Butwal Today

सम्पदा र संस्कृतिमा दलहरूको प्राथमिकता

११ फाल्गुन २०८२, सोमबार
अ+
अ-

सम्पदा र संस्कृति कुनैपनि समुदायको पहिचानको मात्र कुरा नभएर सामाजिक विकासको अभिन्न अंग समेत हो ।

नागरिकका दैनिक व्यवहारहरू, सामाजिक सम्बन्धहरू र समाज तथा राष्ट्रप्रतिको दृष्टिकोण सम्पदा र सस्कृतिले निर्धारण गरिरहेको हुन्छ । यसभित्र समुदायको लामो इतिहास समेटिएको हुन्छ भने समुदायलाई ’हामी’ भन्ने भावनाले बाँधेको हुन्छ ।

संस्कृति र सम्पदा प्रमुख पर्यटकीय आकर्षण समेत हुन् । नेपालका सम्पदाहरूले नेपाललाई विस्वमा विशिष्ट पहिचान दिलाईरहेका छन् र देश विदेशबाट बर्षेनी लाखौ पर्यटकलाई समेत आकर्षित गरिरहेका छन् ।

नेपाल धार्मिक र सास्कृतिक सम्पदामा धनि भएपनि पछिल्ला वर्षहरूमा अन्धविकास र आधुनिकिकरणको चपेटामा परेर सम्पदा र संस्कृतिमा ह्रास देखिन थालेको छ । भौतिक सम्पदाहरूको विनास, अभौतिक सास्कृतिक सम्पदाको प्रचलनमा कमि, जातीय र क्षेत्रीय सम्पदाहरूको वेवास्ता, इतिहासको उपेक्षा जस्ता कारणले नेपालमा सम्पदा र सस्कृति क्षेत्र धराशायी बन्ने मोडमा पुगेको छ ।

सम्पदा र सस्कृति संरक्षणमा समुदाय र राज्य दुबैको समान भूमिका हुने गर्दछ । राज्य संचालन गर्ने दलहरूको सम्पदा र सस्कृति प्रतिको बुझाई र यसको प्रचलन तथा संरक्षणमा ब्यक्त गर्ने प्रतिवद्धताले इतिहास, सस्कृति र सम्पदाको संरक्षण र विकासमा मुख्य भूमिका खेल्ने गर्दछ । नेपालमा निर्वाचनको बेलामा दलहरूले प्रस्तुत गर्ने घोषणापत्रलाई दलको आधिकारिक दृष्टिकोण मानिन्छ ।

नेपालमा चुनावको बेलामा दलले ल्याएका वाचाहरू आर्थिक र भौतिक विकासको माध्यमबाट समृद्धि ल्याउने कुरामा केन्द्रित भैरहेका हुन्छन् । दिगो विकासलाई सघाउने, सामाजिक विकासको मेरुदण्ड बन्ने र पहिचान दिलाउने सस्कृति र सम्पदालाई दलहरूले आफ्नो चुनावी मुद्धा विरलै समावेश गरिरहेअका छन् ।

यसपाली चुनाव लडिरहेका मुख्य दलहरूले आफ्नो घोषणा पत्र/ प्रतिवद्धता पत्रमा सम्पदा र सस्कृतिका कुराहरू के के उल्लेख गरेका छन् भन्ने कुरा यस लेखमा केलाउने प्रयास गरिएको छ ।

सबैभन्दा पुरानो र परम्पराबादी पार्टीको रूपमा चिनिएको नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा ’हाम्रो सभ्यता, हाम्रो सस्कृति’ शिर्षक दिएर छुट्टै खण्ड नै छुट्याएको छ । घोषणापत्रमा नेपाली कांग्रेसले ऐतिहासिक रूपमा विभिन्न जातजाति र समुदायको भाषा, साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका खेलेको, नेपालको सनातन सभ्यता, सांस्कृतिक विविधता र मौलिक पहिचानलाई संरक्षण र संवर्धन गर्दै आएको उल्लेख गर्दै काङ्ग्रेसले भाषा, साहित्य, कला, संस्कृतिलाई राष्ट्र निर्माणको अपरिहार्य तत्व मानेको उल्लेख छ ।

सांस्कृतिक सम्पदालाई केवल परम्पराका रूपमा मात्र हेरिंदा यसलाई आधुनिक अनुभवमा आधारित अर्थतन्त्र र रोजगारीसँग प्रभावकारी रूपमा जोड्न नसकिएको कांग्रेसले औल्याएको छ ।

