© 2026
दाङ ।
दाङमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । सोमबार जिल्लाका चार सय ५९ मतदान केन्द्रमा मतदानका लागि आवश्यक मतपेटीका तथा सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइएका छन् ।
निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारीहरू मतदान केन्द्र खटाइएपछि अब फागुन २१ गतेको निर्वाचनको लागि प्रतिक्षा मात्रै बाँकी रहेको छ ।
निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने मतपत्र, मतपेटिकालगायतका आवश्यक सामग्री निर्वाचन अधिकृतको कार्यालय र प्रदेश निर्वाचन कार्यालयबाट बुझेर कर्मचारी र सुरक्षाकर्मीको टोली मतदान केन्द्रमा पठाइएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए ।
मतदान केन्द्रमा पुगेका कर्मचारीले मतदान स्थल सरसफाइ सँगै राजनीतिक दलसँग समन्वय बैठक गरेर मतदान केन्द्र निर्माणलगायतका काम गर्ने थालनी गर्ने छन् । मतदान स्थललाई शिल गर्ने, मदिरा निषेधित क्षेत्र तथा होहल्ला निषेधित क्षेत्र घोषणा गर्ने जस्ता गतिबिधि उनीहरुले गर्ने छन् ।
जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका चार सय ८२ वटा मतदान केन्द्रमा दुई हजार आठ सय ९२ जना र दुई वटा अस्थायी मतदान केन्द्र गरि जम्मा दुई हजार आठ सय ९८ जना कर्मचारी खटाइएका छन् ।
निर्वाचन सुरक्षामा निर्वाचन प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना गरि जिल्लामा कुल पाँच हजार ५ सय ११ जना सुरक्षाकर्मी खटाइएका छन् ।
जिल्ला भर कुल एक सय ५९ मतदान स्थल र चार सय ८२ वटा मतदान केन्द्र रहेका छन । ती मध्य १६ वटा मतदान केन्द्र अतिसंवेदनशिल, १३४ वटा संवेदनशील र नौ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रशासनले जानकारी दिएको छ ।
फागुन २१ गतेको निर्वाचनका लागि जिल्लामा चार लाख ३१ हजार ६ सय ८६ जना मतदाताले मताधिकार पाएका छन् ।
जिल्लामा सबै भन्दा कम मतदाता दाङ निर्वाचन क्षेत्र नं. २ को आधारभूत बिद्यालय चाक्लिघाटमा जम्मा ३४२ मतदाता र सबैभन्दा बढी मतदाता यही निर्वाचन क्षेत्रको पद्मोदय पब्लिक उच्चमाबि भरतपुरमा १० हजार ९ सय ६९ मतदाता रहेका छन् ।