© 2026
काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरूले आगामी चैत ६ र ७ गते चलचित्र महोत्सव आयोजना गर्ने भएका छन् ।
पहिलो पटक यहाँका युवा मिलेर चलचित्र प्रवर्द्धन गर्ने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो । दुई दिने यो महोत्सवमा २४ फिल्म देखाइनेछन् । किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले महोत्सव आयोजना गर्न लागेको जानकारी गराए ।
निर्देशक किरण किलम्बुका अनुसार भक्तपुरको कला र संस्कृति र साहित्यको विकासका लागि महोत्सव आवश्यक रहेको बताए । महोत्सवका संयोजक स्मित गिरीले स्वतन्त्र रूपमा चलचित्र निर्माण गर्दै आएका युवाहरूको प्रोत्साहन गर्न आवश्यक रहेको सुनाए ।
महोत्सवको मुख्य चलचित्र नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ प्रदर्शन हुनेछ भने सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अङ्कित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका नेपाली चलचित्र प्रदर्शन गरिनेछन् ।
यसै गरी, सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ देखाएर महोत्सवको समापन गरिनेछ ।