घोषणापत्रमा जात्रा, सांस्कृतिक प्रथा, संस्कार, परम्परागत ज्ञानसिप लगायतका मूर्त–अमूर्त सम्पदाको कानुनी दर्ता तथा अभिलेख (डिजिटाइजेसन) सहित संरक्षण गर्ने, मन्दिर, चैत्य, दरबार क्षेत्र, उत्सव र सार्वजनिक स्थलको व्यवस्थापनमा गुठी, परम्परागत संस्था र स्थानीय समुदायलाई आधिकारिक भूमिका दिइने र राज्यले आर्थिक तथा प्राविधिक सहयोग गर्ने, पुराना बस्तीमा ’सम्पदा मैत्री भवन संहिता’ लागु गरी मौलिक वास्तुकला र सार्वजनिक संरचना संरक्षण गार्ने, राष्ट्रिय कला, संस्कृति र बौद्धिक सम्पत्तिको संरक्षण गर्ने, नेपाली सभ्यता, संस्कार र अमूर्त धरोहरको अनुसन्धान गरी राष्ट्रिय डिजिटल आर्काइभ निर्माण एवम् तिनको प्रवर्धन र प्रसारका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने र संस्कृतिलाई कर्मकाण्डका रूपमा मात्र नभई सामाजिक ज्ञान, जीवन पद्धति र राष्ट्रिय पहिचानको रूपमा स्थापित गर्ने वाचा गरेको छ ।

युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा नेपालका जीवित परम्परा सूचीकृत गर्न विशेष पहल गर्ने, इतिहास, दर्शन र संस्कृतिको वैज्ञानिक अध्ययनका लागि ’नेपाल सभ्यता अध्ययन केन्द्र स्थापना गर्ने, पाठ्यक्रममा इतिहास, दर्शन, स्थानीय कला, साहित्य र सभ्यता सम्बन्धी विषयहरू समावेश गरी विद्यालय शिक्षालाई नैतिकता, सदाचार र मुल्यमा आधारित बनाउने , कला–संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने विद्यार्थीका लागि छात्रवृत्ति र फेलोसिपको व्यवस्था युवा लक्षित सांस्कृतिक क्याम्प र कार्यशालाहरू सञ्चालन गरी रैथाने ज्ञानसिपको पुस्तान्तरण सुनिश्चित गर्ने कुरा घोषणापत्रमा राखिएको छ ।

यस बाहेक बृहत्तर जनकपुर क्षेत्रलाई मिथिला–जानकी सभ्यता नगर; सिम्रौनगढ–तिरहुत सभ्यता पुनर्जागरण, पशुपतिनाथ–शैव शक्ति आगम अध्ययन केन्द्र र लुम्बिनीलाई विश्व शान्ति, ध्यान र बुद्ध दर्शन केन्द्रका रूपमा विकास गर्ने, रामायण सर्किटको प्रवर्धनमा साझेदारी गर्ने, सभ्यताका आधारमा नवीन आध्यात्मिक पर्यटन पूर्वाधारहरू निर्माण गरिने र सांस्कृतिक उत्सव र जात्रालाई अन्तर्राष्ट्रियस्तरम नेपालका विश्वब्रान्डका रूपमा प्रवर्धन गर्ने, जीर्ण सम्पदाहरूको पुनरूत्थानका लागि निजी क्षेत्रसँग सम्पदामैत्री साझेदारी गर्ने, युनेस्कोको मापदण्ड पुगेका तर सूचीकृत नभएका स्थल र परम्परालाई राष्ट्रिय सम्पदाको दर्जा दिने, स्थानीय सम्पदा रक्षक टोली परिचालन, सम्पदा स्वयमसेवक’ रूपमा परिचालन, ऐतिहासिक स्थल र प्राचीन बस्तीका मौलिक नाम तथा पहिचानको पुनस्र्थापनालाई प्राथमिकता लगायतका कुराहरू नेपाली कांग्रेसको घोषणापत्रमा समावेश गरिएको छ ।

कांग्रेसको घोषणापत्र अध्ययन गर्दा सम्पदा र सस्कृतिलाई पहिचानको आधार मात्र नबनाएर आर्थिक विकासको मेरुदण्ड समेत बनाउन खोजेको देखिन्छ ।

एमालेको घोषणापत्रमा भने सस्कृति र सम्पदा संरक्षणका कुराहरू प्रत्यक्ष रूपमा उल्लेख गरिएका छैनन् । तर पनि एमालेले नेपाललाई रहस्यमय हिमाली, आश्चर्यजनक प्रकृति, धार्मिक र सांस्कृतिक विशेषता, विशिष्ट संस्कृति र असाधारण साहसिक पर्यटनको अनुपम अनुभवको अवसर दिने विशिष्ट पर्यटन गन्तव्यको रूपमा विश्व पर्यटन बजारमा ब्राण्डिङ गर्ने वाचा भने गरेको छ । एमालेको तुलनामा नेपाली कम्युनिस्ट पार्टीको प्रतिवद्धता पत्रमा सस्कृति, सम्पदा र इतिहासका कुराहरू धेरै देखिन्छन् ।

