Butwal Today

नमुना मतदान: सल्यानमा बदर मत धेरै

१० फाल्गुन २०८२, आइतबार
अ+
अ-

सल्यान  । 

सल्यानमा शनिबार गरिएको नमुना मतदानमा बदर मत प्रतिशत धेरै देखिएको छ ।

सदरमुकाम खलङ्गा स्थित लुहापिङमा आयोजित अभ्यासमा प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीतर्फ समान १८/१८ मत खसेका छन् । प्रत्यक्षतर्फ १३ मत सदर हुँदा ५ मत बदर भएका छन् ।

यसअनुसार प्रत्यक्षतर्फ बदर मत प्रतिशत २७.७८ रहेको छ । समानुपातिकतर्फ भने १५ मत सदर र ३ मत बदर भएका छन् । यसतर्फ बदर मत प्रतिशत १६.६७ रहेको छ ।

‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ र ‘समानुपातिक निर्वाचन प्रणाली’ अन्तर्गत नमुना मतदान गराइएको मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीले जानकारी दिए ।

प्रत्यक्षतर्फ बदर मतको दर उच्च देखिएकाले मतदातालाई मतदान प्रक्रियाबारे थप सचेतना आवश्यक देखिएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानमा गरिएको नमुना मतदान तथा नमुना सुरक्षा अभ्यास गराइएको हो ।

जिल्ला निर्वाचन कार्यालय सल्यानका जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले मतदान प्रक्रिया, सम्भावित जोखिम न्यूनीकरण, मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पु¥याउने विधि तथा सुरक्षा घेराबन्दी सम्बन्धी व्यवहारिक अभ्यास गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी डा. हेम केसीले निर्वाचनका लागि खटिने निर्वाचन प्रहरी तथा सुरक्षाकर्मीलाई अभ्यस्त बनाउन यस्तो अभ्यास आयोजना गरिएको बताए ।

उनका अनुसार निर्वाचन पूर्व तयारी, पोस्ट बिटमा गरिने काम, मतदान स्थल निर्माण, मतदान केन्द्रको सुरक्षा र सम्भावित जोखिम व्यवस्थापनका विषयमा व्यवहारिक अभ्यास गराइएको हो । जिल्लाभर एक हजार ४०६ जना निर्वाचन प्रहरी रहेका छन् ।

अभ्यासमा मतदान स्थलमा हुलदङ्गा वा अवरोध सिर्जना भएमा सुरक्षा संयन्त्र कसरी परिचालन हुन्छ भन्ने प्रत्यक्ष देखाइएको थियो । नमुना अभ्यास अनुसार मतदानका क्रममा कुनै समूहले होहल्ला गरे वा अवरोध पु¥याएमा पहिलो घेरामा रहेको नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गर्नेछ ।

त्यसबाट स्थिति सामान्य नभएमा दोस्रो घेरामा रहेको सशस्त्र प्रहरी बल परिचालन हुनेछ । सशस्त्र प्रहरीबाट पनि अवस्था नियन्त्रणमा नआए अन्तिम विकल्पका रूपमा तेस्रो घेरामा रहेको नेपाली सेनाले अग्र भाग सम्हाल्नेछ ।

परिस्थिति पूर्ण रूपमा नियन्त्रण बाहिर गएमा सेनाबाट थप बल प्रयोग गर्न सकिने सन्देश समेत अभ्यासमार्फत दिइएको थियो ।

सल्यानमा गत प्रतिनिधि सभा निर्वाचनमा उच्च बदर मत देखिएपछि यसलाई घटाउन जिल्ला निर्वाचन कार्यालय सल्यानले लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा सल्यानमा जम्मा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए । तीमध्ये प्रत्यक्ष तर्फ ८३ हजार ७०४ मत खसेको थियो । खसेको मतमध्ये ७६ हजार ३२८ मत सदर हुँदा सात हजार ३७६ मत बदर भएको थियो ।

विगतमा कुल खसेको मतको ८.८१ प्रतिशत मत बदर भएकाले यो अवस्थालाई घटाउनका लागि वडा वडामा मतदाता शिक्षा कार्यक्रम चलिरहेको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए ।

गाउँ गाउँमा मतदाता शिक्षा अभियानमा मत हाल्ने तरिका, मतपत्रमा चिन्ह लगाउने विधि र सामान्य गल्तीबारे सचेतना फैलाइँदै आएको छ ।

यस्तै गत निर्वाचनमा समानुपातिक तर्फ ८४ हजार ७८९ मत खसेकोमा ७८ हजार ५७४ मत सदर भएको थियो भने छ हजार २१५ अर्थात् ७.३३ प्रतिशत मत बदर भएको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेशसभा निर्वाचन २०७९ मा पनि प्रदेशसभा (क) को प्रत्यक्षमा ५.७० र प्रदेशसभा (ख) को प्रत्यक्षमा ४.७४ प्रतिशत मद बदर भएको थियो । प्रदेशसभाको समानुपातिकमा पनि ७.५१ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सल्यानमा कुल मतदाता एक लाख ६२ हजार ४४९ जना रहेका छन् ।

जसमध्ये महिला मतादाता ७९ हजार १२८ र पुरुष मतदाता ८३ हजार ३२१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?