© 2026
आदरणीय मतदाता आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू,
यही फागुन २१ गते सम्पन्न हुन गइरहेको आम निर्वाचन हामी नेपालीहरूको लागि आफ्नो भाग्य आफै कोर्ने पर्वका रूपमा हाम्रो घर आगनमा प्रवेश गरिसकेको छ । यस अवसरमा सार्वभौम सत्ता सम्पन्न नागरिकले जाहेर गर्ने अभिमत हाम्रा सन्ततिको उज्ज्वल भविष्यका लागि मार्गदर्शक र उपलब्धिमुलक बन्नुपर्दछ ।
लामो समयदेखि जनताको प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सुखद भविष्यको बाटो कोर्ने ऐतिहासिक पार्टी नेपाली कांग्रेस यहाँको न्यानो माया र सहयोगको छत्रछायाँमा पल्लवित र घनीभूत हुँदै आफ्ना जिम्मेवारी पुरा गर्दै आएको छ ।
नेपालको लोकतन्त्र प्राप्तिका संघर्ष र आन्दोलन तथा भाद्र २३ र २४ गते भएको बिद्रोहमा सहादत प्राप्त गर्नु भएका वीर शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु । साथै सम्पूर्ण घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछु ।
नेपाली कांग्रेस पार्टी र यस पार्टीको उम्मेदवारका रूपमा अन्य कसैका प्रति नकारात्मक टीका टिप्पणी वा प्रतिक्रिया जनाउनु भन्दा आफ्ना राम्रा कामका माध्यमबाट जनसेवामा समर्पित हुनु उच्चतम संस्कार हो भन्ने मलाई लाग्दछ । आफ्ना मतदातासँग गरिएको प्रतिवद्धता पूरा नगर्नु वा वेवास्ता गर्नु मेरो सोच, विचार र संस्कारमा नभएका विषय हुन, त्यसैले यस प्रतिबद्धता पत्र मार्फत उल्लेख गरिएका विषयहरू पूरा गर्न/गराउन म भगिरथ प्रयत्न गर्नेछु ।
एउटा निर्वाचन क्षेत्रका जनप्रतिनिधिहरूको हैसियतले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूका चाहना, चासो, चिन्ता र आवश्यकतालाई सम्बोधन गराउन निरन्तर आवाज उठाउने छ । यसै गरी ज्ञान, विज्ञान र प्रविधिको विकाससंगै आएका अवसर र चनौतिको व्यवस्थापन गरी नवयुवा लगायत पछाडि परेका र पारिएका वर्ग समुदायलाई राष्ट्र निर्माणमा जोड्न समर्पित हुनेछ ।
आदरणीय मतदाता महानुभावज्यूहरू,
यहाँहरूको अमूल्य मतबाट विजयी भएको अवस्थामा हाम्रो सार्वभौम संसदमा यहाँको प्रतिनिधिको रूपमा गर्व गर्ने गरी आफ्नो भूमिका निर्वाह गर्दै नियम, कानून, ऐन वा विधि निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने छ भने रूपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. २ मा तपशील अनुसारका काम गर्ने गराउने कुरामा आफ्नो अटल प्रतिवद्धता जाहेर गर्दछु ।
प्रतिवद्धता
१. सामुदायिक विद्यालयको स्तरोन्नती गरी सम्पूर्ण नेपालीका छोराछोरीलाई अंग्रेजी र नेपाली भाषामा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने वातावरण बनाउनेछु साथै शिक्षक पेशागत संस्थासँग विगतमा भएका सम्झौता अनुरूप शिक्षा ऐन ल्याउन विशेष पहल गरिनेछ ।
२. ७० वर्ष कटेका जेष्ठ नागरिकहरूलाई स्वास्थ्य जाँच निःशुल्क गराइनेछ ।
३. अव्यवस्थित तथा भुमीहिन नागरिकको भुमि सम्बन्धी समस्या समाधानका लागि नितिगत व्यवस्थापन गरी जग्गाको स्वामित्व प्रदान गरिनेछ ।