नेकपाले देशको भौगोलिक, आर्थिक तथा सांस्कृतिक आवश्यकतालाई केन्द्रमा राखेर नेपाली इतिहास, साहित्य, दर्शन तथा परम्परागत ज्ञानलाई प्राथमिकता दिएर पाठ्यक्रम विकास गर्ने, कक्षा ४–८ मा नैतिक शिक्षा अनिवार्य विषय बनाइने र माध्यमिक तहमा इतिहास थप गरिने कुरा उल्लेख गरेको छ ।

धार्मिक, भाषिक तथा अल्पसङ्ख्यक समुदायको पहिचान गरी उनीहरूको भाषा, लिपि, संस्कृति, इतिहास, साहित्य, कला लगायतका सम्पदाको सम्वद्र्धन, अभ्यास र रूपान्तरणको हक सुनिश्चित गर्ने, आदिवासी जनजातिका रैथाने सीप, पेशा र कला समयानुकूल आधुनिकीकरण गरी उद्यमशीलता प्रवद्र्धन गर्ने देखि ऐतिहासिक थातथलो तथा प्राकृतिक स्रोतसाधनमाथि अग्राधिकार सम्मका वाचाहरू नेकपाको प्रतिवद्दतापत्रमा उल्लेख गरिएको छ ।

खासगरी नेकपाको मुख्य घटक माओबादीलाई विगतमा नेपाली संस्कृति, इतिहास र मौलिकता मास्ने प्रयास गरेको दाग लागेकोले अहिले त्यो दाग मेट्नेगरि प्रतिवद्धता गरेको देखिन्छ ।

नयाँ राजनैतिक शक्तिको रूपमा उदाईरहेको रास्वपाले सम्पदा र संस्कृतिलाई पर्यटनसंग जोडेर वाचापत्र सार्वजनिक गरेको छ । रास्वपाले पशुपतिनाथ र लुम्बिनीका अलावा काठमाडौं उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु–बौद्ध महिमा र राम–जानकी विवाहको ऐतिहासिक भूमि जनकपुरलाई धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्न विशेष पूर्वाधार निर्माण गर्ने, अन्तर्राष्ट्रिय ब्रान्डीङ्ग नपुगेका सुदुरपश्चिम, कर्णाली, मधेस र कोशीका प्रसिद्ध स्थान र सम्पदाहरूको प्रवद्र्धनमा जोड दिने बताएको छ ।

रास्वपाले सस्कृतिको जगेर्ना कसरि गर्ने, मौलिकता र इतिहास कसरि जोगाउने भन्ने बारेमा कुनैपनि वाचा गरेको छैन । मधेसबादी दल जसपाले आफ्नो घोषणा पत्रमा संस्कृति, संरक्षण एवं पर्यटन विकास तथा प्रवद्र्धनलाई एकै शिर्षकमा राखेर प्रतिवद्धता ल्याएको छ ।

जसपा नेपालले नेपालको साँस्कृतिक विविधता, धार्मिक परम्परा र प्राकृतिक विविधताको सौन्दर्यता एवं राष्ट्रिय पहिचान तथा आर्थिक समृद्धिका आधार भएकोले संस्कृति संरक्षण र पर्यटन विकासलाई राष्ट्रिय प्राथमिकता बनाउन जसपा, नेपाल प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

जसपाले लुम्बिनी र जनकपुरधामलाई साँस्कृतिक एवं धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकसित गर्ने, साँस्कृतिक सम्पदाहरूको संरक्षण र पुनरूत्थानका कार्यक्रमहरू विस्तार गर्ने, प्रादेशिक तथा स्थानीयतहमा रहेका साँस्कृतिक,धार्मिक, प्राकृतिक तथा साहसिक एवं विशिष्टतायुक्त स्थलहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास तथा पर्यटन प्रवद्र्धनका लागि प्रचार–प्रसार सुदृढ गर्ने कार्यक्रम अघि सारेको छ ।

सनातन संस्कृति र हिन्दु राज्यको वकालत गर्दै आएको राप्रपाले घोषणापत्रमा विद्यालयमा नैतिक शिक्षाको पठनपाठन, संस्कृत लगायत अन्य भाषाको संरक्षण र विकासको लागि विशेष कार्ययोजना बनाएर लागू गर्ने, सबै धर्मका बीचमा समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता प्रदान गर्द नेपालमा प्रचलित सम्पूर्ण धर्म सम्प्रदायको सम्मान संरक्षण र सम्बर्धन गर्ने दृष्टिकोण अपनाउने तथा आआफ्नो धर्म संस्कृति परम्परा र रीतिरिवाज बमोजिम पूजा आराधना र उपासना गर्न पाउने नागरिक अधिकारको सुनिश्चितता र संरक्षण गरिने कुरा उल्लेख गरेको छ ।

