© 2026
म्याग्दी ।
म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ३४ वटा खानेपानी, चार वटा नदी नियन्त्रण, २९ वटा नदी नियन्त्रण, विपद्का चार र ऊर्जातर्फ दुई वटा योजना कार्यान्वयनमा ल्याएको हो ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ४३ वटा योजनाको ठेक्का लगाएको र बाँकी योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए । “प्रदेश सरकारको निर्देशनअनुसार यस वर्ष सबै योजना ठेक्का प्रतिस्पर्धाबाट कार्यान्वयनमा लगिएको छ”, उनले भने “गत वर्ष सुरु भएका दुई वटा योजना निर्माण सकिएका छन् ।”
सङ्घीय विशेष अनुदानको रत्नेचौर लिफ्ट खानेपानी र मङ्गला गाउँपालिका–४ को बुकेनी सिँचाइ योजना निर्माण सकिएको हो । सबै योजनाहरूका लागि पुँजीगततर्फ रु ११ करोड ६८ लाख बजेट विनियोजन भएको छ ।
खानेपानीतर्फ स्रोत सुनिश्चितता भएका १२, क्रमागत १०, मर्मतसम्भार सात र सर्वेक्षणसम्बन्धी चार वटा योजना छन् । नदी नियन्त्रणतर्फ कुल रु एक करोड बजेट भएको पोखरेबगर, सिम, तातोपानी संरक्षण र ठाडोढुङ्गा पहिरो रोकथाम योजना रहेका छन् ।
सिँचाइतर्फका ११ वटा योजनाको स्रोत सुनिश्चितता, १३ वटा क्रमागत र पाँचवटा मर्मतसम्भारसम्बन्धी योजना छन् । रासस