Butwal Today

रास्वपाको गतिविधिप्रति एमालेले भन्यो : राजनीतिक अपरिपक्वताको पराकाष्ठा

८ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

दाङ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दाङमा एमालेको झण्डा जलाएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले कडा आपत्ति जनाएको छ । उक्त घटनालाई एमालेले “राजनीतिक अपरिपक्वताको पराकाष्ठा” भन्दै भर्त्सना गरेको हो ।

विहीबार राति दाङको तुलसीपुर बजारमा रास्वपा समर्थकहरूले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाएका थिए । सो कार्यलाई एमालेले आफ्ना समर्थकहरूको आस्था र भावनामाथिको प्रहारका रूपमा व्याख्या गरेको छ ।

घटनापछि आज एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा प्रस्तुत हुन आग्रह गरेका छन् । विज्ञप्तिमा उनले उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चाको खोजी गर्नु राजनीतिक अपरिपक्वताको चरम रूप भएको उल्लेख गरेका छन् ।

आचार्यले लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आलोचना र वैचारिक स्पष्टताबाट सुदृढ हुने बताएका छन् । अराजक प्रदर्शन र उत्तेजनात्मक गतिविधिले लोकतान्त्रिक संस्कार कमजोर बनाउने उनको भनाइ छ ।

उनले प्रियतावादले तत्काल केही राहत वा सहानुभूति दिलाउन सक्ने भए पनि त्यसको अन्त्य दुःखद र प्रतिकूल हुने चेतावनी दिएका छन् । एमालेले राजनीतिक दलहरूबीच स्वस्थ, सभ्य र मर्यादित प्रतिस्पर्धाको संस्कार कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?