पुरानो दल मध्येको राष्ट्रिय जनमोर्चाले चुनाव घोषणापत्रमा कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका प्राचीन वा बौद्ध पुरातात्विक अवशेष वा भग्नावशेषहरूलाई मिलाएर बौद्ध पुरातात्विक सहरको निर्माण, बृहत् बौद्ध सङ्ग्रहालयको निर्माण गरेमा नेपालको पर्यटनमा नयाँ आयाम थपिनुका साथै त्यसले नेपालको प्राचीन सभ्यतालाई पनि अभूतपूर्वरूपले विश्व समक्ष ल्याउने अपेक्षा गरेको छ । जनमोर्चाले ऐतिहासिक, पुरातात्वक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सम्बद्र्धन र विकास गर्ने कुरा घोषणापत्रमा उल्लेख गरेको छ ।

आम जनता पार्टीले सञ्चारमा पहुँच, पर्यटनमा क्रान्तिः सांस्कृतिक जगेर्ना, देशको उन्नति ‘नाराका साथ् सम्पदा र सस्कृतिका केहि कुराहरू अघि सारेको छ । पार्टीले पर्यटन प्रवद्र्धनका लागि ’सातै प्रदेश, सात गन्तव्य’ अभियान सञ्चालन गरिने र नेपालका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्वका क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गरि मुख्य आम्दानीको श्रोत बनाईने कुरा घोषणापत्रमा उल्लेख गरेको छ ।

यो दलले संस्कृति, सम्पदा र इतिहासको संरक्षण र प्रचलन कसरि र किन गर्ने भन्ने कुरा भने घोषणापत्रमा उल्लेख गरेको छैन । नयाँ दलको रूपमा चुनावमा होमिएको श्रम सस्कृति पार्टीले घोषणा पत्रमा आइएलओ १६९ को पालना, सबै धर्मप्रति सम्मान, धर्म परिवर्तन गर्न नपाइने कुरा उल्लेख गरेको छ ।

राष्ट्रिय मुक्ति पार्टीले प्रत्येक सांस्कृतिक राष्ट्रको पहिचान, भाषा, धर्म र परम्परालाई संवैधानिक संरक्षण दिने कुरा उल्लेख गरेको छ । नया दल नेकपा (संयुक्त) र उज्यालो नेपाल पार्टीको घोषणापत्रमा भने सस्कृति र सम्पदाका कुराहरू छैनन् । दलका घोषणापत्र बाहेक उम्मेदवारले आफ्ना घोषणा पत्र समेत सार्वजनिक गरिरहेका छन् ।

यस्ता घोषणा पत्रमा अभौतिक सास्कृतिक सम्पदाको संरक्षणका कुराहरू न आएको भएपनि पुराना मठ अन्दिर, गुम्बा, चैत्यहरूको संरक्षण र विकास गरेर पर्यटन प्रवद्र्धन गर्ने कुराहरू भने समावेश गरेको देखिन्छ । हुन त नेपालमा चुनावी घोषणापत्रहरू झुटका पुरिया जस्ता भैरहेका छन् । घोषणा गर्ने तर काम नगर्ने प्रवृतिहरूले गर्दा घोषणापत्रमा उठाइएका मुद्दाहरू सम्बोधन गर्नेगरी काम गर्लान् भन्ने विश्वास कमै मात्र गर्न सकिन्छ ।

तरपनि उठाएका विषयवस्तुले दलको धारणा के हो भन्ने बुझ्न भने सकिन्छ । यसपालिका घोषणापत्र हेर्दा कांग्रेस र जनमोर्चाले संस्कृति र सम्पदाको मुद्दा बढी उठाएको देखिन्छ । माओबादीले जातीय पहिचानका कुराहरूलाई प्राथमिकता दिएपनि नैतिकता र इतिहासको सम्बद्र्धनमा लाग्ने बताएको छ, ठुलो दल मध्येको एक एमालेले भने यस विषयलाई गम्भीरताका साथ् नहेरेको जस्तो देखिन्छ ।

अन्य दलहरूले सस्कृति र सम्पदालाई पर्यटकीय वस्तुको रूपमा लिएको देखिन्छ । क्षेत्रीय दल, नया दल र साना दलहरूले भने यो मुद्दामा आद्नो दृष्टिकोण प्रस्तुत गर्न सकेको देखिन्न । इतिहास, सस्कृति र सम्पदाको संरक्षण र उपभोग विना सामाजिक विकास अधुरो रहन्छ अनि सामाजिक विकास विना समृद्धि आउदैन । यो कुरा चुनावको बेलामा मात्र नभएर सधैभरी सबै दलहरूले बुझ्नु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?