Butwal Today

इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि

१७ फाल्गुन २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत खामेनी मारिएको बताएका भए पनि इरानबाट त्यसको पुष्टि भएको थिएन ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचारसँगको कुराकानीमा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।

तर इरानको राज्य टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोक घोषणा गरिएको जानकारी दिएका छन् । बीबीसीका अनुसार उक्त जानकारी औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ । समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए ।

फार्स न्युज एजेन्सीका अनुसार सरकारले ४० दिन शोकका साथै सात दिन सार्वजनिक बिदा घोषणा गरेको छ । इरानकै तस्निम न्युज एजेन्सीले पनि खामेनीको मृत्यु पुष्टि गरेको जनाएको छ ।

खामेनी को हुन्  ?

८६ वर्षीय इस्लामिक विद्वान नेता खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेताका रूपमा कार्यरत थिए । उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा उक्त पद सम्हालेका हुन् । खोमेनीले निर्वासनबाट फर्केर सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गरेका थिए, जसले अमेरिकाका सहयोगी शासक शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो ।

आयतुल्लाह रुहोल्लाह खोमेनीको ३ जुन १९८९ मा निधन भएको थियो ।

खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहन्थ्यो । साथै उनले देशका सर्वोच्च आध्यात्मिक नेताका रूपमा पनि भूमिका निर्वाह गर्दै आएका थिए ।

आफ्नो शासनकालमा उनले पश्चिमा देशहरूसँग शत्रुतापूर्ण सम्बन्धको सामना गरे । यस अवधिमा इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाइए र देशभित्र अर्थतन्त्र तथा नागरिक अधिकारका विषयमा पटक–पटक विरोध प्रदर्शन भए ।

खामेनीले संयुक्त राज्य अमेरिकालाई इरानको प्रमुख शत्रु घोषणा गरेका थिए । इजरायललाई पनि इरानले उस्तै प्रमुख शत्रुका रूपमा हेर्ने गरेको छ ।

उनको शक्तिका आधारका रूपमा इरानका दुई प्रमुख सुरक्षा निकाय—इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र बासिज अर्धसैनिक बल—रहेका छन् । बासिज बलमा लाखौँ स्वयंसेवक आबद्ध छन्, जसले शासनको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

खामेनीले लामो समयदेखि इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र आफ्नो आणविक कार्यक्रम विशुद्ध नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएका थिए । अमेरिकी गुप्तचर निकाय र संयुक्त राष्ट्र संघको आणविक निगरानी निकाय (आईएईए) ले इरानले आणविक हतियार निर्माणको प्रयास गरिरहेको स्पष्ट प्रमाण फेला पारेका छैनन् । यद्यपि, इजरायल र ट्रम्प प्रशासनका केही सदस्यले भने इरानले आणविक हतियार बनाउन खोजिरहेको आरोप लगाउँदै आएका छन् ।

खामेनीबारे अमेरिका र इजरायल

जुन २०२५ मा भएको १२ दिने युद्ध र त्यसपछि इरानले इजरायलमाथि गरेको प्रतिशोधात्मक आक्रमणपछि इजरायली रक्षा मन्त्री इजरायल काट्जले खामेनीको ‘अस्तित्व रहिरहनु हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए । उनले खामेनीलाई ‘आधुनिक हिटलर’ को संज्ञा दिँदै इरानको नेतृत्वबाट उनलाई हटाउनु नै इजरायली सैन्य कारबाहीको प्रमुख उद्देश्य भएको बताएका थिए ।

फेब्रुअरी २८, २०२६ मा भएको पछिल्लो आक्रमणका क्रममा पनि इजरायली अधिकारीहरूले खामेनी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई लक्षित गरिएको स्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नागरिकहरूलाई आफ्नै सरकार आफैं सम्हाल्न आह्वान गरेका थिए, जसले अमेरिका इरानमा सत्ता परिवर्तनको पक्षमा रहेको संकेत गरेको छ ।

यसै महिना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले खामेनीको हत्या प्रयासलाई इजरायलले पूर्ण रूपमा नकारेको छैन भन्ने संकेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?