© २०२३
बुटवल, २४ पुस ।
तिलोत्तमामा जारी तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ अन्तर्गत आईतबार क्वाटरफाईनलका दुई खेलहरु सम्पन्न भएका छन् । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नवजिवन क्लबको सहआयोजनामा नवजिवन खेल मैदानमा भएको पहिलो खेलमा वडा नं. २ ले वडा नं. ७ लाई तथा दोस्रो खेलमा वडा नं. १७ ले वडा नं ६ माथि ३ बिकेटको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।
पहिलो खेलमा टस जितेर ब्याटिङको निर्णय गरेको वडा नं १६ ले १८.५ ओभरमा सबै बिकेट गुमाएर ९३ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि सौभाग्य बश्यालले १७ तथा रामचन्द्र पाण्डेले १४ रनको योगदान दिए । वडा नं. २ का बसन्त खत्रीले ४ तथा महेन्द्र सुवेदी क्षेत्रीले २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. २ का ब्याट्सम्यानहरुले ११.५ ओभरमा लक्ष्य भेटायो । यसको जितमा रुपेश बश्यालले शानदार ३९ र महेन्द्र सुवेदी क्षेत्रीले २१ रनको योगदान दिए । वडा नं १६ का दामोदार बश्याल र किशन भण्डारीले समान १–१ बिकेट लिएका थिए । खेलमा वडा नं २ का रुपेश बश्याल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरी दोस्रो खेलमा वडा नं. ६ ले टस जितेर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८५ रनको लक्ष्य खडा गरेको थियो । वडा नं. ६ का विकल अधिकारीले १९ र थम्मन स्याङ्जालीले १८ रनको योगदान दिएका थिए । वडा नं. १७ का कुलदीप मल्लले ३ तथा अजय यादवले २ विकेट लिए । झिनो लक्ष्य पछ्याएको वडा नं. १७ का ब्याट्सम्यानहरुले १८.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटायो । उसको जितमा राम कुमारले २० तथा लाल बहादुर मलाहाले १६ रन बनाए । वडा नं. ६ का सम्राट थापा र थम्मन स्याङ्जालीले समान २–२ विकेट लिएका थिए । खेलमा वडा नं १७ का लाल बहादुर मलाहा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको सोमबार क्वाटरफाईनलका दुई खेल हुने छन् । पहिलो खेल वडा नं. ४ र ९ तथा दोस्रो खेल वडा नं. १ र ३ का बीचमा हुने संयोजक प्रकाश न्यौपानेले बताए ।