Butwal Today

पेट्रोलको सस्तो विकल्प बने इभि, चार्जिङ स्टेसनमा दैनिक भीड

७ फाल्गुन २०८२, बिहीबार
अ+
अ-
रुपन्देही ।
विद्युतीय सवारी (इभि) को प्रयोग बढ्दै जाँदा रुपन्देहीका चार्जिङ स्टेसनहरूमा दैनिक चहलपहल उल्लेखनीय रूपमा बढेको छ ।
विशेषगरी भैरहवास्थित चार्जिङ स्टेसनहरूमा बिहानैदेखि सवारीसाधनहरू चार्ज गर्न पालो कुरिरहेको दृश्य देखिन थालेको छ । यसले बढ्दो मागसँगै पूर्वाधार विस्तारको आवश्यकता स्पष्ट पारेको छ ।
चार्ज गरिरहेका सेवाग्राही नविन खड्काका अनुसार इभि प्रयोग खर्चका हिसाबले किफायती छ । “पेट्रोलभन्दा धेरै सस्तो पर्छ, तर कहिलेकाहीँ पालो कुर्नुपर्छ,” उनले भने, “चार्जिङ स्टेसन थपिए अझ सहज हुन्थ्यो ।”
चार्जिङ स्टेसन सञ्चालक भुपेन्द्र कार्कीका अनुसार दैनिक ३० देखि ३५ वटा इभि सवारीले सेवा लिइरहेका छन् । “विद्युतीय सवारी प्रयोगकर्ता बढिरहेका छन् । चार्जिङको माग पनि त्यही अनुसार बढेको छ,” उनले भने, “तर स्थिर विद्युत आपूर्ति र उपकरण व्यवस्थापन चुनौतीपूर्ण छ ।”
उनका अनुसार एउटा सवारी पूर्ण रूपमा चार्ज हुन ३० मिनेटदेखि एक घण्टासम्म लाग्छ । बढ्दो चापलाई ध्यानमा राख्दै सेवा विस्तारको तयारी भइरहेको उनले जानकारी दिए ।
यसैबीच नेपाल विद्युत प्राधिकरण अन्तर्गतको भैरहवा वितरण केन्द्रका प्रमुख सहायक प्रबन्धक सुरज रेग्मीले भैरहवामा हाल १३ वटा चार्जिङ स्टेसन सञ्चालनमा रहेको बताए । इभि प्रयोग तीव्र रूपमा बढिरहेकाले थप पूर्वाधार आवश्यक भएको उनले उल्लेख गरे ।
उनका अनुसार भैरहवा शहरी केन्द्र भएकाले यहाँ इभि प्रयोगकर्ता बढ्दै गएका छन्, जसले विद्युत खपतमा समेत सकारात्मक वृद्धि गरेको छ ।
“जिरोबाट सुरु भएको अवस्था अहिले उल्लेखनीय चरणमा पुगेको छ,” उनले भने, “चार्जिङ पूर्वाधार विस्तार दीर्घकालीन ऊर्जा व्यवस्थापनका लागि महत्वपूर्ण हुन्छ ।”
सरकारी प्रोत्साहन र निजी क्षेत्रको लगानीले इभि बजार विस्तार गरिरहेको भए पनि पर्याप्त चार्जिङ नेटवर्क नहुँदा प्रयोगकर्ताले असुविधा भोग्नुपरेको सरोकारवालाहरू बताउँछन् ।
इभि सवारीप्रतिको आकर्षण निरन्तर बढिरहँदा भरपर्दो र सहज पहुँचयोग्य चार्जिङ सेवा विस्तार गर्नु दीर्घकालीन ऊर्जा व्यवस्थापन र दिगो यातायात प्रवर्द्धनका लागि अपरिहार्य बन्दै गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?