४. रूपन्देही जिल्ला क्षेत्र नं. २ भित्र रहेका सबै सरकारी अस्पतालहरूको स्तरबृद्धि गराइनेछ । लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिद्धार्थ बाल तथा महिला अस्पताललाई मेडिकल कलेजका रूपमा स्थापित गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्दै रू. ५००,०००।– सम्मको स्वास्थ्य वीमा कार्यक्रम लागू गरिनेछ ।
५. वस्तीलाई जोखिममा पारेको हाईटेन्सन लाइन हटाउने पहल गरिनेछ ।
६. क्षेत्र नं. २ का सम्पूर्ण जनतालाई बहुप्रतिक्षित झुम्सा खानेपानी, हिलपार्क खानेपानी आयोजना, तिलोत्तमा तथा सैनामैना खानेपानी तथा सरसफाई संस्थाहरूको थप सशक्तिकरण गरी शुद्ध पिउने पानीको व्यवस्था गरिनेछ । खानेपानी तथा सिंचाईको दीर्घकालिन समस्या समाधानका लागि भूमिगत जलस्तर जोगाउन र भविष्यमा पानीको अभाव हुन नदिन भूमिगत जल रिचार्ज परियोजना तथा वर्षा पानी संकलनका लागि आवश्यक पहल गरिनेछ ।
७. कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी कृषि तथा पशुपन्छी व्यवसायी केन्द्र स्थापना, कृषि बाली पकेट क्षेत्र निर्धारण, कृषि अनुदान, सरल कृषि ऋण, कृषि उत्पादन बिक्री केन्द्र, उपकरण, बिउ, मल र औषधि, कृषि र पशुजन्य बीमाको समुचित प्रवन्ध मिलाइनेछ ।
८. पूर्व–पश्चिम राजमार्ग निर्माणका कारण उत्पन्न डुबान समस्या समाधानका लागि पहल गरिनेछ ।
९. नेपालबाट सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य लगायत ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराइनेछ ।
१०. क्षेत्र नं. २ मा अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरको खेल मैदानहरू बनाउने र खेलाडीलाई विभिन्न कार्यक्रमहरू मार्फत प्रोत्साहित गरिनेछ ।
११. युवाहरूलाई डिजिटल प्रविधिमा प्रवेश गराई रोजगार युक्त बनाइनेछ ।
१२. सुरक्षित क्षेत्र अभियान अन्तर्गत प्रत्येक चोक चोकमा डिजिटल फ्री
वाइफाइ र सिसी क्यामेरा र आधुनिक प्रविधिको प्रयोगमा जोड दिइनेछ ।
१३. राष्ट्रको आर्थिक उन्नति र प्रगतिको लागि उद्योग, व्यापार र व्यवसायिक क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै लगानी बढाउन विश्वासिलो कानुनी प्रवन्ध र पारदर्शी कर प्रणालीको नितिगत सुधार मार्फतउचित व्यवसायिक वातावरण निर्माण गरिनेछ ।
१४. सडकमा रहेका छाडा चौपाएका कारण हुने दुर्घटना कम गर्न र पशुपन्छीको जीवन रक्षा गर्न गौशाला निर्माण गरिनेछ साथै प्राङ्गारिक मल र औषधि उत्पादनमा जोड दिइनेछ ।
१५. बुटवलतर्फबाट बग्ने फोहोरले तिलोत्तमा क्षेत्रको उत्पादन र सौन्दर्यमा ह्रास आउन नदिन योगीकुटी पुलको मुखमा हाइड्रोलिक जाली राखी फोहोर नियन्त्रण गरिनेछ ।
१६. तिलोत्तमा तथा सैनामैना भित्र प्रशस्त कृषि योग्य जमिनमा सिंचाई व्यवस्थापन गरी कृषि उत्पादनमा वृद्धि गरिनेछ र कृषकको जीवनस्तर उकासिने कदम चालिनेछ ।
१७. बेरोजगार युवा–युवतीलाई लक्षित गरी यस क्षेत्रमा उद्योगहरू स्थापना गरिनेछन् र १ घर –१ रोजगारको व्यवस्था गर्न उद्योगपतिहरूलाई प्रोत्साहित गरिनेछ ।
१८. बुटवल बजार भित्र अव्यवस्थित रूपमा रहेका सवारी साधनलाई व्यवस्थित र सुरक्षित पार्किङ व्यवस्था मिलाइनेछ ।
१९. निर्वाचन क्षेत्र नं. २ मा वरदान र समस्याका रूपमा रहेका तिनाउ तथा दानव नदी किनार व्यवस्थापन, सुन्दर, स्वच्छ, हराभरा जलप्रवाह हुने गरी करिडोर निर्माण गरिनेछ ।
