© 2026
नेपालगञ्ज ।
बाँकेमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भइरहेको मतदानमा दिउँसो साढे ३ बजेसम्म करिब ५५ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगन्जका अनुसार बिहानैदेखि सुरु भएको मतदान कार्य जिल्लाभर उत्साहजनक र शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता तथा सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार बाँकेका ४ सय मतदान केन्द्रमा हालसम्म ४५ देखि ६० प्रतिशतसम्म मत खसेको छ भने समग्र जिल्लामा करिब ५५ प्रतिशत मतदान भएको छ ।
प्रवक्ता कार्कीले मतदानमा महिलाको सहभागिता उल्लेखनीय देखिएको जानकारी दिए । उनका अनुसार मतदाता नामावलीमा पुरुष मतदाताको सङ्ख्या महिलाभन्दा करिब ६ हजारले बढी भए पनि मतदान गर्न आउने महिलाको सङ्ख्या धेरै देखिएको छ । “बाँकेमा महिला मतदाता भन्दा पुरुष मतदाताको सङ्ख्या करिब ६ हजारले बढी भए पनि मतदान गर्न आउने महिलाहरूको सङ्ख्या बढी देखिएको छ,” प्रवक्ता कार्कीले भने ।
मतदाता नामावलीमा पुरुषको सङ्ख्या बढी भए पनि धेरै पुरुष रोजगारीका लागि घरबाहिर रहेका कारण अधिकांश मतदान केन्द्रमा महिलाको उपस्थिति बढी देखिएको बताइएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार बाँकेमा कुल ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन् । जसमध्ये महिला मतदाता १ लाख ७२ हजार २ सय २३, पुरुष मतदाता १ लाख ७८ हजार १ सय ३९ रहेका छन् भने ९ जना अन्य मतदाता रहेका छन् । बाँकेमा ८१ वटा वडा, १ सय ३९ मतदान स्थल र ४ सय मतदान केन्द्र रहेका छन् ।
यसैबिच जिल्लाभर मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा भइरहेको छ । केही मतदान केन्द्रमा भने मतदान प्रक्रिया सकिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैया स्थित नेरा माविमा रहेको मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । उक्त केन्द्रमा ४ सय ६५ मतदाता रहेकोमा ३ सय मत खसेको जनाइएको छ ।
मतदान सकिएपछि अहिले उक्त मतदान केन्द्रमा सुनसान देखिएको छ । त्यहाँ खटिएका कर्मचारीहरू औपचारिक प्रक्रिया पूरा गर्न मात्र मतदान स्थलमा बसेको देखिन्छ ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकाय तथा निर्वाचनकर्मी सक्रिय रूपमा खटिएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार हालसम्म कुनै अप्रिय घटना नभएको र मतदान प्रक्रिया सहज रूपमा अगाडि बढिरहेको छ ।