Butwal Today

लक्ष्य भन्दा झन्डै २० प्रतिशत बढी राजस्व उठायो भैरहवा कर कार्यालयले

१ चैत्र २०८२, आइतबार
अ+
अ-
भैरहवा । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष ८२–८३ को फागुन मसान्तसम्ममा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
आन्तरिक राजस्व विभागले कार्यालयलाई फागुन मसान्तसम्म ९ अर्ब ५५ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो। तर कार्यालयले उक्त अवधिमा ११ अर्ब ४२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ ।
कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलका अनुसार लक्ष्यभन्दा १९.५ प्रतिशतले बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए ।
पोखरेलका अनुसार सङ्कलित राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.८ प्रतिशतले बढी भएको बताए।
यस्तै, फागुन महिनामा मात्र १ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १ अर्ब ३१ करोड रुपैयाँ सङ्कलन भएको छ। यो मासिक लक्ष्यभन्दा ७.१ प्रतिशतले बढी भएको  कार्यालयको अनुमान छ ।
प्रमुख कर अधिकृत पोखरेलले राजस्व सङ्कलन बढ्नुमा अर्थतन्त्रका विभिन्न परिसूचकहरूमा आएको सुधार प्रमुख कारण रहेको बताए। साथै कार्यालयले बजार अनुगमनलाई तीव्र बनाउनु, बाँकी बक्यौता असुलीमा जोड दिनु, प्रभावकारी करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नु तथा स्थानीय पालिकाहरूसँग समन्वय गरेर करसम्बन्धी प्रचारप्रसार गर्नुले पनि सकारात्मक परिणाम दिएको उनले बताए।
यसै गरी सरकारको बजेटमार्फत प्रदान गरिएका कर छुट तथा सहुलियतहरूको प्रभावकारी कार्यान्वयनले पनि राजस्व असुली बढाउन सहयोग पुगेको पोखरेलको भनाइ छ।
कार्यालयका अनुसार आगामी महिनाहरूमा पनि राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउँदै लक्ष्यभन्दा बढी उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?