२०. स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी नागरिकको समस्याहरू समाधान गरिनेछ ।
२१. बुटवल क्षेत्रको ज्योतिनगरको पहिरो नियन्त्रणका लागि दीर्घकालिन पहल गरिनेछ । चुरे क्षेत्र र सामुदायिक वन संरक्षणमा स्थानीय जनताको सहभागिता सुनिश्चित गरिनेछ ।
२२. बुटवल–तिलोत्तमा–सैनामैनामा फोहोर व्यवस्थापनका लागि मोहर कार्यक्रम सञ्चालन गरी स्वच्छ, हराभरा क्षेत्र अभियान अघि बढाइनेछ ।
२३. औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने सबै मजदुरलाई न्यूनतम ज्याला र सामाजिक सुरक्षा कोषमा आवद्ध गराइनेछ ।
२४. सामाजिक–आर्थिक रूपमा पछि परेका महिला, दलित, जनजाति, थारू, मधेशी, मुस्लिम, एकल महिला, फरक क्षमता भएका, पिछडावर्ग, तेस्रो लिङ्गी लगायतका वर्ग र समुदायको सम्मान र संरक्षणको नीति प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।
२५. यस क्षेत्रभित्रका सबै धर्म–सम्प्रदायका अनुष्ठानको संरक्षण र प्रवद्र्धन गरिनेछ ।
२६. विभिन्न नदी, नाला, खोला, कुलामा आवश्यक संरक्षण, तटबन्ध र सौन्दर्यीकरण गरिनेछ ।
२७. बुटवलमा अन्तर्राष्ट्रिय बसपार्क निर्माण गर्नुका साथै अन्य नगरमा पनि पार्किङ्ग व्यवस्थापन गरिनेछ ।
२८. पुरानो बटौलीको साँघुरा गल्ली, ऐतिहासिक संरचना, जीतगढी किल्लालाई संरक्षण गरी पुरानो बटौली हेरिटेज जोन घोषणा गरिनेछ साथै भ्यू एड्भेन्चर एण्ड नेचरपार्कको रूपमा विकास गरिनेछ ।
२९. सार्वजनिक खरीद ऐनलाई समय सापेक्ष परिवर्तन गरी निर्माण व्यवसायीलाई प्रोत्साहन गरिनेछ र कानुनी जटिलता हटाइनेछ ।
३०. सिद्धार्थ राजमार्गमा सवारी साधनको चाप अनुसार भैरहवा जाने पुरानो सडक वैकल्पिक राजमार्गको रूपमा विकास गरिनेछ, अन्य सडकहरू समेत विकास गरिनेछ ।
३१. यस निर्वाचन क्षेत्रमा भएका सबै धार्मिक अनुष्ठानहरूलाई आ–आफ्नो धार्मिक, सांस्कृतिक र परम्परा अनुसारका कार्य गर्न गराउन आवश्यक आर्थिक तथा सामाजिक वातावारण निर्माण गरी धार्मिक सहिष्णुता, आपसी हित र स्नेहपूर्ण वातावरण निर्माण गरिनेछ ।
३२. प्रतिनिधि सभा सदस्य भएर प्राप्त हुने सेवा सुविधा रकम (स्वास्थ्य सुरक्षा कोषको निर्माण गरी) सम्पूर्ण रूपमा यसै क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा खर्च गर्नेछु ।
३३. लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालायको रूपमा विकास गरिनेछ ।
३४. बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, राममणि बहुमुखी क्याम्पस, बुटवल कालिका क्याम्पस लगायत सामुदायिक क्याम्पसको स्तरोन्नती र गुणस्तरीयताका लागि पहल गरिनेछ ।
३५. बुटवल औद्योगिक क्षेत्रको विस्तार र मोतिपुर औद्योगिक क्षेत्रको शीघ्र सञ्चालनका लागि पहल गरिनेछ ।
३६. बि.टी.आई. लाई इन्जिनियरिङ्ग कलेजको रूपमा रूपान्तरण गर्दै बुटवल अटो भिलेजमा अटो इन्जिनियरिङ्ग कलेज सञ्चालन गरी प्राविधिक एवम् दक्ष जनशक्ति उत्पादन गरिनेछ ।
३७. औषधि तथा वन पैदावार सम्बद्ध उद्योग तथा व्यापारलाई आफ्नो प्रकृति अनुसार एकद्वार प्रणाली मार्फत दर्ता तथा नियमनका लागि पहल गरिनेछ ।