Butwal Today

एसोसिएसनमार्फत मध्यपूर्वमा गएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह

१७ फाल्गुन २०८२, आइतबार
अ+
अ-
काठमाडौँ ।
 नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मध्यपूर्व क्षेत्रमा आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष दीपक थापाले आज एक विज्ञप्ति जारी गरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सुरक्षा परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरे। उनले मध्यपूर्व क्षेत्रमा बसोबास गर्ने एवं त्यहाँ कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उच्च सतर्कता अपनाउन, सम्बन्धित देशका स्थानीय प्रशासनद्वारा जारी सुरक्षा निर्देशिकाको पूर्ण रूपमा पालना गर्न अनुरोध गरे ।
एसोसिएसनले नेपाल सरकार तथा विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोगलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक समन्वय गर्न, नियमित सूचना प्रवाह गर्न तथा आपत्कालीन संयन्त्र प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।
अध्यक्ष थापाले नेपाली नागरिकको जीवन र सुरक्षाको संरक्षण सर्वोपरि भएकाले नेपालस्थित सम्पूर्ण इजाजत प्राप्त संस्था, सम्बन्धित रोजगारदाता कम्पनीसँग निरन्तर समन्वय र सहकार्य गरी आफ्ना कामदारको अवस्थाबारे नियमित जानकारी लिन पनि अनुरोध गरे ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?