Butwal Today

क्यालिफोर्निया हिमपहिरोः ८ स्की खेलाडीको मृत्यु

७ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

क्यालिफोर्निया ।

क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता भएका ९ स्की खेलाडीमध्ये ८ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रतिकूल मौसमका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको छ ।

मङ्गलबार बिहान क्यासल पिक क्षेत्रमा हिमपहिरो गएको थियो । प्रारम्भिक चरणमा छ जना जीवित उद्धार गरिएका थिए । तीमध्ये दुई जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । त्यसपछि व्यापक खोजी अभियान चलाइए पनि आठ जनाको मृत्यु पुष्टि भएको हो ।

नेभाडा काउन्टीका शेरिफ सानान मुनले एक सदस्य अझै हराइरहेको र आँधी, तीव्र हावा तथा बाक्लो हिमपातले खोजी कार्य अवरुद्ध गरिरहेको बताए। “अत्यन्त खराब मौसमले काम गर्नै कठिन बनाएको छ”, उनले भने ।

स्थानीय सुगर बाउल एकेडेमीले केही पीडितहरू आफ्नो निजी स्की–केन्द्रित विद्यालयसँग सम्बन्धित रहेको जनाएको छ । विद्यालयका कार्यकारी निर्देशक स्टिफन म्याकमहोनले समुदाय गहिरो शोकमा रहेको उल्लेख गरे ।

घटनाका बेला ११ ग्राहक र चार मार्गनिर्देशकसहितको समूह ब्याककन्ट्री यात्राबाट आधार शिविरतर्फ फर्कँदै थियो । चालिसभन्दा बढी उद्धारकर्मीले खोजी सुरु गरेका थिए, तर मौसमका कारण प्रयास प्रभावित भयो ।

सिएरा नेभाडा पर्वत शृङ्खलामा शक्तिशाली आँधीका कारण केही स्थानमा आठ फिटसम्म हिमपात हुन सक्ने राष्ट्रिय मौसम सेवाले चेतावनी दिएको छ । प्लेसर काउन्टीका शेरिफ वेन वूले मौसम सुधार नभएसम्म पहाडी क्षेत्रबाट टाढा रहन आग्रह गरे ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमलाई घटनाबारे जानकारी गराइएको छ । अधिकारीहरूले ब्याककन्ट्री स्की खेल स्वाभाविक रूपमा जोखिमपूर्ण हुने स्मरण गराउँदै सावधानी अपनाउन आग्रह गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?