© 2026
सिरहा । यहाँको लहानस्थित विभिन्न डेनटल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार आकस्मिक स्थलगत अनुगमन गर्दा गैर चिकित्सकबाट उपचार भइरहेको गम्भीर तथ्य फेला परेको छ ।
नेपाल मेडिकल काउन्सिलअन्तर्गतको व्यावसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा अजय कुमार साहको नेतृत्वमा खटिएको टोलीले लहान–३ स्थित अस्पताल चोक क्षेत्रमा सञ्चालित केही डेनटल क्लिनिकहरूको निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा हिमाल डेनटल क्लिनिक, राधा कृष्ण डेनटल क्लिनिक तथा वेस्ट राधा डेनटल क्लिनिकमा सम्बन्धित विषयको योग्यता प्राप्त विशेषज्ञ चिकित्सक बिना नै उपचार सेवा सञ्चालन भइरहेको पाइएको काउन्सिलले जनाएको छ । ती क्लिनिकहरूमा केवल करिब साढे दुई वर्ष ‘डेनटल हाइजेनिष्ट’ अध्ययन गरेका जनशक्तिको भरमा बिरामीको उपचार भइरहेको भेटिएको छ ।
काउन्सिलका अनुसार केही सञ्चालकहरूले अन्य चिकित्सकको नाम बोर्डमा राखेर भित्र आफूखुसी उपचार गर्ने, चिकित्सकको कृत्य हस्ताक्षर गर्ने तथा प्रचलित स्वास्थ्य ऐन, नियमावली र मापदण्ड विपरीत क्लिनिक सञ्चालन भइरहेकोसमेत पाइएको छ ।
अनुगमन टोली पुग्ने सूचना पाएपछि सगरमाथा डेनटल क्लिनिकका सञ्चालक भने क्लिनिक बन्द गरेर फरार भएको थियो । अनुगमन टोलीका संयोजक डा अजय कुमार साहले बिना योग्य चिकित्सक क्लिनिक सञ्चालन गर्नु गम्भीर कानुनी उल्लङ्घन भएको बताए । उनले भने, “योग्य चिकित्सक बिना डेनटल क्लिनिक सञ्चालन गर्नु कानुन विपरीत मात्र होइन, यसले सर्वसाधारणको स्वास्थ्य र ज्यानमाथि प्रत्यक्ष जोखिम निम्त्याउँछ ।
प्राप्त उजुरीका आधारमा हामीले स्थलगत अनुगमन गरी यस्ता अवैध क्लिनिकहरूको पहिचान गरेका छौँ र दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।”
अनुगमन टोलीमा डा साहसहित विज्ञका रूपमा डा राजीव शर्मा र डा सुमन कर्ण सहभागी हुनुभएको थियो । काउन्सिलले आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।