठाउँदै समितिको बैठक बोलाउन माग गरेका छन् । अन्य विपक्षी दलहरूले भने अनौपचारिक रूपमा बैठक बोलाउन आग्रह गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाललाई सम्बोधन गर्दै शाहीले पठाएको पत्रमा पछिल्लो समय नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, बिना कसुर पत्रकारहरू पक्राउ गरिनु, राज्यशक्तिको चरम दुरुपयोग हुनु तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा रहेका व्यक्तिको मोबाइल फोन जफत गरिनेजस्ता गम्भीर घटनाहरू उल्लेख गरेका छन् ।

राज्य व्यवस्था र सुशासनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा गम्भीर छलफल तथा आवश्यक छानबिनका लागि तत्काल समितिको बैठक बोलाउन उनले माग गरेका छन् ।

त्यसैगरी, समितिको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव तथा नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य उपस्थित गराई सम्बन्धित विषयमा स्पष्ट जवाफ माग्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पनि समितिको बैठक बोलाउन माग गर्दै पत्र पठाएका छन् ।

उनले देशमा दिनप्रतिदिन राज्य तथा सरकारी निकायसँग जोडिएका अस्वाभाविक घटनाहरू भइरहेको उल्लेख गर्दै ती घटनाबारे सरकारसँग जवाफ माग्नुपर्ने बताएका छन् ।

‘प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियो कसरी सार्वजनिक भयो ? यसैसँग जोडिएर प्रधानमन्त्री र प्रमुख सल्लाहकार कुमार बेनका फेसबुक स्टाटसका आधार के हुन् ? पत्रकार पक्राउ पर्ने र छुट्ने तर सरकारलाई त्यसबारे थाहा नभएको भन्ने लगायतका गम्भीर सवालमा गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समितिको बैठकमा उपस्थित गराएर जवाफ माग्नु आवश्यक छ,’ दुलालले पत्रमा उल्लेख गरेका छन् ।

सरकारलाई जवाफदेही बनाउनु राज्य व्यवस्था तथा सुशासन समितिको कर्तव्य र जिम्मेवारी भएकाले अविलम्ब बैठक बोलाउन उनले आग्रह गरेका छन् ।

प्रमुख सचेतक दुलालका अनुसार समितिका सभापतिसँग यस विषयमा कुराकानी भएको छ । सभापतिले बैठक बोलाउने मागलाई सकारात्मक रूपमा लिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?