काठमाडौँ ।
राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको छ ।
बैठकले मुलुकमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए ।
राष्ट्रिय सुरक्षाका विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावका साथै भावी रणनीतिबारे छलफल भएको थियो । बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र मन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए । रासस