© २०२३
बुटवल, २२ पुस ।
तिलोत्तमामा जारी तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ अन्तर्गत शनिबार भएको खेलमा वडा नं. ४ र वडा नं. १ विजयी हँुदै दोस्रो चरणमा प्रवेश गरेका छन् । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नवजिवन क्लबको सहआयोजनामा नवजिवन खेलमैदानमा भएको पहिलो खेलमा वडा नं. ४ ले वडा नं. ५ माथि ५२ रन तथा दोस्रो खेलमा वडा नं. १ ले वडा नं. ११ माथि २ रनको झिनो जित निकालेको हो ।
पहिलो खेलमा टस जितेर ब्याटिङको निर्णय गरेको वडा नं. ४ ले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि शिखर चन्दले ३८, सुलभ ढुगानाले २३ रनको योगदान दिए । वडा नं. ५ का गणेश पंगेनीले ३ तथा सुनिल चौधरीले २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. ५ केवल १६.३ ओभरमा ६६ रनमा समेटियो । उसका लागि अजय कुवरले १५ र प्रतिक भट्टराईले १४ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । कम स्कोरमा रोक्न वडा नं ४ का धिरेन राकेशले ४ तथा भुवन खत्रीले ३ बिकेट लिएका थिए । खेलमा वडा नं. ४ का भुवन खत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरी दोस्रो खेलमा वडा नं. १ ले टस जितेर ब्याटिङको निर्णय गर्दै निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर १ सय १८ रनको लक्ष्य खडा गरेको थियो । वडा नं. १ का विशाल न्यौपानेले ४१ र सुन्दर न्यौपानेले ३३ रनको योगदान दिएका थिए । वडा नं. ११ का सोभित थापाले शानदार ६ तथा प्रेम थापाले १ बिकेट लिएपनि जित निकाल्न सकेनन् । मध्यम लक्ष्य पछ्याएको वडा नं. ११ का ब्याट्सम्यानहरु पुरै ओभरमा केवल १ सय १६ रनमा समेटियो । उसका लागि सुजन खनालले ३३ र सुजन गिरीले २७ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो रन जोड्न सकेनन् । कम स्कोरमा रोक्न वडा नं १ का सुमन बश्याल र बिपिन भट्टराईले समान ३–३ विकेट लिएका थिए । खेलमा वडा नं १ का बिशाल न्यौपाने म्यान अफ दी म्याचबाट पुरस्कृत भए । आईतबार पहिलो खेल वडा नं २ र १६ तथा दोस्रो खेल वडा नं ६ र १७ का बिचमा हुने संयोजक प्रकाश न्यौपानेले बताए ।