Butwal Today

मधेसमा सुरक्षा व्यवस्था कडा

१७ फाल्गुन २०८२, आइतबार
अ+
अ-

जनकपुरधाम । 

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिन निष्पक्ष तथा शान्तिपूर्ण वातावरण कायम गर्नका लागि योजनाबद्ध रूपमा निर्वाचनको तयारी भइरहेको मधेस–प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रदेशसँग जोडिएका नेपाल –भारत सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ । चेक प्वाइन्ट खडा गरिएको छ भने विशेष निगरानी भइरहेको छ । आठ वटै जिल्लाका मतदान केन्द्रहरूको सुरक्षा सन्दर्भमा अनुगमन तथा निरीक्षण भइसकेको सो कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मधेस–प्रदेशमा दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदान स्थल अति संवेदनशील अवस्थामा छन् । प्रदेशमा भारतीय सीमासँग जोडिएका अधिकांश मतदान स्थल अति संवेदनशील  छन् ।

त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे  योजनाबद्ध तरिकाले कार्य अगाडि बढाइएको  मधेस–प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाको भनाइ छ । प्रदेशका सबै जिल्लाका सुरक्षा समितिको अध्ययन अनुसार अति संवेदनशील वर्गीकरण गरिएको उनले भने ।

मधेस–प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये एक हजार २४६ मतदान स्थल अति संवेदनशील अवस्थामा रहेको, ७५५ मतदान स्थल संवेदनशील अवस्थामा रहेको तथा १५९ मतदान स्थल सामान्य अवस्थामा रहेको बताइएको छ ।

सप्तरीमा २९६ मतदान स्थलमध्ये २०९ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा छन् । त्यस्तै सिरहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ तथा बाराका १४५ मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको छ ।

मधेस प्रदेशमा कूल चार हजार ४७१ मतदान केन्द्र रहेको जनाइएको छ । निर्वाचनमा प्रदेशमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् । प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् ।

जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ तथा महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?