Butwal Today

निर्वाचन लक्षित ‘भेहिकल चेन पेट्रोल’ अभियान

१७ फाल्गुन २०८२, आइतबार
अ+
अ-

सल्यान  । 

सल्यान प्रहरीले निर्वाचनको सुरक्षाका लागि भन्दै मोटरसाइकलमा गस्ती गरेको छ ।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित मोटरसाइकल गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक डा. हेम बहादुर केसीको कमान्डमा राजमार्ग तथा भित्री ग्रामीण क्षेत्रहरूमा ‘भेहिकल चेन पेट्रोल’ अभियान सञ्चालन गरिएको हो ।

अभियानका क्रममा शुक्रवार २० वटा मोटरसाइकलमा ४० जना प्रहरी कर्मचारी परिचालन भई सल्यानका विभिन्न स्थानमा संयुक्त रूपमा गस्ती गरिएको थियो । पहिलो दिनमै करिब १२० किलोमिटर क्षेत्र समेटिएको प्रहरीले जनाएको छ ।

दोस्रो दिन शनिबार गस्तीको सङ्ख्या बढाउँदै जिल्लाका विभिन्न ठाउँमा टोली बाँडिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । करिब ७० जनाको प्रहरी टोलीले कपुरकोट, काभ्रा, सल्ली लगायतको क्षेत्रमा मोटरसाइकल गस्ती गरेको उनले बताए ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि, मतदाता त्रास सिर्जना गर्ने प्रयास, अवैध चलखेल, तथा शान्ति सुरक्षामा असर पार्ने गतिविधि नियन्त्रण गर्न गस्ती अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

होली पर्व तथा समग्र शान्ति सुरक्षाको विषयलाई ध्यानमा राखेर मोटरसाइकल, पैदल तथा अन्य सवारीसाधनबाट गस्ती गरिएको सूचना अधिकारी भट्टराईले जनाए ।

यस किसिमको गस्तीले मतदातामा सुरक्षा अनुभूति बढाउने, निर्वाचन आचारसंहिता उल्लङ्घन तथा अवैध गतिविधि नियन्त्रण गर्ने, संवेदनशील क्षेत्रको निगरानी सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले निर्वाचन लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिने जनाएको छ भने सर्वसाधारणलाई कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?